बजारमा कुल कारोबार संख्या र कारोबार रकम (टर्नओभर) मा भारी गिरावट आइरहेको समयमा सुरक्षित लगानी मानिने ऋणपत्र (डिबेन्चर) को कारोबारमा भने ऐतिहासिक र विस्फोटक आकर्षण देखिएको छ। यसका साथै, नवघोषित बजेटका सकारात्मक नीतिहरूले गर्दा निर्जीवन बिमा कम्पनीहरूको शेयरतर्फ लगानीकर्ताको आकर्षण बढ्नु स्वाभाविक देखिए पनि कुनै स्पष्ट आधारविना नै फाइनान्स उपसमूहमा भएको अस्वाभाविक वृद्धिले बजारमा कर्नर पिङ र चलखेलको आशंकालाई बलियो बनाएको छ।
बजेटका कारण निर्जीवन बिमाप्रति आकर्षण बढ्नुको रहस्य
सङ्घीय संसद्मा हालै प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यले बिमा क्षेत्रका लागि धेरै दूरगामी र उत्साहजनक योजनाहरू अघि सारेको छ। यसै नीतिगत सुधारका कारण जेठ महिनामा निर्जीवन बिमा (Non-Life Insurance) उपसमूहमा लगानीकर्ताको आकर्षण तीव्र बन्नु स्वाभाविक देखिएको हो।
बजेटमार्फत सरकारले बिमा क्षेत्रको दायरा विस्तार र व्यावसायिक सुधारका लागि महत्त्वपूर्ण व्यवस्थाहरू गरेको छ। बजेटले कृषि तथा पशु बिमामा प्रोत्साहन प्याकेज घोषणा गरेको छ। कृषि तथा पशु बिमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान उपलब्ध गराउन २ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ। जसले निर्जीवन बिमा कम्पनीहरूको व्यवसायमा उल्लेख्य वृद्धि ल्याउनेछ। अर्को तर्फ सहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृत गर्दा अनिवार्य रूपमा बिमा गर्नुपर्ने कानुनी व्यवस्था मिलाइएको छ। आवासीय भवनको बिमा बापत तिरेको प्रिमियममध्ये अधिकतम १० हजार रुपैयाँसम्म आयकर प्रयोजनका लागि कट्टी गर्न पाइने व्यवस्था गरिएको छ। लामो समयदेखि परिमार्जन हुन नसकेको तेस्रो पक्ष सवारी बीमाङ्कको सीमा बढाएर १० लाख रुपैयाँ पुर्याइएको छ। सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीको थप शेयर सर्वसाधारणमा निष्कासन (IPO) गर्ने बजेटको घोषणाले समग्र बिमा बजारमा नयाँ उत्साह भरेको छ।
यिनै नीतिगत सबलतातर्फ आँखा लगाउँदै लगानीकर्ताहरूले निर्जीवन बिमातर्फ पूँजी बढाएका हुन्। जसका कारण वैशाखमा १ अर्ब १७ करोड ४६ लाख ६० हजार रुपैयाँको कारोबार भएको यस क्षेत्रमा जेठमा १०८.९२ प्रतिशतको वृद्धि भई २ अर्ब ४५ करोड ४० लाख ८० हजार रुपैयाँ बराबरको शेयर खरिद-बिक्री भयो।
बजेटका कारण निर्जीवन बिमा समूह चम्किनुको पछाडि बलियो व्यावसायिक आधार भए पनि फाइनान्स समूहको वृद्धि भने शंकास्पद देखिएको छ। वैशाख महिनामा फाइनान्स समूहको कुल कारोबार २ अर्ब १६ करोड ७२ लाख २० हजार रुपैयाँ मात्र रहेकोमा जेठ महिनामा यो रकम अपत्यारिलो ढङ्गले १५५.९४ प्रतिशतले बढेर ५ अर्ब ५४ करोड ६८ लाख ३० हजार रुपैयाँ पुगेको छ।
