गोल्याण ग्रुपको रक्तदान कार्यक्रममा सांसद रञ्जु दर्शनाले भनिन्– ‘व्यवसायलाई समाजसँग जोड्नु प्रशंसनीय’

Jun 14, 2026 04:22 PM Merolagani



प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले व्यवसायलाई समाज विकासमा जोड्नु सकारात्मक कार्य भएको बताएकी छन् ।

विश्व रक्तदाता दिवसको अवसरमा गोल्याण ग्रुपले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा सांसद दर्शनाले उक्त कुरा बताएकी हुन् ।

गोल्याण ग्रुपले सामाजिक कार्यमार्फत आफूलाई समाजसँग जोड्दै गएकोमा प्रशंसासमेत गरिन् । ‘व्यापार–व्यवसायबाट कमाएको पैसालाई समाजको विकासमा पनि लगानी गर्नुपर्छ, समाजसँग जोडिनु निकै राम्रो काम हो,’ उनले भनिन्, ‘गोल्याण ग्रुपले यही कुरा मनन् गरेर समाजप्रतिको उत्तरदायित्व बहन गरिरहेको छ, यसले समाजसँगको सम्बन्ध पनि बलियो भएको छ ।’

गोल्याण ग्रुपको कर्पोरेट कार्यालय भएको स्थान आफ्नो निर्वाचन क्षेत्रसमेत भएको उल्लेख गर्दै सांसद दर्शनाले सामाजिक कार्यमा यस क्षेत्रका जनतालाई पनि जोड्न सुझाव दिइन् । उनले रक्तदानका साथै सामाजिक उत्तरदायित्वका अन्य कार्यले समाज लाभान्वित हुने बताइन् । ‘रगतको महत्व त्यतिबेला थाहा हुन्छ, जब कुनै व्यक्ति आफै वा उसको आफन्त अस्पतालको शैयामा रगतको अभावमा तड्पिरहेको हुन्छ,’ उनले भनिन्, ‘यो महत्वलाई बुझेर रक्तदान कार्यक्रम गर्नु समाजप्रतिको पवित्र योगदान हो ।’

गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले व्यवसायमार्फत राष्ट्रको अर्थतन्त्रमा योगदान दिएको उल्लेख गर्दै अब सामाजिक कार्यमार्फत समाजलाई सहयोग पु¥याउने कार्यलाई प्राथमिकता दिइएको बताए । सामाजिक कार्यको रुपमा रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । ‘रगतको मूल्य अंकमा मापन वा कुनै बस्तुसँग तुलना गर्न सकिँदैन, जसलाई आवश्यक छ उसैलाई मात्र यसको महत्व हुन्छ,’ उनले भने ।

गोल्याणले युवा पुस्ताले गरेको परिवर्तनको सम्मान गर्दै यसलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याए । स्मरणीय छ– गोल्याण ग्रुपले जेनजी आन्दोलनका सहिदका बालबालिका र आमाबुवालाई शिक्षा र स्वास्थ्यमार्फत सहयोग गरिरहेको छ । २२ जना सहिदका ३२ जना बालबालिकालाई मासिक जनही ४० हजारको दरले वार्षिक ४ लाख ८० हजारको शैक्षिकवृत्ति प्रदान गरिरहेको छ । त्यसैगरी २२ जना सहिदका ४३ बुवा–आमालाई वार्षिक १० लाखको स्वास्थ्य बीमा सेवा दिएको छ । गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक गोल्याणले समाजप्रतिको आफ्नो दायित्वलाई मनन् गरेर व्यवस्थित तबरले सामाजिक कार्य तथा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

गोल्याण ग्रुपका निर्देशक शक्तिकुमार गोल्याणले रक्तदान कार्यक्रमले मुलुकभर बढ्दो रगत अभावलाई कम गर्न सहयोग गर्नेमात्र नभई गोल्याण ग्रुप र समाजबीचको सम्बन्ध पनि मजबुत बनाउन मद्दत पुग्ने बताए ।

कार्यक्रममा गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड जनसम्पर्क प्रमुख ज्योति गैह्रेले रगतको बढ्दो अभावका कारण मानवजीवन संकटमा परिरहेको उल्लेख गर्दै उक्त संकटलाई केही मात्रामा भए पनि कम गर्न गोल्याण ग्रुपले आफ्नो तर्फबाट योगदान दिएको बताइन् । नेपाल रेडक्रस सोसाइटीका अनुसार हाल नेपालमा वार्षिक करिब साढे ३ लाखदेखि ४ लाख पिन्ट रगत आवश्यक पर्नेमा करिब १ लाख पिन्ट रगत अभाव हुने गरेको छ । ‘रक्तदान मानवजीवनलाई हामीले दिने सबैभन्दा अमूल्य योगदान हो, एक पिन्ट रगतले मानवता पुनर्जीवित हुन्छ र त्यसले भविष्यको लागि आशा र भरोसा प्रदान गर्दछ,’ उनले भनिन् ।

रक्तदान कार्यक्रममा गोल्याण ग्रुप अन्तर्गतका कर्मचारीसहित पत्रकार र समुदायका व्यक्तिसमेत गरी करिब १ सय जनाले रक्तदान गरेका थिए ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।