अमेरिकाको विदेश मन्त्रालयले शनिबार जारी गरेकाे विज्ञप्तिमा विशेष गरी पश्चिम एसियामा रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन र तीव्र रूपमा परिवर्तन भइरहेका सुरक्षा घटनाक्रमबारे निरन्तर जानकारी राख्न आग्रह गरिएको छ ।
मन्त्रालयले नागरिकलाई स्थानीय समाचार नियमित रूपमा हेर्न, आफ्नो सबैभन्दा नजिकको अमेरिकी दूतावास वा वाणिज्य दूतावासले जारी गर्ने सुरक्षा निर्देशनको पालना गर्न तथा आवश्यक परे तत्काल सुरक्षात्मक कदम चाल्न सल्लाह दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “पश्चिम एसियामा बढ्दो तनावका कारण सुरक्षा वातावरण जटिल बनेको छ । परिस्थिति अचानक बिग्रन सक्ने भएकाले सबै अमेरिकी नागरिकले उच्च सतर्कता अपनाउनुपर्छ ।”
विदेश मन्त्रालयले क्षेत्रीय तनावका कारण अन्तर्राष्ट्रिय हवाई सेवा प्रभावित हुन सक्ने जनाएको छ । उडान रद्द, ढिलाइ वा आवश्यकताअनुसार हवाई क्षेत्र अस्थायी रूपमा बन्द हुन सक्ने भएकाले यात्रुलाई यात्रा योजना बनाउँदा सावधानी अपनाउन भनिएको छ ।