आगामी जुनको मध्यदेखि अगस्टको मध्यसम्म चल्ने यस दुई महिने कार्यक्रम अन्तर्गत रणनीति मामिला, सार्वजनिक अन्तर्राष्ट्रिय कानुन, विकास वित्त, लगानी कूटनीति, उदीयमान प्रविधि, जलवायु कूटनीति र डायस्पोरा नीति जस्ता १० वटा प्रमुख अनुसन्धान क्षेत्रहरू समेटिएका छन्। यस कार्यक्रममार्फत सहभागीहरूले स्वतन्त्र रूपमा मौलिक नीतिगत अनुसन्धान गर्नेछन् र उनीहरूका उत्कृष्ट अनुसन्धान प्रतिवेदनहरूलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान मार्फत प्रकाशन गरिनेछ।
कार्यक्रमको ढाँचा र सुविधा
अवधि र माध्यमः इन्टर्नसिप जुनको मध्यदेखि अगस्टको मध्यसम्म सञ्चालन हुनेछ। सहभागीहरूले काठमाडौँमा उपस्थित भई वा अनलाइन (रिमोटली) दुवै माध्यमबाट सहभागिता जनाउन सक्नेछन्, तर कम्तीमा ६ हप्ता काठमाडौँमा भौतिक रूपमा उपस्थित हुनु अनिवार्य गरिएको छ।
मेन्टरसिप र कार्यस्थलः काठमाडौँमा रहने दिनहरूमा मन्त्रालयले कार्यकक्ष उपलब्ध गराउनेछ। साथै, हरेक हप्ता मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग छलफल, विज्ञहरूको विशेष सत्र र वरिष्ठ प्रोफेशनलहरूबाट दुईवटा औपचारिक मेन्टरसिप सत्रहरू सञ्चालन हुनेछन्।
नेटवर्किङः कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने इन्टर्नहरूलाई मन्त्रालयको कार्यसँग जोडिएका प्रोफेशनलहरूको नेटवर्कमा आबद्ध गराइनेछ।
कार्यक्रमको बारेमा बोल्दै परराष्ट्र मन्त्री शिशिर खनालले भने, ‘नेपाल अहिले यस्तो मोडमा छ जहाँ हामीले तत्कालका प्राथमिकताहरू भन्दा अगाडि बढेर सोच्न आवश्यक छ। आज हाम्रो ध्यान सुशासन र आर्थिक वृद्धिमा केन्द्रित छ, तर भोलिको विश्वलाई आर्टिफिसियल इन्टेलिजेन्स, स्वच्छ ऊर्जा र हामीले भर्खरै बुझ्न थालेका नयाँ क्षेत्रहरूले मार्गनिर्देश गर्नेछन्। हामीसँग यी प्रश्नहरूमा मद्दत गर्न सक्ने ज्ञान र प्रतिबद्धता भएका नेपाली नागरिक तथा डायस्पोरा प्रोफेशनलहरू हुनुहुन्छ। परराष्ट्र मन्त्रालयको समर इन्टर्नसिप त्यस्ता विज्ञतालाई सरकार भित्र ल्याएर उपयोग गर्ने एउटा बलियो मञ्च हो।’
आवेदन प्रक्रिया र आवश्यक कागजातहरू
यो कार्यक्रम एक सेवाको अवसरको रूपमा रहेकाले यसमा इच्छुक उम्मेदवारहरूले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको आधिकारिक अनलाइन फारममार्फत आवेदन दिनुपर्नेछ। आवेदनका लागि देहायका विवरण आवश्यक पर्नेछः
- अनुसन्धान रुचिको वक्तव्य
- ५०० देखि ७५० शब्दको अनुसन्धान प्रस्ताव
- उद्देश्यको वक्तव्य
- ४,००० शब्दसम्मको लेखन नमुना
आवेदन फारम र विस्तृत विवरण परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको वेबसाइटमा प्रकाशन गरिनेछ।