सेबोन अध्यक्ष रिक्त हुँदाकै समयमा पनि पिपल्स हाइड्रोपावर कम्पनी र अरुण काबेली पावर लिमिटेडले बोर्डमा हकप्रद शेयर निष्काशनको लागि आवेदन दिएका छन् । पिपल्स हाइड्रोपावरले १ बराबर १ को अनुपातमा १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ९ लाख ५० हजार कित्ता बराबरको हकप्रद शेयर निष्काशन गर्न आवेदन दिएको छ भने अरुण काबेली पावरले २ बराबर १ को अनुपातमा १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार १ सय रुपैयाँ बराबरको १ करोड ९४ लाख ७९ हजार ७ सय ११ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो । पछिल्लोपटक गत वर्ष फागुन २५ गते हिमालयन पावर पार्टनरलाई चुक्ता पुँजी ५० प्रतिशतले हुन आउने ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको ५३ लाख २५ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएपनि कुनै पनि कम्पनीलाई बोर्डले हकप्रद निष्काशनको अनुमति दिएको छैन ।
अहिले सेबोनमा झन्डै साढे २५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशनको पर्खामा रहेको छ। नेपाल धितोपत्र बोर्डको नियमन विभागको चालु आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्क अनुसार २५ वटा कम्पनीहरू हकप्रद निष्काशनका लागि अनुमति माग्दै बोर्डको ढोकामा पुगेका हुन्। बोर्डको प्रारम्भिक समीक्षा, सोधपुछ र जवाफ आदानप्रदानको चरणमा रहेका यी कम्पनीहरूले कुल २५ अर्ब ४७ करोड ७७ लाख ५ हजार ६२७ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न आवेदन दिएका छन्।
बोर्डका अनुसार कुल आवेदन दिएकामध्ये २३ वटा कम्पनीहरू प्रारम्भिक समीक्षाको चरणमा रहेका छन्। यस चरणमा रहेका कम्पनीहरूको मात्रै कुल निष्काशन रकम २३ अर्ब ९१ करोड २३ लाख ७२ हजार ८३ रुपैयाँ रहेको छ, जसका लागि कुल २३ करोड ९१ लाख २३ हजार ७२१ कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरिएको छ । प्रारम्भिक समीक्षाको सूचीमा हेर्दा सबैभन्दा बढी जलविद्युत् क्षेत्रका कम्पनीहरूको दबदबा देखिन्छ ।
जलविद्युत् क्षेत्रतर्फ बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले २५ करोड रुपैयाँ, मन्दाकिनी हाइड्रोपावरले ४२ करोड ९४ लाख २४ हजार २५० रुपैयाँ, माइखोला हाइड्रोपावरले ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ, र सगरमाथा जलविद्युत् कम्पनीले १ अर्ब ७७ करोड ३२ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न आवेदन दिएका छन् । यस्तै सायापत्री हाइड्रोपावरले २२ करोड २५ लाख ५८ हजार ९८९ रुपैयाँ, राधी विद्युत कम्पनीले १ अर्ब २८ करोड ५२ लाख ६२ हजार ६४४ रुपैयाँ, पाँचथर पावर कम्पनीले ९६ करोड २५ लाख रुपैयाँ, र दोल्ती पावर कम्पनीले ५१ करोड ५९ लाख ८६ हजार रुपैयाँको हकप्रद स्वीकृतिको पर्खाइमा आवेदन दिएका छन् । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले ४८ करोड २३ लाख ८४ हजार रुपैयाँ, मनकामना इन्जिनियरिङ हाइड्रोपावरले ६१ करोड ७१ लाख २६ हजार ८०० रुपैयाँ, मोदी इनर्जीले २ अर्ब ६१ करोड ८ लाख ५० हजार रुपैयाँ, हिमालयन हाइड्रोपावरले १ अर्ब ९ करोड ५० लाख रुपैयाँ, पिपुल्स हाइड्रोपावरले ३ अर्ब २० करोड रुपैयाँ र अरुण काबेली पावर लिमिटेडले १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार १०० रुपैयाँ बराबरको हकप्रद निष्काशनको अनुमति माग्दै प्रारम्भिक समीक्षाको सूचीमा रहेका छन् ।