फाइनान्स समूहमा यसरी ठुलो कारोबार हुनु र मूल्य बढ्नुको पछाडि कुनै ठोस नीतिगत, वित्तीय वा कानुनी कारण देखिँदैन। बजारका एक अनुभवी लगानीकर्ताका अनुसार यो वृद्धि बजारमा केही समूहले फाइनान्स क्षेत्रको मूल्य कृत्रिम रूपमा कर्नरिङ गरी "जबरजस्त बढाउने कोसिस" गरेको बाहेक अरू केही होइन। साना कम्पनीहरूको शेयर सङ्ख्या (फ्लोट) थोरै हुने भएकाले केही ठुला खेलाडीले यस समूहमा कृत्रिम डिमाण्ड सिर्जना गरी शेयर चम्काएको र यसमा लगानी गर्दा साना लगानीकर्ता फस्न सक्ने जोखिम उच्च रहेको बजार विश्लेषकहरूको ठम्याइ छ।
डिबेन्चर (ऋणपत्र) मा ८,०८७% को विस्फोटक वृद्धिका कारण
जेठ महिनाको रिपोर्टमा सबैभन्दा बढी अचम्मित पार्ने तथ्याङ्क ऋणपत्रको कारोबारमा देखिएको छ। वैशाख महिनामा ऋणपत्रको कुल कारोबार मात्र ५ करोड ७३ लाख ४० हजार रुपैयाँमा खुम्चिएकोमा जेठ महिनामा यो रकम ८,०८७.३२ प्रतिशतले बढेर ४ अर्ब ६९ करोड ४६ लाख १० हजार रुपैयाँ पुगेको छ। ऋणपत्रको यस्तो अभूतपूर्व वृद्धिका पछाडि मुख्य गरी चार वटा कारणहरू जिम्मेवार मानिएका छन्। सबैभन्दा पहिलो कारण भनेको डिबेन्चरको व्याज ६ /६ महिनामा आउने गर्छ। हामी अहिले आर्थिक वर्ष समाप्तिको नजिक छौ। जेठमा किनेको डिबेन्चरको व्याज साउन लाग्ने बित्तिकै पाइन्छ। एक महिनाको होल्डमा नै निश्चित व्याज आर्जन हुने भएकोले पनि लगानीकर्ता डिबेन्चर तर्फ यत्ति धेरै आकर्षित भएका हुन्। अर्को कारण भनेको शेयर बजारमा अस्थिरता र मन्दी देखिँदा लगानीकर्ताहरू सुरक्षित र निश्चित प्रतिफल दिने उपकरणतर्फ आकर्षित भएका हुन्। बैंक तथा वित्तीय संस्थाहरूको साधारण निक्षेप (डिपोजिट) को ब्याजदर निरन्तर घटिरहेको अवस्थामा दोस्रो बजारमा ८ देखि ९ प्रतिशतसम्मको सुनिश्चित ब्याजदर (कुपन रेट) भएका पुराना डिबेन्चरहरू सस्तो मूल्यमा उपलब्ध हुँदा संस्थागत र व्यक्तिगत लगानीकर्ताहरू यसमा ओइरिएका हुन्। बैंक, बिमा र नागरिक लगानी कोष जस्ता संस्थागत लगानीकर्ताहरूले जेठ महिनामा आफ्नो पोर्टफोलियो समायोजन (विविधीकरण) गर्दै ठुलो मात्रामा ऋणपत्र खरिद गरी पूँजीगत जोखिम न्यूनीकरण गरेका छन्।
कारोबार संख्या ४० प्रतिशतले घट्दा पनि नेप्से सूचक स्थिर
जेठ महिनामा कारोबार संख्या र सूचक बिचको सम्बन्ध निकै गम्भीर देखियो। तथ्याङ्क अनुसार बजारमा शेयर खरिद-बिक्रीको सक्रियता निकै घटेको छ। चैत महिनामा कुल २७ लाख ६६ हजार ६ सय १२ वटा कारोबार भएकोमा वैशाखमा १७ लाख ४७ हजार १ सय २४ मा झरेको थियो। जेठ महिनामा कारोबार संख्या अझै ३९.९० प्रतिशतले घटेर १० लाख ५० हजार १०३ मा सीमित हुन पुगेको छ।
