हिमालयन पर्यटनमा नयाँ आयाम: नेपाल र भुटानबीच दिगो पर्यटन प्रवर्द्धनका लागि बलियो साझेदारीको घोषणा

Jun 14, 2026 05:05 PM Merolagani



नेपालसहित विश्वका विभिन्न मुलुकका पर्यटन व्यवसायी, नीति निर्माता र सरोकारवालाहरूको उत्साहजनक सहभागितामा भुटानमा पहिलोपटक आयोजना गरिएको ‘भुटान अन्तर्राष्ट्रिय यात्रा बजार (बीआइटिएम)–२०२६’ ले नेपाल–भुटान पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने बलियो आधार खडा गरेको छ।

भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयअन्तर्गतको पर्यटन विभाग र एसोसिएसन आफ भुटानिज यात्रा सञ्चालक संघको संयुक्त आयोजनामा थिम्फुमा सुरु भएको तीनदिने ऐतिहासिक कार्यक्रमको उद्घाटन उद्योग, वाणिज्य तथा रोजगारीमन्त्री ल्योन्पो नामग्याल दोर्जीले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री दोर्जीले यो कार्यक्रम केवल पर्यटन क्षेत्रको सामान्य जमघट मात्र नभई भुटानको व्यापक आर्थिक तथा सामाजिक विकास यात्राको एउटा महत्वपूर्ण कोशेढुंगा भएको र यसले पर्यटनमार्फत क्षेत्रीय सहकार्य र साझा समृद्धिको लक्ष्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै भुटान सरकारको पर्यटन विभागका निर्देशक डाम्छो रिन्जिनले यस मञ्चलाई सामान्य व्यावसायिक कारोबारको थलोका रूपमा मात्र नभई अन्तर्राष्ट्रिय पर्यटन दूत निर्माण गर्ने सुनौलो अवसरका रूपमा व्याख्या गरे। दिगो पर्यटन विकासका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेको उल्लेख गर्दै उनले नेपालसहितका छिमेकी मुलुकसँग सहकार्य विस्तार गर्नुपर्नेमा विशेष जोड दिए। निर्देशक रिन्जिनले आफूहरू केवल व्यापारिक सम्झौताका लागि मात्र नभएर पर्यटनका असल दूत निर्माण गर्न भेला भएको स्पष्ट पार्दै दिगो पर्यटनको भविष्य साझा सहकार्य, विश्वास र सामूहिक प्रयासबाट मात्र सम्भव हुने धारणा राखे।

नेपालका पर्यटन व्यवसायी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा भुटानले नेपाललाई आफ्नो सबैभन्दा महत्वपूर्ण पर्यटन साझेदारका रूपमा प्रस्तुत गरेको छ। यस बृहत् यात्रा मेलामा नेपालसहित भारत, थाइल्यान्ड, सिंगापुर, चीन, संयुक्त अरब इमिरेट्स, बंगलादेश,जर्मनी, क्यानडा, स्पेनलगायत करिब १५ देशका २०० भन्दा बढी अन्तर्राष्ट्रिय क्रेताहरू सहभागी छन्। भुटानले उच्च मूल्य र न्यून संख्यामा गुणस्तरीय पर्यटक भित्र्याउने आफ्नो दीर्घकालीन पर्यटन नीतिलाई अन्तर्राष्ट्रिय बजारमा थप सशक्त रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो, जसमा ५० भन्दा बढी पर्यटन प्रदर्शक, होटल व्यवसायी, यात्रा सञ्चालक, वायुसेवा कम्पनी तथा हेलिकप्टर सेवा प्रदायकहरू क्रियाशील छन्।

यस पटक भुटानले आफ्नो महत्वाकांक्षी ‘गेलेफु माइन्डफुलनेस सिटी’, वाङ्दुचोलिङ दरबार सङ्ग्रहालय, डिन्चेङगाङ पुनर्जननशील गाउँ तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित ‘स्नोम्यान रेस’ जस्ता ठूला परियोजनाहरूलाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरेको छ। साथै, हालसम्म कम पर्यटक पुगेका ११ वटा जिल्लाका मौलिक पर्यटन सम्भावनाहरूलाई पनि अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिएको छ। आगामी वर्षहरूमा यसलाई नियमित वार्षिक कार्यक्रमका रूपमा विकास गरिने जानकारी आयोजकले दिएका छन्, जसले भुटानलाई उच्चस्तरीय गन्तव्यका रूपमा स्थापित गर्नुका साथै स्थानीय समुदाय र व्यवसायलाई प्रत्यक्ष आर्थिक लाभ पुर्‍याउनेछ।

नेपाली पर्यटन व्यवसायीका लागि समेत यो कार्यक्रम निकै फलदायी मानिएको छ। हिमाली पर्यटन, आध्यात्मिक यात्रा, साहसिक पर्यटन तथा दिगो पर्यटन व्यवस्थापनका रैथाने क्षेत्रमा नेपाल र भुटानबीच प्रचुर अनुभव आदानप्रदान गर्ने र विश्व बजारमा संयुक्त प्रवर्द्धनका सम्भावनाहरूलाई अझ बढाउँदै लैजाने विषयमा नेपाली पर्यटन प्रतिनिधिहरूले आफ्ना भनाइहरू राखेका छन्।