भोलि जेठ १५ गते अपराह्न ४ बजे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै

May 28, 2026 10:23 AM Merolagani



सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट भोलि (शुक्रबार) सार्वजनिक गर्ने भएको छ। संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठ १५ गते (गणतन्त्र दिवस) का दिन बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरूप सरकारले भोलि अपराह्न ४ः०० बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न लागेको हो।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले भोलि बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्य प्रस्तुत गर्नेछन्। सभामुख अर्यालले बजेट भाषणका लागि सम्पूर्ण सासंदहरूलाई भोलि दिउँसो ३ः४५ बजेभित्रै संसद् भवनमा उपस्थित भई आसन ग्रहण गरिसक्न निर्देशन समेत दिएका छन्।

निजी क्षेत्रको मनोबल बढाउने र आर्थिक सुधारमा केन्द्रित हुने अपेक्षा

यस पटकको बजेट मुख्य गरी निजी क्षेत्रमैत्री लगानी वातावरण सिर्जना गर्ने, उत्पादन वृद्धि गर्ने र रोजगारीका अवसरहरू बढाउने दिशामा केन्द्रित हुने अनुमान गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि नै संसद्मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आगामी बजेटलाई आर्थिक सुधारको नयाँ चरण र रूपान्तरणकारी सुरुवातको रूपमा अघि बढाउने घोषणा गरेका थिए।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) तोकेको थियो। बजारमा शिथिल बनेको निजी क्षेत्रको मनोबल उच्च बनाउन करका दरहरूमा लचकता, सरकारी प्रक्रियाको सरलीकरण र पूर्वाधार विकासमा निजी क्षेत्रको साझेदारीलाई यस बजेटले विशेष प्राथमिकता दिने अपेक्षा गरिएको छ।

 



'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।