डा. गोपाल भट्टको पद बहालीसँगै सम्पत्ति शुद्धीकरणको डण्डा, शेयर बजारलाई अर्को झड्का

Jun 29, 2026 03:53 PM Merolagani



सुवास निरौला
नेपाल धितोपत्र बोर्ड (सेबोन)मा  नियामकीय अन्यौलता चिर्दै नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरे।

अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पद तथा गोपनीयताको शपथ लिए लगत्तै सेबोनको बागडोर सम्हाल्न खुमलटार पुगेका डा. भट्टले आफ्नो पहिलो निर्णय नै शेयर बजारलाई झड्का दिने विषयमा गरेका छन्। 

बजारले नयाँ नेतृत्वबाट रोकिइरहेका आईपीओ (IPO) स्वीकृति, बजार सुधारका नयाँ औजारहरूको प्रवेश र नीतिगत लचकताको अपेक्षा गरिरहेका बेला नयाँ अध्यक्षले पहिलो निर्णय नै सम्पत्ति शुद्धीकरण निवारण (Anti-Money Laundering - AML) र लक्षित वित्तीय प्रतिबन्ध (Targeted Financial Sanctions - TFS) को विषयमा गरेपछि शेयर बजार वृत्तमा नयाँ तरङ्ग पैदा हुने देखिएको छ। यस निर्णयलाई आम लगानीकर्ता र बजार विश्लेषकहरूले आगामी दिनमा आउन सक्ने नियामकीय रस्साकस्सीको बलियो संकेतका रूपमा चित्रण गर्न सक्ने देखिएको छ।

पहिलो निर्णयमै सम्पत्ति शुद्धीकरणको डण्डा

पदभार ग्रहण गरे लगत्तै अध्यक्ष डा. भट्टले धितोपत्र बजारका सम्पूर्ण सहभागीहरू— जस्तै: सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, र धितोपत्र दलाल (ब्रोकर) हरूका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा लक्षित वित्तीय प्रतिबन्ध (TFS) सम्बन्धी कडा अभिमुखीकरण तथा तालिम सञ्चालन गर्ने निर्णयमा हस्ताक्षर गरे। नेपाल राष्ट्र बैंकमा लामो समय वित्तीय नीति, अनुसन्धान र सुपरिवेक्षण क्षेत्रमा व्यतीत गरेका डा. भट्टको यो पहिलो कदमले सेबोनमा अब 'राष्ट्र बैंक शैली' को कठोर सुशासन र नियामकीय कडाइ हाबी हुने स्पष्ट संकेत दिए।

धितोपत्र बजारमा भित्रिने अपारदर्शी लगानी र गैर कानुनी कारोबारलाई नियन्त्रण गर्न सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी व्यवस्थालाई कडाइका साथ लागू गरिने उनको पहिलो निर्णयको मुख्य अन्तर्य रहेको बुझिन्छ। यद्यपि, विगतमा नियमनका नाममा हुने अत्यधिक कस्साकस्सीले बजारको मनोबल खस्कने गरेको तीतो अनुभव बोकेका लगानीकर्ताहरू भने पहिलो गाँसमै ढुङ्गा लागेझैँ यो निर्णयबाट संशयमा पर्ने छन्।

यसअघि सोमबार बिहान अर्थ मन्त्रालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई कडा शब्दमा निर्देशन दिएका थिए। मन्त्री वाग्लेले पूँजी बजारमा साना लगानीकर्ताको लगानी सुरक्षा र बजारप्रति विश्वास बढाउन कुनै पनि प्रकारको लोभ, प्रलोभन वा बाह्य प्रभावबाट टाढा रहेर निष्पक्ष रूपमा काम गर्न निर्देशन दिएका थिए।

"धेरै बोलेर होइन, काम गरेर परिणाम देखाउनुस्," अर्थमन्त्री वाग्लेको भनाइ थियो, "मन्त्रालयबाट बोर्डको दैनिक काममा कुनै पनि प्रकारको हस्तक्षेप हुने छैन, तर मलाई हरेक हप्ता बजारको प्रगति र कार्यसम्पादनको प्रतिवेदन चाहिन्छ," अर्थमन्त्रीले बजारमा फैलिने अनावश्यक हल्ला र कृत्रिम त्रासलाई रोक्न तात्कालिक, साप्ताहिक र मासिक कार्य योजनासहित काम गर्नसमेत कडा ताकेता गरे।

लगानीकर्तामा संशय र चुनौतीको पहाड

त्रिभुवन विश्वविद्यालयबाट 'स्टक मार्केट इफिसिएन्सी' (धितोपत्र बजार प्रभावकारिता) विषयमा विद्यावारिधि (पीएचडी) गरेका डा. भट्ट सैद्धान्तिक र व्यावहारिक रूपमा अत्यन्तै परिपक्व मानिन्छन्। तर, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक रहेका कारण उनको कार्यशैली 'खुकुलोपन' भन्दा बढी 'नियन्त्रण र अनुपालन' मुखी हुने निश्चित छ।

शेयर बजार हाल नीतिगत सुधार र तरलता सहजताको पर्खाइमा छ। यस्तो संवेदनशील घडीमा धितोपत्र बोर्डको नयाँ नेतृत्वले पहिलो निर्णय नै सम्पत्ति शुद्धीकरण निवारण जस्तो जटिल र कडा विषयमा गर्दा बजारमा यसको नकारात्मक मनोवैज्ञानिक असर पर्न सक्ने जोखिम बढेको छ। बजार खुकुलो हुने अपेक्षा गरिरहेका लगानीकर्ताहरूका लागि नियामकीय अडिट, स्रोतको खोजी र कडाइको यो सुरुवात अर्को एउटा नीतिगत धक्का साबित हुन सक्छ।

नवनियुक्त अध्यक्ष डा. भट्टसामु अब एकातिर सम्पत्ति शुद्धीकरण र वित्तीय सुशासन कायम राख्नुपर्ने राष्ट्रिय-अन्तर्राष्ट्रिय दायित्व छ भने अर्कोतिर लामो समयदेखि रोकिइरहेका करिब दर्जनौँ कम्पनीका आइपिओ (IPO) हरूलाई सुरक्षित रूपमा निकास दिई बजारको गतिशीलता जोगाउनुपर्ने दोहोरो चुनौती खडा भएको छ। उनले सुशासन र बजारको विकासबिच कसरी सन्तुलन कायम गर्छन् भन्ने कुराले नै आगामी दिनमा दोस्रो बजारको यात्रा र आम लगानीकर्ताको मनोबल निर्धारण गर्नेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।