अध्ययनपछि उनले दिल्ली र गुडगाउँका विभिन्न कर्पोरेट संस्थामा काम गर्दै आफ्नो करिअर अघि बढाइरहेकी थिइन्।
तर सन् २०२० मा कोभिड–१९ महामारी फैलियो र उनी नेपाल फर्किन बाध्य भइन्। यही समय उनको जीवनको सबैभन्दा कठिन मोड साबित भयो। उनको अत्यन्त प्रिय कुकुर ‘बेन्जु’ सडक दुर्घटनामा परेर संसारबाट विदा भयो।
बेन्जुको मृत्युले निकितालाई गहिरो मानसिक पीडामा पुर्यायो। उनले आफूलाई बारम्बार एउटै प्रश्न सोधिरहिन्“के मैले उसको राम्रोसँग हेरचाह गर्न सकेकी थिएँ त?”
त्यो प्रश्नले उनलाई केवल दुःखी बनाएन, सोच्न बाध्य बनायो। नेपालमा घरपालुवा जनावरका लागि आवश्यक स्वास्थ्य, सरसफाइ, व्यवहार सुधार, तालिम र समग्र हेरचाहसम्बन्धी सेवाको अभावबारे उनले गम्भीर रूपमा महसुस गर्न थालिन्।
“नेपालमा कुकुरको किनबेच त हुन्थ्यो, तर उनीहरूको स्वास्थ्य, व्यवहार, ग्रुमिङ र जीवनशैलीबारे पर्याप्त ध्यान दिइँदैनथ्यो,” निकिता सम्झन्छिन्।
बेन्जुको बिछोडले जन्माएको यही प्रश्न र अभावको अनुभूतिले पछि एउटा नयाँ यात्राको आधार तयार गर्यो—‘पेट मामा’।
धेरै स्टार्टअपहरू बजारको माग र व्यावसायिक सम्भावना हेरेर सुरु हुन्छन्। तर ‘पेट मामा’को सुरुवात भने एउटा भावनात्मक कारणबाट भएको थियो।
निकिता स्पष्ट शब्दमा भन्छिन्, “मैले यो व्यवसाय धेरै पैसा कमाउने उद्देश्यले सुरु गरेकी होइन। मेरो चाहना भनेको कुकुरहरूको जीवन राम्रो बनाउनु थियो।”
त्यतिबेला नेपालमा कुकुरको ग्रुमिङ अर्थात् सरसफाइ र सौन्दर्य हेरचाहलाई धेरैले विलासिताको रूपमा हेर्थे। घरपालुवा जनावरलाई नुहाइदिने, कपाल काट्ने वा स्वास्थ्यअनुसारको सरसफाइमा पैसा खर्च गर्नु धेरैलाई आवश्यकभन्दा बढी खर्च जस्तो लाग्थ्यो। तर निकिताको दृष्टिकोण फरक थियो।
उनका अनुसार ग्रुमिङ कुनै विलासिता होइन, बरु जनावरको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको आवश्यकता हो। नियमित सरसफाइ र हेरचाहले रोगको जोखिम घटाउँछ, स्वास्थ्य समस्या समयमै पहिचान गर्न सहयोग गर्छ र दीर्घकालीन उपचार खर्च पनि कम गर्न सक्छ। यही सोचका साथ उनले सेवा मात्र होइन, जनचेतनामूलक अभियान पनि सँगसँगै अघि बढाइन्।
कोभिडपछि निकिताले विदेशमा थप अध्ययन गर्ने योजना बनाएकी थिइन्। उनले विश्वप्रसिद्ध लन्डन स्कुल अफ इकोनोमिक्समा आवेदनसमेत दिएकी थिइन्। तर आवेदन स्वीकृत भएन। धेरैका लागि त्यो निराशाको क्षण हुन सक्थ्यो। तर निकिताका लागि त्यही अस्वीकृतिले नयाँ सम्भावनाको ढोका खोलिदियो।
त्यही समयमा उनले आफ्नी दिदी र भिनाजुसँग नेपालमा पेट केयर स्टार्टअपको सम्भावनाबारे गम्भीर छलफल गर्न थालिन्। विचार क्रमशः योजनामा बदलियो। त्यसपछि उनी भारत गइन् र कुकुरको व्यवहार व्यवस्थापन तथा व्यावसायिक ग्रुमिङसम्बन्धी विशेष तालिम लिइन्। करिब एक वर्षसम्म बजार अध्ययन, अनुसन्धान र प्रशिक्षणमा समय बिताएपछि सन् २०२२ मा ‘पेट मामा’ औपचारिक रूपमा सञ्चालनमा आयो।
आज ‘पेट मामा’ सफल संस्थाका रूपमा चिनिन्छ। तर सुरुवात सहज थिएन। निकिताले व्यवसाय दर्ता गर्नेदेखि नै विभिन्न चुनौती सामना गर्नुपर्यो। नेपालमा घरपालुवा जनावरसम्बन्धी यस्तो सेवा कुन श्रेणीमा दर्ता गर्ने भन्ने विषयमै अन्योल थियो। त्यसैगरी, समाजका कतिपय मानिसहरूले उनको निर्णयलाई हाँसोको विषय बनाए।
“यति राम्रो कलेज पढेर कुकुरको कपाल काट्ने काम गर्ने?” भन्ने टिप्पणी उनले पटक–पटक सुन्नुपर्यो।
