तर, आर्थिक वर्ष भने साउन १ गते देखि सुरु भएर अर्को वर्षको असार मसान्तसम्म कायम हुन्छ।जबकी विश्वको कुनै पनि देशमा आर्थिक वर्ष साउन १ गते अर्थात जुलाई मध्यदेखि देखि शुरु हुँदैन ।चीन, जर्मनी, फ्रान्स, ब्राजिल र अधिकांश युरोपेली तथा ल्याटिन अमेरिकी देशहरूले जनवरी १ देखि आर्थिक वर्ष शुरु गर्छन।

छिमेकी राष्ट्र भारत, बेलायत, क्यानडा, जापान, सिंगापुर, र हङकङ अप्रिल १ देखि आर्थिक वर्ष शुरु गर्छन् । अष्ट्रेलिया, न्यूजिल्यान्ड, पाकिस्तान, बंगलादेश, र इजिप्ट आदी देशहरुले जुलाई १ देखि नयाँ आर्थिक वर्ष शुरु गर्छन भने अमेरिका र थाइल्यान्डसहितका देशहरुले अक्टोबर १ देखि नयाँ आर्थिक वर्ष शुरु गर्छन् ।
नेपालमा किन फरक ?
नेपालको मौसमी तथा कृषि चक्र र वर्षाको समयलाई ध्यानमा राखी यो मिति तय गरिएको हो । साउन महिना रोज्नुका पछाडि मुख्य रूपमा नेपालको भौगोलिक, मौसमी र कृषि प्रणाली जोडिएको छ ।
नेपाल एक कृषिप्रधान देश हो। असार र साउन महिना नेपालको मुख्य बाली (धान) रोप्ने र मनसुनको उच्च समय हो । यो अवधिमा देशैभरि भारी वर्षा हुने भएकाले विकास निर्माणका धेरै कार्यहरू (बजेट सक्नलाई गरिने टालटुले विकासको कुरा फरक हो) जस्तै बाटोघाटो खन्ने, पुल बनाउने आदि ठप्प हुन्छन्।
असार र साउनमा विकासका काम गर्न नसकिने हुनाले यो समयलाई प्रशासनिक तयारीको लागि उत्तम मानियो । साउन १ गतेदेखि आर्थिक वर्ष सुरु गर्दा, वर्षाको समयमा बजेट स्वीकृत गर्ने, योजनाहरूको खाका कोर्ने र टेन्डर आह्वान गर्ने जस्ता कागजपत्रका कामहरू सक्न पाइन्छ।
वर्षा सकिएर असोजरकात्तिक लागेपछि मौसम सफा हुन्छ र हिउँदभरि निरन्तर रूपमा विकास निर्माणका कामहरू धमाधम अघि बढाउन पाइन्छ । यदि वैशाख १ गतेबाटै आर्थिक वर्ष सुरु गरिएको भए, बजेट पास हुँदाहुँदै असार आइपुग्थ्यो र काम गर्ने बेलामा पानी परेर बजेट बालुवामा पानी हाले सरह हुन्थ्यो भन्ने मान्यताका साथ नेपालको पहिलो बजेट जारी भएकै वर्ष विसं २००८ देखि साउन १ गतेदेखि नया आर्थिक वर्षको शुरुवात गरिएको थियो । तत्कालिन अर्थमन्त्री अर्थमन्त्री सुवर्ण शमशेर राणाले रेडियो नेपालमार्फत नेपालको इतिहासमा पहिलो पटक औपचारिक र लिखित रूपमा बजेट वि.सं.२००८ साल माघ २१ गते जारी गरेका थिए । उनले आर्थिक वर्ष २००९/१० को लागि ५ करोड २५ लाख २९ हजार बजेट घोषणा गरेका थिए ।