दुई महिनाको अवधिमा कारोबार संख्या आधाभन्दा बढीले घट्नुले बजारमा नयाँ खरीकर्ताहरूको चरम अभाव रहेको स्पष्ट पार्छ। तर, यति हुँदाहुँदै पनि समग्र नेप्से सूचक भने बलियो बनेर उभिएको छ। वैशाख महिनामा नेप्से सूचक २७३०.१८ अङ्कमा बन्द भएकोमा जेठ मसान्तमा यो केवल ०.२२ प्रतिशतले मात्र घटेर २७२४.०३ अङ्कमा कायम रह्यो। यसले के देखाउँछ भने बजारमा नयाँ खरिदकर्ता कम भए पनि पुराना लगानीकर्ताहरूले सस्तो मूल्यमा शेयर बेच्न नचाहेका कारण (होल्डिङ सेन्टिमेन्ट) सूचक जोगिन सफल भएको हो।
मन्दी व्यहोर्ने प्रमुख क्षेत्रहरू: जलविद्युत् र उत्पादनमूलक
जेठ महिनामा समग्र बजारको टर्नओभर २०.५१ प्रतिशतले घट्नुमा केही ठुला क्षेत्रहरूको मन्दी प्रमुख कारण रह्यो। समग्र बजारमा अझै पनि जलविद्युत् क्षेत्रको कारोबार हिस्सा सबैभन्दा ठुलो (करिब ४५.८ प्रतिशत) छ। जेठमा यस क्षेत्रमा ४० अर्ब २२ करोड ७३ लाख ६० हजार रुपैयाँको शेयर कारोबार भयो। तर, यो रकम वैशाख महिनाको ५३ अर्ब ७१ करोड ६४ लाख ६० हजार रुपैयाँको तुलनामा २५.११ प्रतिशतले कम हो।
त्यसै गरी, उत्पादनमूलक क्षेत्रमा जेठ महिनामा ५५.९४ प्रतिशतको भारी गिरावट आएको छ। वैशाखमा १६ अर्ब ३५ करोड ३९ लाख ४० हजार रुपैयाँको कारोबार भएकोमा जेठमा यो घटेर ७ अर्ब २० करोड ६१ लाख ९० हजार रुपैयाँमा खुम्चिएको छ। नेप्सेको सबैभन्दा ठुलो हिस्सा ओगट्ने वाणिज्य बैंकहरूको कारोबार पनि जेठमा २५.५४ प्रतिशतले घटेर ६ अर्ब ४१ करोड ९४ लाख ८० हजार रुपैयाँमा झरेको छ।
समग्र बजारको पूँजीकरण र अन्य सूचकहरूको अवस्था
जेठ मसान्तसम्ममा सूचीकृत कम्पनीहरूको संख्या २९७ पुगेको छ। जुन अघिल्लो महिना २९४ रहेको थियो। नयाँ कम्पनीहरूको सूचीकरणसँगै बजार पूँजीकरणमा खासै ठुलो फेरबदल आएको छैन। जेठ मसान्तमा कुल बजार पूँजीकरण ४६ खर्ब ५४ अर्ब ५५ करोड १६ लाख ४० हजार रुपैयाँ कायम भएको छ, जुन वैशाखको तुलनामा केवल ०.०४ प्रतिशत मात्र न्यून हो। त्यस्तै, सर्वसाधारण लगानीकर्ताको हातमा रहेको शेयरको मूल्य मापन गर्ने 'नेप्से फ्लोट सूचक' जेठ महिनामा ०.३२ प्रतिशतले बढेर १८५.९० अङ्कमा बन्द भएको छ। यसले साना तथा सर्वसाधारण शेयर धनीहरूको शेयर मूल्यमा सामान्य सुधार आएको संकेत गर्दछ।
जेठ महिनाको यो मासिक विवरणले नेपाली शेयर बजार हाल पर्ख र हेरको अवस्थामा रहेको पुष्टि गर्छ। कारोबार संख्यामा आएको ४० प्रतिशतको संकुचनले बजारमा उत्साह केही घटेको देखाए पनि सूचकको स्थिरताले बजारको जग अझै बलियो रहेको संकेत गर्छ। यस्तो अवस्थामा नयाँ बजेटका व्यवस्थाहरूले चम्किएको निर्जीवन बिमा क्षेत्रतर्फ लगानीकर्ता आकर्षित हुनु स्वाभाविक मानिए पनि विना आधार फाइनान्स समूहमा देखिएको जबरजस्त चलखेलप्रति भने साना लगानीकर्ता सतर्क रहन आवश्यक रहेको जानकारहरूको भनाई छ। सँगै, सुरक्षित लगानी खोज्नेहरू ऋणपत्र (डिबेन्चर) तर्फ आकर्षित हुनु जेठ महिनाको शेयर बजारको सबैभन्दा बलियो यथार्थ बनेको छ।