नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को जेठ महिनाको वित्तीय विवरण अनुसार समग्र जीवन बीमा व्यवसायको आकारमा सामान्य संकुचन आएको छ।तथ्यांकलाई केलाउँदा सक्रिय बीमालेखको संख्यामा वृद्धि भए पनि प्रथम बीमाशुल्क, नवीकरण शुल्क र कुल बीमाशुल्क संकलनमा गिरावट आएको स्पष्ट देखिन्छ।
सक्रिय बीमालेख (पोलिसी) मा सुधारः
आर्थिक मन्दी र बजारको दबाबका बीच पनि जीवन बीमाप्रतिको आम जनमानसको विश्वास भने कायम रहेको तथ्यांकले देखाउँछ। गत वर्ष २०८२ को जेठ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा कुल सक्रिय बीमालेखको संख्या १.८२ प्रतिशतले बढेको छ। गत वर्षको जेठसम्म १ करोड १५ लाख २७ हजार ९९४ रहेको सक्रिय पोलिसी संख्या यस वर्षको जेठ मसान्तसम्म आइपुग्दा १ करोड १७ लाख ३७ हजार २९८ पुगेको छ। यसरी पोलिसी संख्या बढाउने दौडमा सन नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ, जसको सक्रिय बीमालेख संख्या ९७.४७ प्रतिशतको विशाल फड्को मार्दै ३ लाख ८३ हजार ७३९ पुगेको छ। यस्तै आइएमई लाइफको ३७.०२ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको १९.३१ प्रतिशतले पोलिसी संख्या बढेको छ। तर, अर्कोतर्फ सिटिजन लाइफ, सानीमा रिलायन्स र सूर्यज्योति लाइफ जस्ता कम्पनीहरूको सक्रिय पोलिसी संख्यामा भने १५ देखि २१ प्रतिशतसम्मको गिरावट आएको छ।
नयाँ व्यवसाय थपिने क्रम सुस्त
बजारमा नयाँ ग्राहक थपेर संकलन गरिने प्रथम बीमाशुल्कमा १.४५ प्रतिशतको सामान्य गिरावट आएको छ। गत वर्ष जेठ महिनासम्म कुल प्रथम बीमाशुल्क ४ अर्ब १ करोड ७६ लाख ४ सय ९० रुपैयाँ संकलन भएकोमा यस वर्ष सोही अवधिमा३ अर्ब ९५ करोड ९४ लाख ३० हजार रुपैयाँ मात्र संकलन भएको छ। यस सूचकमा आइएमई लाइफ इन्स्योरेन्सले आक्रामक बजार विस्तार गर्दै ३४.७३ प्रतिशतको सानदार वृद्धि हासिल गरेको छ भने सिटिजन लाइफले १२.२६ प्रतिशत र रिलायबल नेपाल लाइफले १२.०९ प्रतिशतको सकारात्मक वृद्धि दर्ता गरेका छन्। यद्यपि, हिमालयन लाइफको प्रथम बीमाशुल्कमा १९.८१ प्रतिशत र सूर्यज्योति लाइफको ८.५८ प्रतिशतको गिरावट आउँदा समग्र सूचक प्रभावित बन्न पुग्यो। रकमका आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स १० अर्ब १६ कराे८ ६८ लाख ८३ हजार लाख रुपैयाँ सहित नयाँ व्यवसायमा पनि सबैभन्दा अगाडि छ।
कम्पनीहरूको दिगो आम्दानीको मुख्य स्रोत मानिने नवीकरण बीमाशुल्कमा यस वर्ष २.७७ प्रतिशतको गिरावट देखिएको छ। गत वर्षको जेठसम्म जीवन बीमा कम्पनीहरूले कुल १३ अर्ब ७७ करोड ३० लाख २९ हजार ८ सय रुपैयाँ नवीकरण शुल्क उठाएकोमा यस वर्षको जेठमा त्यो घटेर १३ अर्ब ३९ करोड १३ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ। यसले पुराना बिमितहरूले समयमै आफ्नो प्रिमियम नवीकरण नगरेको वा पोलिसी ल्याप्स हुने दर बढेको संकेत गर्छ।
यस प्रतिकूल अवस्थाका बीच पनि राष्ट्रिय जीवन बीमा कम्पनीले आफ्नो नवीकरण शुल्क ८.६८ प्रतिशतले बढाउँदै ९५ करोड ३ लाख ९२ हजार ४ सय रुपैयाँ पुर्याउनु सुखद पक्ष हो। तर, बजारका ठूला कम्पनीहरू जस्तै नेपाल लाइफको नवीकरण शुल्क ३.४८ प्रतिशत, एलआइसी नेपालको ८.२५ प्रतिशत र हिमालयन लाइफको ८.७६ प्रतिशतले घट्दा समग्र उद्योगकै व्यावसायिक वृद्धिमा ठूलो असर परेको छ। कुल बीमाशुल्क संकलनः बजारको आकार खुम्चियो
प्रथम र नवीकरण दुवै बीमाशुल्कमा संकुचन आउँदा समग्र जीवन बीमा व्यवसायको कुल बीमाशुल्क संकलन २.४७ प्रतिशतले ओरालो लागेको छ। गत वर्षको जेठसम्म कुल १७ अर्ब ७९ करोड रुपैयाँ कुल प्रिमियम संकलन भएकोमा यस वर्ष १७ अर्ब ३५ करोड रुपैयाँ मात्र संकलन भएको छ। व्यापारको आकारका आधारमा ४६ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क सहित नेपाल लाइफ इन्स्योरेन्सले बजारको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। दोस्रो स्थानमा रहेको नेशनल लाइफले २२ अर्ब २१ करोड रुपैयाँ संकलन गरेको छ।
यस प्रतिकूल बजारमा पनि आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो कुल व्यापार १४.३१ प्रतिशतले बढाएर ६ अर्ब १७ करोड ५९ लाख पुर्याउँदै उद्योगमै उत्कृष्ट प्रदर्शन गरेको छ। साथै, राष्ट्रिय जीवन बीमा कम्पनीले ७.७६ प्रतिशत र रिलायबल नेपाल लाइफले ४.६५ प्रतिशतको वृद्धि हासिल गरेका छन्।
समग्रमा, आम नागरिकमा बीमाको पहुँच र पोलिसीको दायरा बिस्तारै बढे पनि आर्थिक शिथिलताका कारण ग्राहकहरूको प्रिमियम तिर्ने क्षमतामा ह्रास आउँदा नवीकरण र नयाँ व्यवसाय दुवैमा दबाब परेको छ। केही नयाँ र आक्रामक रणनीति लिएका कम्पनीहरूले बजारलाई धाने पनि स्थापित ठूला कम्पनीहरूको व्यापारमा आएको संकुचनले समग्र बीमा क्षेत्रलाई नै सुस्त बनाइदिएको छ।