उत्पादन तथा प्रशोधन क्षेत्रबाट घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले ३ अर्ब ७६ करोड ७४ लाख ७ हजार ७०३ रुपैयाँ बराबरको ठूलो परिमाणको हकप्रद निष्काशनको अनुमति मागेको छ । सोही क्षेत्रको नेपाल ल्युब आयलले १४ करोड ५७ लाख २५ हजार ३६० रुपैयाँको आवेदन दिएको छ । इन्भेष्टमेन्ट क्षेत्रबाट सीइडीबी होल्डिङ्स लिमिटेडले ५६ करोड ३६ लाख ५९ हजार १९८ रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले १ अर्ब ७९ करोड ८१ लाख २१ हजार १९९ रुपैयाँ बराबरको हकप्रदका लागि आवेदन दिएका छन् । होटल क्षेत्रबाट ओरिएन्टल होटल्स लिमिटेडले ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँ र कालिञ्चोक दर्शन लिमिटेडले ६३ करोड रुपैयाँको हकप्रद प्रस्ताव गरेका छन् । अन्य समूह अन्तर्गत मुक्तिनाथ कृषि कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ र नेपाल वेयरहाउजिङ कम्पनीले ६८ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रदका लागि आवेदन दिएका छन् ।
प्रारम्भिक समीक्षा बाहेक प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको हकप्रदका लागि आवेदन दिएकोमा बोर्डले समीक्षा गरी कमेन्ट पठाइसकेको छ, तर कम्पनीले राइट शेयरको अनुपात संशोधन गरी नयाँ प्रस्ताव कायम गर्ने सम्बन्धमा पत्र दर्ता गराएको छ । त्यस्तै, गैर–जीवन बीमा क्षेत्रको प्रभु इन्स्योरेन्स लिमिटेडले ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको हकप्रद निष्काशनका लागि बोर्डको प्रश्नको जवाफ पेस गरिसकेको र हाल यो पुनः समीक्षाको चरणमा रहेको छ ।
बोर्डमा आवेदन दिएर प्रक्रिया पूरा गरेका ७ वटा कम्पनीहरूले भने चालु आर्थिक वर्षको फागुन २५ गतेसम्ममा हकप्रद शेयर निष्काशनको अन्तिम स्वीकृति पाइसकेका छन् । यी ७ कम्पनीहरूले बजारबाट कुल ४ अर्ब ९४ करोड १७ लाख ७६ हजार २०० रुपैयाँ बराबरको पूँजी हकप्रद जारी गरेर उठाएका छन् ।

स्वीकृति पाउने कम्पनीहरूमा शिवश्री हाइड्रोपावर लिमिटेडले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ संकलन गर्न स्वीकृति पाएको छ, जसको निष्काशन प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। होटल तथा पर्यटन क्षेत्रको सिटी होटल लिमिटेडले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ संकलन गर्ने अनुमति पाएको छ, जसको निष्काशन प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो । रिभर फल्स पावर लिमिटेडले ७० करोड रुपैयाँ संकलन गर्न अनुमति पाएको छ, जसको निष्काशन प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । विकास बैंक समूहबाट नारायणी डेभलपमेन्ट बैंकले २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ जुटाउन स्वीकृति पाएको छ, जसको निष्काशन प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड हो । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले ४० करोड रुपैयाँ संकलन गर्न अनुमति पाएको छ, जसको निष्काशन प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । गैर–जीवन बीमा क्षेत्रको युनाइटेड अजौड इन्स्योरेन्स लिमिटेडले २३ करोड १० लाख रुपैयाँ संकलन गर्ने स्वीकृति पाएको छ, जसको निष्काशन प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो । हिमालयन पावर पार्टनर लिमिटेडले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको हकप्रद जारी गर्न अन्तिम अनुमति पाएको छ, जसको निष्काशन प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
धितोपत्र बोर्डले विशेष नोट जारी गर्दै पाइपलाइनमा नाम रहेकै आधारमा सम्बन्धित कम्पनीहरू हकप्रद निष्काशनका लागि योग्य भइसकेको भन्न नमिल्ने स्पष्ट पारेको छ । बोर्डका अनुसार यो सूची केवल आवेदन प्राप्त भएका कम्पनीहरूको मात्रै हो । निवेदक कम्पनीहरूले पेस गरेका आवश्यक कागजात, वित्तीय विवरण तथा विवरणपत्रहरू प्रचलित कानूनी व्यवस्था र नियामकीय मापदण्ड बमोजिम पूर्ण र पारदर्शी नभएसम्म धितोपत्र दर्ता तथा हकप्रद निष्काशनको अन्तिम स्वीकृति प्रदान नगरिने भएकाले लगानीकर्ताहरूलाई सचेत रहन बोर्डले आग्रह गरेको छ ।