ग्यास आयात ४२ प्रतिशतले घट्दा पनि बजार छैन हाहाकार: माग संकुचन कि बिजुली चुलोको चमत्कार ?

Jun 11, 2026 10:15 AM Merolagani



सुवास निरौला 

सामान्यतया नेपालमा खाना पकाउने एलपी ग्यासको आयातमा सामान्य मात्र गिरावट आउँदा पनि बजारमा हाहाकार मच्चिने र डिपोहरूमा उपभोक्ताको लामो लाइन लाग्ने गर्थ्यो।

तर, पछिल्लो समय आयातमा ४२ प्रतिशतसम्मको भारी गिरावट आउँदा समेत बजार भने पूर्ण रूपमा शान्त छ। उपभोक्ताले सहजै ग्यास पाइरहेका छन् र बजारमा कुनै अभाव देखिएको छैन। यो अनौठो र परिदृश्यले नेपाली उपभोक्ताको भान्साको ऊर्जा उपभोग ढाँचा परिवर्तन भएको हो कि उपभोग नै कम हुन थालेको हो भन्ने प्रश्न खडा गरेको छ।

नेपाल आयल निगमको तथ्याङ्क अनुसार अप्रिल महिनामा ३४ हजार ८१ टन मात्रै ग्यास आयात भएको थियो। फेब्रुअरी महिनामा ४९ हजार २०४ टन ग्यास भित्रिएको तुलनामा यो झन्डै ४२ प्रतिशतको गिरावट हो। सामान्य अवस्थामा दैनिक औसत १०० बुलेट ग्यास लोड भएर नेपाल भित्रिने गरेकोमा पछिल्ला साताहरूमा दैनिक ७० बुलेटमा खुम्चिएको छ। मे महिनाका लागि निर्धारण गरिएको ५० हजार टनको कोटा अनुसार भारतबाट लोडिङ हुन नसक्दा आयात अझ खस्किएको छ। यति ठुलो परिमाणमा आयात घट्दा पनि बजारमा अभाव छैन। यस बिचमा अचम्मको कुरा त यो छ कि  कम ग्यास आयात भएर अभाव सिर्जना भएर हाहाकार हुनु त कता हो कता उल्टै आएको ग्यास समेत बिक्री नभएको भन्दै बिक्रेताहरू चिन्तित देखिएका छन्। 

ग्यास उद्योगीहरूका अनुसार बजारमा ग्यासको माग र बिक्री ह्वात्तै घटेको  छ। माग र बिक्री घटेका कारण अप्रिल महिनादेखि प्रत्येक उद्योगमा बुलेटहरू अनलोड हुन नसकी केही सातासम्म होल्ड भएका थिए। ग्यासको माग बिक्री दुवै घटेकोले  ग्यास उद्योग संघले अब आधार सिलिन्डर मात्रै बिक्री गर्नु पर्ने जुन नियम लागु गरिएको छ। त्यसको कुनै औचित्य नरहेका कारण अब पुरै सिलिन्डर बिक्री गर्न पाउनु पर्ने माग अघि सारेको छ। तर उक्त नियम परिवर्तन गरिएको छैन। ग्यासको माग नभएको बेलामा समेत आधा सिलिण्डर मात्रै बिक्री गर्दा लागत बढ्न गई नाफा कम भएको र खर्च बढेको गुनासो संघको छ। पुरा सिलिण्डर ढुवानी गर्दा यातायात खर्च जति लाग्छ त्यति नै खर्च आधा सिलिण्डरको ढुवानीमा लाग्छ। अर्को तर्फ उपभोक्ताले पनि पसलबाट घरसम्म लग्दा उत्ति नै पैसा तिर्नु पर्छ। यसले गर्दा उद्योगको ढुवानी लागत बढेको छ भने उपभोक्ताले पनि बढी पैसा तिर्नु परिरहेको कारण पुरै सिलिण्डर बिक्री गर्न पाउनु पर्ने माग संघले राखेको हो। 

 

तर उनीहरूको माग सुनिएको छैन। बरु यही अवस्थालाई अझै केही समय निरन्तरता दिने सरकारको सोच छ। जस्तो सुकै अवस्थाले गर्दा ग्यासको खपत कम भएको भए पनि आयल निगम र सरकार भने दङ्ग छन्। किनकि दिन दिनै बढ्दै गइरहेको घाटा आयातमा आएको कारण केही घटेको छ। जसले गर्दा पनि यसलाई अझै निरन्तरता दिने सोचमा सरकार देखिएको छ।  

