चिडियाखानाको रेखदेख र व्यवस्थापन गर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषले आज एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि चिडियाखाना पूर्ण रूपमा बन्द रहने जनाएको छ।
‘सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लू सङ्क्रमण देखिएकोले आम सर्वसाधारण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको छ,’ कोषद्वारा जारी सूचनामा भनिएको छ।
कुन जीवजन्तुमा सङ्क्रमण, अझै खुलिसकेको छैन कोषले जीवजन्तुमा बर्ड फ्लू सङ्क्रमण भएको पुष्टि गरे पनि चिडियाखानाभित्र रहेका कुन–कुन प्रजातिका पक्षी वा जनावरमा यो समस्या देखिएको हो भन्नेबारे विस्तृत विवरण खुलाएको छैन। मानव स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षात्मक कदम स्वरूप चिडियाखाना बन्द गर्ने निर्णय लिइएको व्यवस्थापनले स्पष्ट पारेको छ।
अचानक चिडियाखाना बन्द भएपछि आज त्यहाँ घुम्न पुगेका सर्वसाधारण र विशेष गरी बालबालिकाहरू निराश भएर फर्किएका छन्। चिडियाखाना प्रशासनले स्थिति नियन्त्रणमा आएपछि र स्वास्थ्य जोखिम टरेपछि मात्रै नयाँ सूचना जारी गरेर चिडियाखाना पुनः सञ्चालनमा ल्याइने बताएको छ।