यो अमेरिकामा कुनै पनि विदेशी कम्पनीले शेयर सूचीकरणमार्फत संकलन गरेको हालसम्मकै ठूलो रकम हो।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिपको क्षेत्रमा विश्वकै अग्रणी कम्पनी 'एनभिडिया' को प्रमुख आपूर्तिकर्ता एसके हाइनिक्सले बिहीबार यसबारे जानकारी दिएको हो। कम्पनीले १७ करोड ७९ लाख 'अमेरिकी निक्षेप शेयर' प्रतिशेयर १४९ डलरका दरले बिक्री गरेको छ। यी शेयरहरूको कारोबार शुक्रबारदेखि नास्ड्याक (Nasdaq) मा सुरु हुने तयारी छ।
एआई चिप्सको मागमा आएको तीव्र उछालका कारण एसके हाइनिक्सको बजार मूल्य गत मे महिनामै १ ट्रिलियन डलरभन्दा माथि पुगिसकेको थियो। यस वर्ष दक्षिण कोरियाली बजारमा कम्पनीको शेयर मूल्य तीन गुणाभन्दा बढीले बढेको छ, जसले समग्र कोस्पी (KOSPI) सूचकांकलाई ७० प्रतिशतभन्दा बढीले वृद्धि गर्न सहयोग पुर्याएको छ।
लगानीकर्ताको आकर्षण र बजार विस्तार
विश्वको अग्रणी मेमोरी चिप निर्मातामध्ये एक रहेको यस कम्पनीलाई एआई क्षेत्रमा भइरहेको अर्बौँ डलरको लगानीले ठूलो प्रोत्साहन दिएको छ। एसके हाइनिक्सको यो प्रस्तावमा लगानीकर्ताहरूको माग उपलब्ध शेयर संख्याभन्दा सात गुणा बढी देखिएको छ, जसले एआई आपूर्ति शृङ्खलामा रहेका कम्पनीहरूप्रति लगानीकर्ताको उच्च रुचि झल्काउँछ।
सियोल नेसनल युनिभर्सिटीका वित्त प्राध्यापक जावोन चोईका अनुसार, अमेरिकी शेयर बजारमा सूचीकृत हुनाले एसके हाइनिक्सलाई विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रबाट लगानी जुटाउन सहज हुनेछ। यो सूचीकरणलाई बजार विज्ञहरूले मेमोरी चिप उद्योगप्रति लगानीकर्ताको उत्साह मापन गर्ने 'बेन्चमार्क' का रूपमा समेत हेरेका छन्।
प्रतिस्पर्धा र भावी योजना
एआईको लहरले शेयर बजारमा पूँजी जुटाउने होड नै चलेको छ। गत जुनमा 'ग्रोक एआई' को मालिक स्पेसएक्सले ८५.७ अर्ब डलर जुटाएको थियो भने एआई विकासकर्ता कम्पनीहरू एन्थ्रोपिक र ओपनएआई पनि १ ट्रिलियन डलरभन्दा बढीको मूल्याङ्कनका साथ सार्वजनिक रूपमा शेयर जारी गर्ने तयारीमा छन्।
एसके हाइनिक्सले आगामी वर्षहरूमा दक्षिण कोरियाको चिप निर्माण र एआई क्षमता विकासका लागि ठूलो लगानी गर्ने प्रतिबद्धता जनाएको छ। कोरियाली सरकारले पनि एसके हाइनिक्स र सामसुङसँगको साझेदारीमा ८८० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरिसकेको छ।
हाल एसके हाइनिक्स र सामसुङ दुवैको बजार मूल्य १ ट्रिलियन डलर नाघेको छ। योसँगै उनीहरू एनभिडिया, एप्पल, माइक्रोसफ्ट र अल्फाबेट जस्ता विश्वकै शक्तिशाली प्रविधि कम्पनीहरूको समूहमा सामेल भएका छन्।