अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM Merolagani



बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको ‘कम्पनी कानून सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ को नयाँ मस्यौदामा कम्पनीहरूले अब १०० रुपैयाँ बाहेकका अन्य मूल्यमा पनि शेयर निष्कासन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको हो।

विधेयकको प्रारम्भिक मस्यौदाअनुसार पब्लिक कम्पनीको शेयरको न्यूनतम अंकित मूल्य ५० रुपैयाँ वा सोभन्दा कम १० अंकले भाग जाने रकम कायम गर्न सकिने व्यवस्था गरिएको छ। यो व्यवस्था लागू भएमा कम्पनीहरूले प्रचलित १०० रुपैयाँको व्यवस्था बाहेक १० रुपैयाँ, २० रुपैयाँ, ३० रुपैयाँ वा ५० रुपैयाँ अंकित मूल्य राखेर पनि शेयर जारी गर्न पाउने बाटो खुल्नेछ। मस्यौदामा रहेका बुँदाहरु हुबहु पास भएमा नेपालको पुँजी बजारमा सोल्टी होटलपछि अरु कम्पनीहरु पनि १० रुपैयाँ फेस भ्यालुको शेयर देख्न पाइने भएको छ । पछिल्लो समय म्युुचुएल फन्डले मात्रै १० रुपैयाँ अंकित मूल्यमा इकाई बेचिरहेको छ ।

नेपाली शेयर बजारमा अहिलेसम्म एकाध बाहेक प्रायः सबै कम्पनीहरूको प्राथमिक शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ नै रहँदै आएको छ। नयाँ विधेयकले यो सीमालाई तोड्दै कम्पनीहरूलाई आफ्नो आवश्यकता र प्रकृतिअनुसार १०० रुपैयाँभन्दा कम मूल्यका शेयर निष्कासन गर्ने स्वायत्तता प्रदान गर्ने प्रस्ताव गरेको हो। शेयरको अंकित मूल्य कम हुँदा प्राथमिक बजारमा साना तथा विद्यार्थी लगानीकर्ताहरूको पहुँच अझ व्यापक हुने र पुँजी बजारमा सर्वसाधारणको सहभागिता अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

यी हुन १ सय भन्दा कम अंकित मूल्यमा आइपीओ निकाल्ने दुई कम्पनी

नेपालको शेयर बजारमा १०० रुपैयाँ बाहेकको अंकित मूल्यमा शेयर आउन लागेको यो पहिलो पटक भने होइन। विगतमा र हाल पनि केही सीमित कम्पनी तथा सामूहिक लगानी कोषले १०० रुपैयाँभन्दा कम अंकित मूल्यमा शेयर निष्कासन गरिसकेका छन्। नेप्सेमा सूचीकृत पुरानामध्ये एक सोल्टी होटल लिमिटेडको शेयरको अंकित मूल्य प्रति कित्ता १० रुपैयाँ मात्र रहेको छ। १०० रुपैयाँ अंकित मूल्य भएका अन्य कम्पनी सरह नै यसको १० रुपैयाँ अंकित मूल्यको शेयरले पनि बजारमा निकै उच्च मूल्यमा कारोबार गरिरहेको इतिहास छ।

यसैगरी, पूँजी बजारमा हालैका वर्षहरूमा आएको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट विशेष अनुमति लिएर प्रति कित्ता ५० रुपैयाँ अंकित मूल्यमा साधारण शेयर निष्कासन गरेको थियो।

विगतमा विशिष्ट अनुमति वा पुराना व्यवस्थाका कारण एकाध कम्पनीले मात्र १०० रुपैयाँभन्दा कम मूल्यमा शेयर जारी गर्न पाएकोमा अब बन्ने नयाँ कम्पनी कानूनले नै यसलाई स्पष्ट र खुला रूपमा समेट्न लागेको हो। यो विधेयक संसद्बाट पारित भई ऐनका रूपमा लागू भएपछि नेपालमा १० रुपैयाँ वा ५० रुपैयाँ अंकित मूल्यमा शेयर जारी गर्ने कम्पनीहरूको संख्या उल्लेख्य रूपमा बढ्ने सम्भावना छ।

अकामा होटलले खोजेको थियो ५० रुपैयाँको आइपीओ अनुमति

५० रुपैयाँ अंकित मूल्यमा शेयर निष्काशन गरेको हाथवे इन्भेष्टमेन्टको शेयर उचाईमा पुगेपछि अकामा होटलले सुरुमा प्रतिसेयर पचास रुपैयाँ फेस भ्यालु (अकित मूल्य) कायम गरी शेयर निष्काशन गर्ने तयारी गरेको थियो तर पछिल्लो समयमा त्यसलाई परिमार्जन गर्दै पुनः एक सय रुपैयाँ नै कायम गर्ने गरी संशोधन गरेको छ। शेयर निष्काशन निर्देशिका बमोजिम पचास रुपैयाँमा प्राथमिक सेयर ल्याउने गृहकार्य गरेको होटलले नियामककै दबाबमा पुनः १ सय रुपैयाँ अंकित मूल्यमै आइपीओ निष्काशन गर्न आवेदन संशोधन गरेको हो । अकामाले सानिमा क्यापिटलमार्फत आइपीओ निष्काशन प्रक्रिया अगाडि बढाइरहेको छ।