'बैंकका सीईओलाई भविष्यसमा समेत अयोग्य हुनेगरी कारबाही गर्न हुँदैन'

Jul 19, 2026 04:50 PM Merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुशी राणाले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा सञ्चालकलाई भविष्यमा अयोग्य ठहर गर्नेगरी कारबाही गर्न नहुने बताइन्।

प्रतिनिधि सभाको अर्थ समितिको आईतवार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसद राणाले यस्तो बताएकी हुन् । उनले सामान्य अनुशासनको कारबाही वा सचेत गराएकै आधारमा बैंकका सीईओ वा सञ्चालकलाई भविष्यमा समेत अयोग्य ठहर गर्ने गरी कारबाही हुने व्यवस्था राखिएमा बैंकिङ क्षेत्रमा नेतृत्व संकट उत्पन्न हुनसक्ने चेतावनी दिइन् । सामान्य चेतावनी, लिखित चेतावनी वा जरिवाना जस्ता साना अनुशासनात्मक कारबाहीलाई समेत भविष्यमा अयोग्य हुने आधार बनाएमा सक्षम व्यक्तिहरू बैंकको नेतृत्व सम्हाल्न नआउने अवस्था सिर्जना हुने उनको तर्क छ ।

उनले भनिन्, ‘सामान्य प्राकृतिक कारबाहीमा राष्ट्र बैंकले सचेत गराउने मात्रै हो । लिखित चेतावनी अथवा जरिवाना गरेर तलब सुविधा रोक्का गर्ने, सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत सीईओलाई भविष्यमा समेत अयोग्य ठहर्ने भनेपछि भोलि कोही पनि सीईओहरु चाहीँ काम गर्न नआउलान् । किनभने यो त सबैलाई डर भयो । एउटा सानो सचेत मात्र गराएकोमा पनि उनीहरू निलम्बन नै हुने अथवा माइनर डिसिप्लिनरी एक्शनलाई पनि ठूलो हिसावले लियो भने मेजर डिसिप्लिनरी एक्सनमा लियो भने त पछि गएर बैंकमा कोही पनि सीईओ बनेर अथवा चेयरम्यान बनेर आउन खोज्दैनन् ।’

सांसद राणाले गभर्नर नियुक्तिको योग्यतासम्बन्धी प्रस्तावित व्यवस्थामा पनि असन्तुष्टी जनाइन् । ‘क’ वर्गका वाणिज्य बैंकका पूर्वसीईओलाई गभर्नर बन्न अयोग्य बनाउनु उचित नहुने उनको धारणा थियो । बरु दुई वा तीन वर्षको ‘कुलिङ पिरियड’ तोकेर उनीहरूलाई गभर्नर बन्ने अवसर दिनुपर्नेमा उनले जोड दिइन् ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।