मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री

Jul 21, 2026 03:29 PM Merolagani



प्रधानमन्त्री बालेन्द्र साहले मानिस विदेश निर्यात गरेर मात्रै देश नबन्ने बताएका छन् । मंगलवार तयारी पोशाक उद्योग संघका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री साहले देश बनाउन मानिस नभई मान्छले उत्पादन गरेका सामग्री निर्यात गर्नुपर्ने बताएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले जानकारी दिए।

 

प्रधानमन्त्री साहले तयारी पोशाकको निर्यातमा विशेष जोड दिएको अध्यक्ष पाण्डेले बताए । प्रधानमन्त्री साहले सरकारले तयारी पोशाक उद्योगका समस्या समाधान, निर्यात विस्तार र लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राखेको पनि बताए। प्रधानमन्त्री साहले तयारी पोशाक उद्योग बंगलादेश, भियतनाम, चीन, भारत र श्रीलंकाभन्दा पछाडि पर्नुको कारणबारे पनि जिज्ञासा पनि राखेका थिए ।

अध्यक्ष पाण्डेकाअनुसार तयारी पोशाक उद्योगलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने विषयमा बुँदागत छलफल भएको छ । पोशाक उद्योगसँग सम्बन्धित मन्त्रालयमा रोकिएका काम तत्काल समाधान गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । अमेरिका लगायतका मुलुकसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए), वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) भित्र्याउने, बहुराष्ट्रिय कम्पनी आकर्षित गर्ने तथा दुई दशकदेखि बन्द रहेका हेटौंडा कपडा उद्योगजस्ता रुग्ण उद्योग पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष पाण्डेले बताए ।

अध्यक्ष पाण्डेकाअनुसार ग्रीन गार्मेन्ट भिलेज स्थापना गरी काठमाडौं उपत्यकाभर छरिएका गार्मेन्ट उद्योगलाई एकीकृत गर्ने तथा त्यसलाई औद्योगिक पर्यटनसँग जोड्ने अवधारणामा पनि प्रधानमन्त्रीले चासो देखाएका थिए । प्रधानमन्त्री साहले उद्योगीहरूलाई स्पष्ट कार्ययोजना ल्याउन आग्रह गर्दै प्लान्ट–बेस्ड र एनिमल–बेस्ड फाइबर उत्पादन, कपास खेती, फाइबरदेखि फ्याब्रिक र फ्याब्रिकदेखि फेसन तथा निर्यातको विस्तारमा जोड दिए । उनले अमेरिकामा ‘फ्लेमेबिलिटी’ परीक्षणका कारण रोकिएका नेपाली तयारी पोशाकको निर्यात सहजीकरणका लागि परराष्ट्र मन्त्रालयलाई आवश्यक पहल गर्न पनि निर्देशन दिए । सरकारले आवश्यक नीतिगत सुधार, एफटीए विस्तार र अन्तर्राष्ट्रिय बजारसँग प्रभावकारी समन्वय हुन सकेमा निर्यातलाई १० देखि २० गुणासम्म विस्तार गर्न सकिने अध्यक्ष पाण्डेले बताए । अध्यक्ष पाण्डेले गिरिजाप्रसाद कोईरालापछि पहिलो पटक नेपालको प्रधानमन्त्रीले तयारी पोशाक उद्योगीहरुसँग छलफल गरेको बताए । यसले आफूहरुलाई उत्साहित बनाएको उनको भनाई छ ।