तर आलोचना र अविश्वासका बीच पनि उनी आफ्नो उद्देश्यप्रति स्पष्ट थिइन्। “मलाई थाहा थियो म केका लागि काम गरिरहेकी छु,” उनी भन्छिन्। यदि कामको उद्देश्य सही छ भने परिणाम ढिलो भए पनि सकारात्मक नै हुनेमा उनी विश्वस्त थिइन्।
निकिताका अनुसार उनको स्टार्टअप यात्राको सबैभन्दा ठूलो आधार परिवारको साथ र विश्वास हो। तीन छोरीका पिता रहेका उनका बुबाले कहिल्यै छोरीहरूलाई सीमित सोचमा बाँध्न खोजेनन्। बरु सधैं आफ्नै बाटो बनाउन र उद्यमशील बन्न प्रोत्साहित गरे।
“मेरो बुबाले हामीमाथि विश्वास गर्नुभयो। परिवारको त्यो विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति बन्यो,” उनी भन्छिन्। परिवारको साथ र आत्मविश्वास बिना कुनै पनि स्टार्टअप यात्रालाई सफल बनाउन कठिन हुने उनी बताउँछिन्।
सुरुवातमा केवल ग्रुमिङ सेवाबाट यात्रा थालेको ‘पेट मामा’ आज नेपालमा घरपालुवा जनावरको समग्र हेरचाह गर्ने संस्थाका रूपमा विकसित भइसकेको छ। हाल संस्थाले ग्रुमिङ, भेटेरिनरी सेवा, पेट होटल, पेट सप, व्यवहार सुधारसम्बन्धी तालिम, पेट बेकरी लगायतका विविध सेवा प्रदान गर्दै आएको छ।
काठमाडौँको झम्सिखेल र बालुवाटारसँगै पोखरामा पनि ‘पेट मामा’का शाखा सञ्चालनमा छन्। संस्थाले हालसम्म ३० भन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ भने ७ हजारभन्दा बढी पेट अभिभावक यसको सेवासँग जोडिएका छन्।
निकिताका अनुसार नेपालमा पेट केयर क्षेत्र लामो समयसम्म गलत सूचना र भ्रमले प्रभावित रह्यो। उनी उदाहरण दिँदै भन्छिन्, “धेरैलाई कुकुरको कपाल काट्दा अन्धो हुन्छ भन्ने गलत जानकारी दिइन्थ्यो। यस्ता मिथकले जनावरको जीवन झन् कठिन बनाइरहेका थिए।”
त्यसैले ‘पेट मामा’ले केवल सेवा दिने काम नगरी सही जानकारी प्रवाह गर्ने अभियानलाई पनि प्राथमिकता दिएको छ। जब पेट मालिकहरूले सही जानकारी पाउँछन्, तब उनीहरूले आफ्ना जनावरका लागि सही निर्णय लिन सक्ने कुरामा उनको विश्वास छ।
निकिता जलानको यात्रा केवल एउटा व्यावसायिक सफलताको कथा होइन। यो एउटा यस्तो कथा हो, जहाँ व्यक्तिगत पीडाले सामाजिक परिवर्तनको बीउ रोप्यो। बेन्जुको बिछोडले उनलाई दुःख मात्र दिएन, हजारौँ घरपालुवा जनावरको जीवन सहज र सुरक्षित बनाउने प्रेरणा पनि दियो।
आज ‘पेट मामा’ केवल एउटा कम्पनी होइन, हजारौँ पेट अभिभावकको भरोसा, जनावरप्रतिको जिम्मेवारीको प्रतीक र प्रेमलाई व्यवसायभन्दा माथि राखेर निर्माण गरिएको एउटा अभियान बनेको छ।
र यही कारण धेरैले उनलाई केवल निकिता जलान भनेर होइन ‘डगी मामा’ भनेर चिन्छन्।
‘वन मामा फर अल योर पेट केयर निड्स’ भन्ने नारासहित अघि बढिरहेको ‘पेट मामा’को लक्ष्य स्पष्ट छ,नेपालका हरेक घरपालुवा जनावरका लागि पहिलो भरोसायोग्य नाम बन्नु।
“तपाईंको जनावरलाई जे आवश्यक पर्छ, त्यसका लागि पेट मामा सधैं साथमा छ भन्ने विश्वास स्थापित गर्नु नै हाम्रो भिजन हो,” निकिता भन्छिन्।
नेपालमा स्टार्टअप संस्कृतिको विस्तार सकारात्मक दिशामा अघि बढिरहेको निकिताको भनाइ छ। अहिलेका युवाहरू समस्याको गुनासो गर्नेभन्दा समाधान खोज्नतर्फ केन्द्रित हुन थालेको उनको अनुभव छ।
“देशमा केही छैन भनेर गुनासो गर्नेभन्दा समस्या पहिचान गरेर त्यसको समाधान खोज्नुपर्छ। नयाँ सम्भावना देख्ने, आफ्नो काममा विश्वास गर्ने र निरन्तर लागिरहने हो भने सफलता अवश्य प्राप्त गर्न सकिन्छ,” निकिताको सुझाव छ।
भिडियाेकाे लागि