संयुक्त राष्ट्रसंघको तथ्याँक अनुसार अहिले विश्वव्यापीरुपमा महिलाको औसतमा आयु ७६ वर्ष छ भने पुरुषको भने केवल ७१ वर्ष मात्र । यो केवल अहिलेको मात्र अवस्था होइन, उहिलेदेखि कै अवस्था हो । सन् १९५० मा विश्वव्यापीरुपमा महिलाको औसत आयु ४८.४ वर्ष थियो भने पुरुषको औषत आयु केवल ४४.४ वर्ष मात्र थियो । अर्थात् आजभन्दा ७६ वर्ष अगाडि पनि महिला र पुरुषको आयुमा ४ वर्ष आसपासको फरक थियो । (नेपालमा महिलाको औसत आयु ७५ वर्ष छ भने पुरुषको औसत आयु करिब ७२ वर्ष मात्र छ)
महिला र पुरुषको आयुमै किन फरक पर्छ ? अर्थात् पुरुषभन्दा महिलाहरु लामो समय किन र कसरी बाँच्छन् ? यस बारेमा महिला अधिकारवादीहरु जैविक (biological) कारणको कुरा गर्छन् । तर अर्थशास्त्रीहरू भने यसको पछाडिको मुख्य कारण आर्थिक रहेको बताउंछन् । लामो अनुसन्धानपछि साइन्स डाइरेक्टमा प्रकाशित अनुसन्धानमुलक लेख अनुसार महिलाको तुलनामा पुरुषलाई आर्थिक बोझ अत्यधिक धेरै हुन्छ, जस्ले गर्दा उ जीवनको उत्तरार्धमा पुग्दासमेत मानसिकरुपमा तनावमा हुन्छ ।
त्यसमाथि पुरुषहरु निर्माण, खानी, सैनिक सेवा, ट्रक तथा भारी सवारी चालक, माछा मार्ने उद्योग, वन तथा काठ उद्योग जस्ता उच्च जोखिमयुक्त क्षेत्रमा बढी संलग्न हुन्छन् ।

यसले दुर्घटना, व्यावसायिक रोग र अकाल मृत्युको जोखिम बढाउँछ। अर्थशास्त्रीहरूले यसलाई occupational mortality premium को रूपमा व्याख्या गर्ने गरेका छन् ।
इकोनस्टोर डट इडियुमा प्रकाशित एक आलेखअनुसार पुरुषहरूमा आर्थिक बोझ यति धेरै हुन्छ कि उनीहरु परिवारका अन्य सदस्य आफ्नो स्वास्थ्य अवस्थाप्रति बेप्रवाह हुन्छन्, आफ्नो स्वास्थ्यमा कम लगानी गर्छन् । उनीहरु रोगलाई भरसक दबाउने प्रयास गर्छन् । मानसिकरुपमा तनावमा हुन्छन् तर त्यसलाई पनि लुकाउने प्रयास गर्छन् । त्यो तनाव भुल्नको लागि धेरै पुरुषहरु धुमपान र मदिरापानको लतमा परेका हुन्छन् । अर्थशास्त्रीहरु यसलाई health investment behavior भन्छन्, जस्मा पुरुषहरु साह्रै कमजोर हुन्छन् । फलस्वरुप जुनसुकै ‘एंगल’बाट पनि पुरुषलाई मानसिक रुपमा कमजोर बनाउंछ, जस्को असर उनीहरुको उमेरमा पर्छ ।
एउटा अध्ययनले ‘अस्वस्थ व्यवहार’ मा रहेको लिङ्गीय अन्तरले आयु अन्तरको ८८% सम्म व्याख्या गर्न सक्ने देखाएको छ।
गत अप्रिल ९ तारिखमा arxiv.org मा प्रकाशित एक अध्ययनले उच्च शिक्षा भएका व्यक्तिहरूको अधिकतम आयु उल्लेखनीय रूपमा बढी हुने देखाएको छ। पुरुष र महिलाबीचको अन्तरमा शिक्षा र सामाजिक अवस्थाको प्रभाव कति छ भन्ने विषयमा अहिले व्यापक अनुसन्धान भइरहेको छ।