उनले भने, ‘सम्माननीयज्यूले विशेष गरेर तयारी पोशाक उद्योग संघसँग आवद्ध उद्योगहरूको के समस्या छ, यसलाई कसरी बढाउन सकिन्छ, बंगलादेश, भियतनाम, चाइना, इन्डिया, श्रीलंका लगायतका मुलुकहरू धेरै अगाडि बढे, हामी किन पछाडि पर्यौं, यसका लागि के गर्न सकिन्छ भनेर बोलाउनुभएको थियो । यसमा चुनौती के छ, अवसर के छ, खुल्ला बोर्डरले गर्दा चोरी पैठारी कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो । सन् २००५ भन्दा अगाडिको मल्टिफाइवर एग्रिमेन्टको अवस्थामा तयारी पोशाकलाई फर्काएर अर्थतन्त्रलाई कसरी माथि पुर्याउन सकिन्छ भनेर बुँदागत रूपमा छलफल भयो । यो हाम्रो इतिहासमै सराहनीय छ । पहिला गिरिजाप्रसाद कोइराला आफैँ आउनुहुन्थ्यो, त्यसपछिको समयमा यस्तो सकारात्मक भाइब्रेसन र आत्मीयता महशुस भएको पहिलो पटक हो । हामीले मन्त्रालयहरूमा रोकिएका कामहरूको जानकारी दियौं । उहाँले तुरुन्तै निर्देशन दिएर सम्बन्धित मन्त्रालयमा समस्या समाधान गर्न भन्नुभयो । एफ.टी.ए. कसरी विस्तार गर्ने, अमेरिकासँग व्यापार कसरी बढाउने, फरेन डाइरेक्ट इन्भेष्टमेन्ट र बहुराष्ट्रिय कम्पनीहरूलाई कसरी भित्र्याउने भन्ने विषयमा कुरा भयो । २० औं वर्षदेखि बन्द रहेका तयारी पोशाकका रुग्ण उद्योगहरू, जस्तै हेटौंडा कपडा उद्योग, खुलाउने बारेमा पनि कुरा भयो । मन्त्रालयमा समन्वय गरेर काउन्सिलको रूपमा यसलाई विकास गर्ने र अर्थतन्त्रको मेरुदण्ड बनाउने उहाँको चाहना छ । वाणिज्य मन्त्रालयका सचिवसँग पनि भेटघाटको समन्वय भएको छ । ग्रीन गार्मेन्ट भिलेजको कुरा भयो, शहरभरि छरिएका गार्मेन्टहरूलाई एकै ठाउँमा व्यवस्थित गर्ने र इन्डस्ट्रियल टुरिजमको रूपमा विकास गर्ने उहाँको सोच छ । सम्माननीयज्यूसँग करिव एक घण्टा छलफल भयो, हामी धेरै सकारात्मक छौं । उहाँले भन्नुभयो–तपाईंहरूले नै प्लान ल्याउनुस्, के के गर्ने हो भन्नुस् । प्लान्ट बेस्ड फाइबर, एनिमल बेस्ड फाइबर, कपास खेती, फाइबरदेखि फ्याब्रिक र फ्याब्रिकदेखि फेशन अनि निर्यातको चक्र कसरी पूरा गर्ने भन्नेमा जोड दिनुभयो । युवाहरूलाई ट्रेनिङ स्कुल, लगानीको वातावरण र विकास साझेदारहरूसँगको सहकार्यका कुरा भए । अमेरिकामा ‘फ्लेमेबिलिटी’ टेस्टको कारणले रोकिएका सामानहरूको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयलाई तुरुन्तै निर्देशन दिनुभयो । सरकार पुर्ण निजी क्षेत्रमैत्री छ भन्ने हामीलाई भान भएको छ, देशको अर्थतन्त्र सुधार नगरिकन देश बन्दैन, मान्छे निर्यात गरेर देश बन्दैन, मान्छेले उत्पादन गरेको बस्तु निर्यात गरे मात्रै देश भन्छ, भन्ने उहाँले प्रष्ट धारणा राख्नुभएको छ, त्यसबाट हामी सम्पूर्ण उत्साहित भएका छौँ ।’

प्रधानमन्त्री साहले उद्योगीसँग समस्या मात्रै नभएर समाधान पनि लिएर आउन आग्रह गरेका छन् । तयारी पोशाक उद्योग संघका महासचिव भीमकुमार गिरीकाअनुसार समस्यासँगै समाधान पनि लिएर आए तत्काल समस्या समाधान गर्न सकिने प्रधामन्त्रीको भनाई छ । साथै शहरमा मात्रै केन्द्रित नभई ग्रामिण क्षेत्रमा पनि उद्योग सञ्चालन गर्न आग्रह गरेको उनले बताए ।

साथै, तयारी पोशाक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थलगायत समाग्रीहरु नेपालमै उत्पादन गर्न सक्षम हुनुपर्ने प्रधानमन्त्री साहको भनाइ छ । संघकाअनुसार नेपालबाट वार्षिक करिव १० अर्ब रुपैयाँ बराबरको तयारी पोशाक निर्यात भइरहेको छ । छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा थिए ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।