आखिर ह्वात्तै किन घट्यो आयत ? आयत घट्दा पनि ग्यासको हाहाकार नहुनुका पछाडि मुख्य तीन वटा कारणहरू औँल्याइएको छ।

बिजुली चुलोको बढ्दो प्रयोग र ऊर्जा प्रतिस्थापन

आयात घट्दा पनि ग्यास अभाव नहुनुको प्रमुख कारण उपभोक्ताहरू बिस्तारै बिजुली चुलो (इन्डक्सन र इन्फ्रारेड) तर्फ आकर्षित हुनुलाई मानिएको छ। लोडसेडिङको अन्त्य र बिजुलीको नियमित आपूर्तिसँगै सहरी तथा अर्ध-सहरी क्षेत्रका उपभोक्ताले ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग गर्न थालेका छन्।

ग्यासको मूल्य निरन्तर बढिरहनु र बिजुलीको महसुल तुलनात्मक रूपमा सस्तो हुनुले सर्वसाधारणलाई ग्यासको खपत घटाउन प्रेरित गरेको छ। कतिपय भान्सामा ग्यासलाई केवल ब्याकअपको रूपमा मात्र राखिने र दैनिक खाना पकाउन बिजुलीकै प्रयोग बढी हुने गरेकाले ग्यासको समग्र माग घटेको आकलन गरिएको छ।

पहिले नै गरिएको अतिरिक्त मौज्दात (स्टक) को उपभोग

ग्यासको मागमा ह्रास आउनुको दोस्रो बलियो कारण उपभोक्तासँग पहिले नै रहेको बढी मौज्दात (स्टक) हो। गत मार्च महिनामा इजरायल–इरान युद्धको त्रास फैलिएपछि नेपालमा ग्यास अभाव हुन सक्ने डरले सर्वसाधारणले ठुलो मात्रामा ग्यास स्टक गरेका थिए। सोही समयमा सरकारले आपूर्ति व्यवस्था मिलाउन भन्दै ७.१ किलोको आधा सिलिन्डर ग्यास बेच्न सुरु गरेको थियो।

त्यस बेला उपभोक्ताले अभाव हुने डरले घरमा भएका अतिरिक्त सिलिन्डरहरू भरेर राखेका थिए। धेरैजसो मध्यम वर्गीय परिवारमा २ देखि ३ वटासम्म ग्यास सिलिन्डर रहने हुनाले विगतमा मौज्दात राखिएको त्यही ग्यास अहिले प्रयोग भइरहेको छ। नयाँ सिलिन्डर खरिद गर्न उपभोक्ता नगएका कारण बजारमा मागको चाप नदेखिएको हुन सक्ने अनुमान आयल निगमको छ।

बजार संकुचन र उपभोगमा आएको समग्र ह्रास

अर्कातर्फ, मुलुकमा छाएको आर्थिक शिथिलता र बढ्दो महँगीका कारण समग्र उपभोग नै घटेको हुन सक्ने अनुमान पनि गरिएको छ। होटेल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसहरूमा व्यावसायिक गतिविधि कम हुनु र धेरैजसो युवा जनशक्ति रोजगारी तथा अध्ययनका लागि निरन्तर विदेश पलायन हुनुले पनि आन्तरिक बजारमा ग्यासको उपभोग घटाएको छ। आर्थिक सङ्कुचनका कारण मानिसहरूले अनावश्यक उपभोग र फजुल खर्च कटौती गर्दा त्यसको प्रत्यक्ष असर ग्यास खपतमा देखिएको छ।

अन्तमा आयात ४२ प्रतिशतले घट्दा पनि बजारमा ग्यासको संकट नदेखिनुले नेपाली भान्सामा परम्परागत इन्धनको निर्भरता क्रमशः कम हुँदै गएको स्पष्ट पार्छ। यो संकट टर्नु सकारात्मक पक्ष भए पनि बजारमा माग नै सङ्कुचित हुनुले समग्र आर्थिक शिथिलतालाई सङ्केत गर्छ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।