यसपालि पनि तुलनात्मक रूपमा बढी वर्षा हुने भनेर मौसमविद्हरूले बताइरहेका बेला देशभरका सडक–राजमार्गहरूको मर्मत तथा सम्भार हुन नसक्दा ती राजमार्गहरू प्राकृतिक विपत्तिको चपेटामा पर्ने स्थिति छ।
अहिले देशका महत्वपूर्ण र रणनीतिक सडक–राजमार्गहरू निर्माणको चरणमा छन्। कतिपय सडकहरू निर्माण सकिएर सर्वसाधारणका लागि सुरक्षित गन्तव्य बनिरहेका छन् भने कतिपय सडकमार्ग बर्खायाम सुरु भएसँगै ‘मृत्युमार्ग’ बन्ने गरेका छन्।
संघीय राजधानी काठमाडौं जोड्ने ‘लाइफलाइन’ मानिएको नागढुंगा–मुग्लिन सडक विस्तारको काम अझै सकिएको छैन। केही महिनादेखि निर्माणजन्य सामग्री र बिटुमिनको अभावका कारण निर्माण थला परेको यो सडकखण्ड बर्खाअघि नसकिने निश्चितजस्तै छ।
आयोजनालाई दुई खण्डमा विभाजन गरेर २०७९ कात्तिकदेखि काम सुरु गरिएको थियो। पूर्वी खण्ड नागढुंगादेखि मलेखु (५५.७ किमि) र पश्चिम खण्ड मलेखुदेखि मुग्लिनसम्म (३९ किमि) सडक विस्तारको काम अझै सकिएको छैन। पश्चिम खण्डको भौतिक प्रगति ४४ प्रतिशत हाराहारी मात्रै छ। विगतमा ढुंगा, गिट्टी र बालुवाको अभाव देखाएको ठेकेदारले अहिले इन्धन र बिटुमिन अभाव देखाएर निर्माणमा ढिलाइ गरिरहेको छ।
सडक विस्तारको ढिलासुस्तीका कारण यसपालिको बर्खायाममा उक्त सडक हिलाम्मे हुने तथा सडक दुर्घटनाको हिसाबले जोखिमयुक्त रहने देखिएको छ। बर्खाअघि उक्त सडक विस्तारको काम नसकिने ठेकेदारले बताइसकेको छ।
पुनर्निर्माणकै चरणमा बीपी राजमार्ग
विगतका वर्षहरूमा क्षतिग्रस्त भई पुनर्निर्माणको चरणमा रहेको बीपी राजमार्ग पनि यसपालिको बर्खायामअघि निर्माण सम्पन्न नहुने देखिएको छ। यसपालि मनसुन सुरु नहुँदै पटक–पटक बाढी र पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध हुँदै आएको थियो। राजमार्गका विभिन्न खण्डमा बाढीले तटबन्ध बगाएपछि डाइभर्सन र अस्थायी संरचनामार्फत यातायात सञ्चालन गरिए पनि पूर्ण रूपमा पुनर्निर्माण भने अझै हुन सकेको छैन।
बर्खायाममा रोशी खोलामा आउने बाढीले उक्त राजमार्गलाई हरेक वर्ष कटान गर्ने गरेको छ। जसका कारण भकुण्डेबेँसी–खुर्कोट खण्ड विगतमा पटक–पटक अवरुद्ध हुँदै आएको छ। यसपालि पनि राजमार्ग पुनर्निर्माणकै चरणमा रहेकाले ठूलो वर्षा हुनेबित्तिकै उक्त सडक अवरुद्ध हुने देखिन्छ।
जामुने–पोखरा खण्डमा पनि जोखिम
मुग्लिनदेखि पोखरासम्मको सडकखण्ड दुई भागमा विभाजन गरेर विस्तार भइरहेको छ। जसमध्ये पूर्वी खण्ड मुग्लिनदेखि जामुनेसम्मको सडक विस्तार भई सडक विभागलाई हस्तान्तरण भइसकेको छ। तर पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरा (सेती नदी) सम्मको सडक विस्तारको काम अझै पूरा हुन सकेको छैन।
उक्त खण्डमा पर्ने सडकमा ठूलाठूला खाल्डाखुल्डी तथा सडक हिलाम्मे हुने समस्या यथावत् छ। पानी पर्नेबित्तिकै माथिबाट पहिरो झर्ने समस्याका कारण उक्त सडकखण्ड पनि बर्खायाममा बढी जोखिमयुक्त देखिएको छ। पोखरास्थित सेती पुलको निर्माणकार्य अझै सकिएको छैन। आयोजनाका अनुसार उक्त खण्डमा विद्युत्का पोल, खानेपानीका पाइप तथा स्थानीयका भौतिक संरचना हटाउन चुनौती देखिएको छ। यो खण्ड पनि बर्खायामअघि सम्पन्न हुने छाँटकाँट देखिँदैन।
अन्य सडकमार्गको अवस्था पनि उस्तै
यसपालिको बर्खायामअघि नै नारायणगढ–बुटवल सडक विस्तारको काम करिब सकिएको छ। खासगरी विगतमा समस्या रहेको दाउन्ने खण्डमा यसपालि यात्रुलाई केही सहज हुने देखिएको छ। तर सडकका विभिन्न स्थानमा माथिबाट आउने पहिरोले भने उक्त सडकलाई जोखिमयुक्त बनाएको छ।
त्यस्तै, सूर्यविनायक–नगरकोट सडकखण्ड पनि अहिले विस्तारकै चरणमा छ। उक्त सडक विस्तारका कारण बर्खायाममा बाढी र पहिरो आउँदा त्यो सडक पनि जोखिमपूर्ण हुने देखिन्छ। त्यसबाहेक, हुलाकी, मध्यपहाडी र मदन भण्डारी राजमार्गका विभिन्न खण्ड विस्तारकै चरणमा रहेकाले यसपालिको बर्खायाममा केही सकस हुने देखिएको छ।
तयारीबारे के भन्छ सडक विभाग?
यसपालिको बर्खायामअघि नै कतिपय सडक विस्तार भइसकेका छन् भने कतिपय सम्पन्न हुने चरणमा रहेको सडक विभागले जनाएको छ। बर्खायाममा हुन सक्ने प्राकृतिक विपत्तिका कारण सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागि पूर्वतयारीको काम भइरहेको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता श्यामबहादुर खड्काले बताए।
‘हामीले सकेसम्म बर्खाअघि नै धेरैजसो सडकहरूको मर्मत–सम्भार र विस्तारका काम सम्पन्न गरिसक्न निर्देशन गरिरहेका छौँ। काम भइरहेको पनि छ,’ उनले भने, ‘सडक अवरुद्ध नहोस् भनेर हेभी इक्विपमेन्ट र जनशक्ति फिल्डमा तैनाथ गरिनेछ।’
बाढी र पहिरोका कारण सडक लामो समय अवरुद्ध हुन नदिने र सकेसम्म २४ सै घण्टा यातायात सञ्चालन गर्ने उद्देश्यका साथ पूर्वतयारीका काममा विभाग जुटेको उनले बताए।