मार्जिन सेवाका लागि भिजन सेक्युरिटिजले १ अर्ब ५० करोड ऋण लिदै: केयर नेपालद्वारा ‘ए टु’ रेटिङ प्रदान

Jun 26, 2026 05:24 PM Merolagani



सुवास निराैला

नेपालको शेयर बजारमा लगानीकर्ताहरूलाई नयाँ सुविधा उपलब्ध गराउने तयारी स्वरूप दोस्रो ठूलो स्टक ब्रोकर कम्पनी भिजन सेक्युरिटिज प्राइभेट लिमिटेडले ठूलो ऋण लिने भएको छ। 

धितोपत्र बोर्ड (सेवोन) को नीतिगत व्यवस्था अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ देखि आफ्ना ग्राहकहरूलाई मार्जिन कारोबार (मार्जिन लेन्डिङ) सेवा उपलब्ध गराउन कम्पनीले बैंकहरूबाट १ अर्ब ५० करोड रुपैयाँ  बराबरको वित्तीय सुविधा सीमा (Bank Facility Limit) लिने प्रक्रिया अघि बढाएको हो।

बैंकहरूबाट यो ठूलो वित्तीय सुविधा प्राप्त गर्न र संस्थाको शाख प्रमाणित गर्न कम्पनीले क्रेडिट रेटिङ गराएको छ। रेटिङ एजेन्सी केयर रेटिंग्स नेपाल लिमिटेडले भिजन सेक्युरिटिजको यस प्रस्तावित अल्पकालीन बैंक ऋण सीमाका लागि ‘CARE-NP A2’ (केयर–एनपी ए टु) रेटिङ प्रदान गरेको छ।

पूँजी बजारमा सबल उपस्थिति जनाउँदै आएको भिजन सेक्युरिटिजले हाल निकै कम ऋण चलाउँदै आएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले बैंकहरूबाट कुल ३९ करोड ६० लाख रुपैयाँ बराबरको मात्र ऋण तथा ग्यारेन्टी सीमा उपयोग गरिरहेको छ। यसमा धेरैजसो हिस्सा नेप्से र सीडीएससीलाई बुझाउनुपर्ने बैंक ग्यारेन्टी (गैर-कोषमा आधारित सीमा) को रहेको छ।

तर, अब आगामी वर्षदेखि सुरु हुने मार्जिन कारोबार सेवाका लागि कम्पनीले आफ्नो ऋण सीमालाई उल्लेख्य रूपमा बढाएर १ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने योजना अघि सारेको हो। यो थप ऋण स्वीकृत भएपछि कम्पनीले आवश्यकता अनुसार बैंकबाट ऋण झिकेर आफ्ना ग्राहकहरूलाई शेयर किन्नका लागि मार्जिन ऋण (MTF Funding) उपलब्ध गराउनेछ।

के हो ‘CARE-NP A2’ रेटिङको अर्थ?

केयर रेटिङ्स नेपालले प्रदान गरेको ‘CARE-NP A2’ (ए टु) रेटिङलाई वित्तीय बजारमा उच्च सुरक्षाको सूचक मानिन्छ। यस रेटिङको अर्थ हो:

  • कम्पनीसँग आफ्ना अल्पकालीन वित्तीय दायित्वहरू (जस्तै बैंकको ब्याज र ऋणको किस्ता) समयमै भुक्तानी गर्न सक्ने बलियो क्षमता छ।

  • यस वित्तीय उपकरणमा कर्जा जोखिम (Credit Risk) निकै कम छ।

  • कम्पनीको वित्तीय स्वास्थ्य, आम्दानीको सुनिश्चितता र संस्थापकहरूको बलियो साखका कारण बैंकहरूले भिजन सेक्युरिटिजलाई विश्वास गरेर ढुक्कसँग ऋण उपलब्ध गराउन सक्छन्।

