लगानीकर्ताहरुले थप लगानी गर्ने भन्दा पनि बजारमा पर्ख र हेरको अवस्थामा छन्। पछिल्लो समय व्यवसायीहरु माथि भइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान र ब्रोकर लिमिटमा गरिएको कडाईका कारण बजार प्रभावित भएको बुझाईछ। यस्तो बेलामा सरकारले लगानीकर्ताको मनोभावना बढाउने र शेयर बजारमा सुधारको नीति लिनुपर्ने युवा लगानीकर्ता तथा विश्लेषक समिरजंग खड्का बताउँछन्। तीनै खड्कासँग सुधा देवकोटाले गरेको कुराकानीः
पछिल्लो समय बजारलाई कसरी हेर्नु भएको छ? बजार झन झन घटेको छ । कारोबार रकम किन यसरी खुम्चियो ?
अहिलेको बजारलाई हेर्दा लगानीकर्ताहरूमा एउटा ठुलो अन्योल र त्रासमा देखिएको छ। अहिले ब्रोकरहरुले लिमिटमा गरेको कडाईको कारण पनि समस्या पर्यो । अर्को सम्पत्ति शुद्धीकरण केसले पनि अलिकति बजारलाई असर पारेको छ। बजारका प्रभावशाली व्यक्तिहरूमाथि भइरहेका अनुसन्धान, सम्पत्ति शुद्धीकरणका मुद्दाहरू र विभिन्न काण्डहरूले गर्दा ठुलो पूँजी परिचालन गर्नेहरू अहिले पर्ख र हेरको अवस्थामा छन्। जबसम्म ठुला लगानीकर्ता ढुक्क भएर बजार छिर्दैनन्। तबसम्म भोलुम बढ्न सक्दैन।
हाम्रो बजारमा लगानीकर्ताहरु क्यापिटल गेनलाई बढी जोडदिएका हुन्छन। समय समयमा यस्तो केशहरु आउदा बजार प्रभावित भएको हुन्छ । सम्पत्ति शुद्धीकरण केसका सानो–सानो न्यूजले पनि ठुलो इम्प्याक्ट गरेकाे हो। तर ब्याजदर घट्दो छ। त्यति डराउनु पर्ने अवस्था छैन।
केही समयअघि बजारमा दैनिक १० देखि १५ अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेको थियो। तर अहिले सो दरमा कारोबार रकम आएको छैन। अहिले त्यो पैसा कहाँ हरायो । के लगानीकर्ताहरूले बजारबाट पैसा निकालेकै हुन?
हो, अहिले बजारमा कारोबार रकम कम भएको छ। पैसा बजारबाटै गायब भएको भन्न मिल्दैन। अघि भने नि ब्रोकरको लिमिटले पनि नियमित कारोबार रकममा कमी भएको छ। केही लगानीकर्ताहरु पर्ख र हेर कै रणनीतिमा रहेका छन् । अर्को तर्फ बजारमा भएको पैसा पलायन हुने अवस्थाहरु सिर्जना भएका छन्। अहिले बजारको पैसा मुख्य तीनवटा बाटोबाट बाहिरिएको छ। अहिले धेरै कम्पनीले आईपीओ जारी गरेको छन्। आईपीओ मार्फत धेरै कम्पनीहरूमा १० कित्ताको वितरण प्रणालीले गर्दा लाखौ लगानीकर्ताको सानो–सानो पूँजी त्यहाँ ब्लक भएको छ। त्यसैगरी, कम्पनीहरूले हकप्रद शेयर निष्काशन गर्दा लगानीकर्ताले थप पैसा हाल्नुपर्ने हुन्छ। जसले दोस्रो बजारमा आउनुपर्ने तरलता सोस्ने काम मात्रै गरेको छ। शेयरको लकिङले पनि बजारको लयलाई विगारेको छ। हाइड्रोपावर कम्पनीहरूको प्रमोटर शेयरको लकिङ अवधि खुल्छ। यसले गर्दा बजारमा शेयरको आपूर्ति बढ्छ तर माग सोही अनुपातमा नहुँदा ब्यालेन्स बिग्रिएको छ।
हामीले सधै ब्याजदर घट्दा शेयर बजार बढ्छ भन्ने बुझ्दै आएका छौ। अहिले ब्याजदर घट्यो बजार पनि घट्दो छ। कर्जा पनि सहज छ। तैपनि बजार किन बढ्न सकेन?
