सरकारले सवारी लाइसेन्स छपाई कार्यका लागि सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर अघि बढेको छ । केन्द्रसँगै पहिलो सम्झौताअनुसार, १२ लाख सवारी लाइसेन्स छपाइ कार्य सम्पन्न भइ दोस्रो सम्झौताअनुसार १७ लाख सवारी लाइसेन्स छपाई कार्य अघि बढाएको थियो ।
दोस्रो पटक लाइसेन्स छपाइको जिम्मा पाएको केन्द्रले हालसम्म करिब ७ लाख सवारी लाइसेन्स छपाई गरिसकेको जनाएको छ । यसरी, केन्द्रलाई कुल २९ लाख सवारी लाइसेन्स छाप्ने जिम्मा दिइएकोमा हालसम्म करिब १७ लाख लाइसेन्स छपाईकार्य सम्पन्न भएको हो ।
केन्द्रले पहिलो चरणमा १२ लाख सवारी लाइसेन्स गएको बैशाख १२ मा छपाई कार्य सम्पन्न गरेर यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको थियो । जसमध्ये त्यतिबेला ३७ हजार ६९८ थान अत्यावश्यक र ११ लाख ३१ हजार ७५ थान ब्याकलग लाइसेन्स प्रिन्ट भएका थिए ।
असारमसान्त सबै लाइसेन्स छापिसक्ने लक्ष्य
त्यसपछि, सरकारले पुनः केन्द्रलाई थप १७ लाख सवारी लाइसेन्स छपाइकार्यका लागि जिम्मा दिएको थियो । केन्द्रले आगामी २०८३ असार मसान्तसम्म सबै लाइसेन्स छपाइ कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ । केन्द्रले यो दुई महिनाको अवधिमा करिब ७ लाख सवारी लाइसेन्स छपाइ गरेको देखिन्छ । दोस्रो सम्झौताको म्याद आउँदो असार ३२ गतेसम्म रहेको छ ।
त्यो अवधिमा केन्द्रले १२ लाख लाइसेन्स छपाई गरिसक्नुपर्नेछ । हालसम्म करिब ७ लाख लाइसेन्स प्रिन्ट भएको, १ लाख २४ हजार लाइसेन्स प्रक्रियामा रहेको र बाँकी ८ लाख ७६ हजार लाइसेन्स छपाई हुनै बाँकी रहेको केन्द्रले जनाएको छ ।
छपाई सम्पन्न भएकोमध्ये ३ हजार ९५८ अत्यावश्यक लाइसेन्स र ५ लाख ५६ हजार ब्याकलग लाइसेन्स छपाई सम्पन्न भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, अहिले दैनिक रुपमा १ लाख ३९ हजार १३० वटा लाइसेन्स छपाई हुने गरेको छ ।
अहिलेको छपाईको गति हेर्दा आगामी असार मसान्तसम्म बाँकी लाइसेन्स छपाई कार्य सम्पन्न हुने देखिन्छ । दोस्रो सम्झौताका १७ लाख लाइसेन्सको छपाई कार्य असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ । दोस्रो चरणमा १७ लाख सवारी लाइसेन्सका लागि केन्द्रसँग सरकारले गत २०८३ बैशाख ४ मा सम्झौता गरेको थियो ।
साउनपछि घर–घरमा पुग्ला लाइसेन्स ?
सरकारले यसअघि ल्याएको शासकीय सुधारका १०० बुँदे कार्यसूचीमा सवारी लाइसेन्स हुलाकमार्फत ने घर–घरमा डेलिभरी गर्ने योजना बनाएको थियो । त्यसका लागि पनि सरकारले वर्षौअघिदेखि प्रिन्ट हुन नसकेका सवारी लाइसेन्स केन्द्रमार्फत छपाई कार्य गरेर वितरण गर्ने भनेको छ ।
केन्द्रका एक कर्मचारीले साउन अगाबै लाइसेन्स छपाइ कार्य सकिने बताए । ‘साउनअघि नै बाँकी लाइसेन्स छपाइ कार्य सकिन्छ,’ ती कर्मचारीले भने, ‘त्यसपछि भने सबैले लाइसेन्स घर घरमै पाउने अवस्था बन्नेछ ।‘ अहिले छपाई सकिएको लाइसेन्सहरु वितरणको काम पनि सँगसँगै अघि बढिरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागमातहतका प्रदेश यातायात कार्यालयबाट सवारी लाइसेन्स वितरण भइरहेको हो ।
विगतमा वर्षौंदेखि चालकहरूले ट्रायल पास गरे पनि स्मार्ट कार्ड पाउन सकेका थिएनन । चालकले ट्रायल पास गरे पनि ४–५ वर्षसम्म पनि स्मार्ट लाइसेन्स पाउन सकेका थिएनन् । नगदी रसिद वा चिर्कटो देखाएर सवारी चलाउनुपर्ने बाध्यता अहिले पनि कायमै छ ।