मार्जिन कारोबारको नीतिगत आधार

नेपाल धितोपत्र बोर्डले २०८२ साल फागुन १३ गते "मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२" जारी गरेपछि ब्रोकरहरूलाई आफ्नै संयन्त्रबाट ग्राहकलाई कर्जा दिने बाटो खुलेको हो। यसैगरी, नेपाल राष्ट्र बैंकले पनि शेयर कर्जाको सीमा (Single Obligor Limit) बढाउने र यसको जोखिम भार (Risk Weight) लाई १०० प्रतिशतमा झार्ने नीति लिएपछि बैंकिङ क्षेत्रमा तरलता सहज भई ब्रोकरहरूलाई सस्तो ब्याजदरमा ऋण लिन सहज भएको छ।

यसका साथै आगामी वर्षको बजेटमा घोषणा गरिएको सर्ट सेलिङ , इन्ट्राडे ट्रेडिङ र गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा खुला गर्ने सुधारका प्रयासहरूले बजारको कारोबार रकम बढाउने र यसबाट मार्जिन कारोबारको माग उच्च हुने अपेक्षा भिजन सेक्युरिटिजले राखेको छ।

कम्पनीको बलियो वित्तीय धरातल

सन् २००७ मा स्थापना भई विगत २० वर्षदेखि पूँजी बजारमा सक्रिय भिजन सेक्युरिटिजको नेतृत्व अध्यक्ष राज कुमार तिमल्सिनाले गरिरहेका छन्। उनीसँग बैंकिङ, लघुवित्त र बीमा क्षेत्रमा तीन दशक लामो अनुभव छ।

कम्पनीको व्यवसाय र वित्तीय अवस्था निकै सन्तोषजनक देखिन्छ। रेटिङ एजेन्सिका अनुसार नेपालका कुल ९२ स्टक ब्रोकरहरूमध्ये यो कम्पनी हाल दोस्रो स्थानमा छ। चालू आवको १० महिनामा यसको बजार हिस्सा ३.४८ प्रतिशत छ। सन् २०२६ मे महिनाको अन्त्यसम्ममा कम्पनीसँग १ लाख ३७ हजार ९४७ जना सक्रिय ग्राहकहरू रहेका छन्।आर्थिक वर्ष २०८०/८१ मा १७ करोड ४० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८१/८२ मा १४० प्रतिशतले बढेर ४१ करोड ८० लाख रुपैयाँ पुगेको छ। सो वर्ष कम्पनीले २२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालू आवको पहिलो ९ महिनामै कम्पनीको खुद नाफा १३ करोड १० लाख रुपैयाँ पुगिसकेको छ।

विद्यमान चुनौती र बजारको उतारचढाव

रेटिङ एजेन्सीका अनुसार भिजन सेक्युरिटिजको वित्तीय अवस्था बलियो रहे पनि यसका अगाडि केही अन्तर्निहित चुनौतीहरू भने रहेका छन्। कम्पनीको कुल आम्दानीको ९८ प्रतिशत हिस्सा ब्रोकर कमिसन (सेवा शुल्क) मा मात्र निर्भर छ। यसले गर्दा नेप्से परिसूचक र दैनिक कारोबार रकम घट्दा कम्पनीको आम्दानीमा सिधै ठूलो संकुचन आउने जोखिम रहन्छ।

त्यसैले, यस आम्दानीको एकाग्रतालाई कम गर्न र बजारको मन्दीको समयमा पनि व्यवसाय टिकाउनका लागि नै भिजन सेक्युरिटिजले मार्जिन कारोबार (MTF) मार्फत ब्याज आम्दानीको नयाँ स्रोत सिर्जना गर्न यो १ अर्ब ५० करोड रुपैयाँको महत्त्वाकाङ्क्षी ऋण योजना अघि सारेको हो। केयर नेपालको यो सकारात्मक रेटिङले बैंकहरूबाट ऋण प्राप्त गर्ने कम्पनीको प्रक्रियालाई थप सहज र द्रुत बनाउने विश्वास गरिएको छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।