यो अहिलेको बजारको सबैभन्दा ठुलो बुझाई यहि हो। बजार केवल ब्याजदरले मात्र चल्दैन। यसका लागि लगानीकर्ताको मनोवैज्ञानिक रुपमा पनि लगानीमैत्री अवस्था रहनु पर्छ। अहिले शेयर कर्जा सहज छ। लगानीकर्ताहरूमा भोलि नीति फेरिने हो कि भन्ने डर छ। राष्ट्र बैंकको केही कडा नियमहरूले गर्दा बैंकहरू अझै पनि लगानी गर्न डराइरहेका छन्। बजार अहिले बेयरिस ट्रेन्डमा भन्दा पनि एउटा मनोवैज्ञानिक चक्रमा फसेको छ। ब्याजदर न्यून हुनु बजारका लागि बलियो जग हो। तर घट्दो ब्याजदरमा कर्जा लिएर बजारमा लगानी गर्न सहज हुने वातावरण सिर्जना गरी लगानीकर्ताको विश्वास बलियो बनाउनु पर्ने अपरिहार्य छ।
नेप्से इन्डेक्स माथि नै देखिन्छ, तर पुराना लगानीकर्ताहरूले आफ्नो पोर्टफोलियो अझै रातो नै भएको गुनासो गर्छन्। के यो इन्डेक्सले वास्तविक बजारको प्रतिनिधित्व गर्छ?
अहिलेको नेप्से सूचकले बजारको प्रतिनिधित्व गर्दैन। पछिल्लो समय बजारमा ठुलो पूँजीकरण भएका नयाँ कम्पनीहरू थपिएका छन्। यस्ता कम्पनीहरूको थोरै मूल्य बढ्दा पनि इन्डेक्स ह्वात्तै माथि जान्छ। वास्तविकता के हो भने, यदि यी नयाँ थपिएका १५–२० वटा कम्पनीहरूलाई हटाएर हेर्ने हो भने हाम्रो बजार अझै २५५० को आसपासमा मात्रै छ। प्राथमिक बजार हुँदै बजारमा आउने नयाँ कम्पनीहरूले झन्डै दुई खर्बको पूँजीकरण थपेका छन्। जसले गर्दा इन्डेक्स माथि देखिएको हो तर पुराना स्टकहरूको मूल्य अझै माथि जान सकेको छैन। दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले यस्ता कुराहरुलाई पनि गहिरिएर अध्ययन गर्न सक्नु पर्छ । त्यसै सूचक सोही विन्दुमा रहेको तर्कले मात्र बजारको विकास भएको मान्न सकिदैन ।

अब बजार सुधार्न सरकार र नियामक निकायले के गर्नुपर्छ? आगामी बजेटबाट लगानीकर्ताले के अपेक्षा गर्ने?
सरकारले शेयर बजारलाई राजस्व उठाउने माध्यम मात्र नभई एउटा उत्पादनशील क्षेत्रका रूपमा हेर्नुपर्छ। मेरो विचारमा सरकारले मुख्यतया तीनवटा कुरामा ध्यान दिनुपर्छ। पहिलो लकिङ अवधि हटाउने व्यवस्था गर्नुपर्छ। सूचीकृत कम्पनीहरुको ६ महिना वा ३ वर्षको लकिङ अवधिले बजारमा अप्राकृतिक अभाव सिर्जना गर्छ। मूल्य म्यानिपुलेसन गर्नेहरूलाई यसले सजिलो बनाउँछ। ढिलो चाँडौ सबै शेयर बजारमा नै आउने हो। बजारकै लगानीकर्ताले किन्ने हो। किन लकिङको नाममा लगानीकर्तालाई दुविधा पार्नु। सूचीकृत भए पनि कम्पनीको कारोबार योग्य सबै शेयरको लक खुल्ला गर्नुपर्छ। त्यसैगरी, संस्थागत लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति सरकारले लिन जरुरी छ। बैंक र वित्तीय संस्थाहरूलाई दोस्रो बजारबाट शेयर बजारमा लगानी गर्न सहज वातावरण बनाइदिनुपर्छ। बैंकहरूसँग पैसा थुप्रिएको छ तर नीतिगत अवरोधले उनीहरू बजार छिर्न सकेका छैनन्। सरकारले संस्थागत लगानीकर्तालाई बजारमा ल्याउन प्रोत्साहन गर्दा बजारको माग पक्ष बलियो बन्नेछ।
अर्को अत्यन्त महत्वपूर्ण पूँजीगत लाभकरको स्पष्ट व्यवस्था गरिनु पर्छ। बजारमा लाभकरमा ५ प्रतिशत र ७.५ प्रतिशतको द्विविधा हटाएर दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन गर्ने गरी स्थायी नीति ल्याउनुपर्छ। सरकारले बजारलाई सर्ट रनको रूपमा होइन। एउटा म्याराथनको रूपमा विकास गरिनुपर्छ।
लगानीकर्ताले अहिलेको अवस्थामा कुन क्षेत्र र कस्ता कम्पनीहरू छनोट गर्दा सुरक्षित हुन्छन् ? के केवल ईपीएस र बुक भ्यालु हेरेर मात्र पुग्छ?
दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले कम्पनीको हरेक पक्षलाई केलाउन सक्ने विश्लेषणत्मक चेत जगाउनु पर्छ। लगानीकर्ताले केवल कम्पनीको वित्तीय विवरण मात्रै हेरेर पुग्दैन। ईपीएस र बुक भ्यालु सँगसँगै कम्पनीको क्यास फ्लो हेर्नु सबैभन्दा जरुरी छ। वित्तीय विवरणमा नाफा देखिए पनि यदि कम्पनीसँग नगद प्रवाह छैन भने सो कम्पनीले लगानीकर्तालाई लाभांश दिन सक्दैन।
क्षेत्रगत रूपमा हेर्ने हो भने, अहिले लाइफ र नन–लाइफ इन्स्योरेन्स क्षेत्रका धेरै कम्पनीहरू अल टाइम लो बिन्दुमा छन्। त्यहाँ लगानी गर्नु सुरक्षित हुन सक्छ। जलविद्युतकाे हकमा तेस्रो त्रैमासको रिपोर्ट सधै अलि कमजोर आउँछ किनकि सुक्खा याममा बिजुली उत्पादन कम हुन्छ। त्यसैले हाइड्रोमा लगानी गर्दा त्यो कम्पनीको ऋण कति छ र बर्खामा यसको उत्पादन कति हुन्छ भन्ने कुराको विश्लेषण गर्न सक्नु पर्छ।
बजारमा सधै फन्डामेन्टल भन्दा लो क्याप कम्पनीहरू बढी चल्छन्। यतो किन हुन्छ ?
दोस्रो बजार भनेको नै आपूर्तिको खेल हो। यो प्रशन सधै आउने गर्छ फन्डामेन्टल कम्पनी किन चल्दैन। बजारमा लगानीकर्ताको हरेक रणनीति हुन्छ। राम्रा र बलिया कम्पनीहरूको शेयर धेरै मान्छेले होल्ड गरेर राखेका हुन्छन्। लो क्याप कम्पनीहरूमा कित्ता थोरै हुने भएकाले केही सिमित व्यक्तिले मूल्य उचाल्न सजिलो हुन्छ। बजारमा सधै उउटै कम्पनी मात्र चल्दैन। सधै नयाँ कम्पनीमा लगानीकर्ताको आकर्षण हुन्छ। लगानीकर्ताले के बुझ्नुपर्छ भने जुन कम्पनी यो बुलमा अत्यधिक चलेको छ। अर्को बुलमा त्यो नचल्न सक्छ। त्यसैले, सस्तो कम्पनी भनेर दौडिनु भन्दा कम्पनीको गुणस्तर र भविष्यको वृद्धिलाई लगानीकर्ताले बढी जोड दिनुपर्छ।
धेरै लगानीकर्ताहरू बजार घट्दा आत्तिने र बढ्दा मात्तिने गर्छन् । शेयर बजारमा अनुशासनको महत्व कति छ?
दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ता अनुशासनमा रहन अत्यन्त जरुरी हुन्छ। अनुशासन नै लगानीकर्ताको शक्ति हो। हाम्रो बजार धेरैजसो उधारो वा लेभरेजमा टिकेको छ। मान्छेहरूले ऋण लिएर शेयर किन्छन् र बजार घट्न थालेपछि मार्जिन कलको डरले हतारमा शेयर बेच्छन्। यसले गर्दा बजार अझ बढी घट्छ।
शेयर बजारका लगानीकर्ताले कमाउने मात्र होइन गुमाउन पनि तयार भएर लाग्नु पर्ने हुन्छ । बजारमा प्लान 'ए' ले काम गरेन भने प्लान 'बी' तयार राख्नु पर्छ । सधै आफ्नो पोर्टफोलियोको केही हिस्सा नगदमा राख्छु ताकि बजार घट्दा सस्तोमा उठाउन सकियोस्। जो व्यक्ति बजार घट्दा पनि खुसी हुन सक्छ, उसैले मात्र यो क्षेत्रमा लामो समय टिकेर कमाउन सक्छ।
अर्को लगानीकर्ताले बुझ्नै पर्ने भनेको बजार सधै एकनास हुँदैन। यो परिवर्तनशील छ। लगानी गर्दा आधिकारिक सूचनाहरू र भेरिफाइड न्यूजलाई मात्र आधार मान्नु पर्छ। हल्लाको पछाडि लाग्नु भनेको आफ्नो पूँजी जोखिममा पार्नु हो। पोर्टफोलियोमा सबै एउटै बास्केटमा राख्नु हुदैन। पोर्टफोलिया विविधता गर्नुपर्छ। शेयर बजारलाई मात्र जीवनको एक मात्र स्रोत नबनाई अन्य क्षेत्रमा पनि ध्यान दिनुपर्छ। बजारमा धैर्यता राख्नुपर्छ। यदि राम्रो कम्पनी छनोटमा छ भने आज नभए भोलि त्यसले प्रतिफल अबस्य दिनेछ।