बिहीबार विभाग पुगेका अर्थमन्त्री वाग्लेले नयाँ बजेटको प्रभावकारी कार्यान्वयन र आर्थिक वर्षका लागि तोकिएको राजस्व संकलनको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे विस्तृत जानकारी लिएका हुन् । सरकारले लिएको आर्थिक लक्ष्य पूरा गर्न राजस्व प्रशासनको भूमिका महत्वपूर्ण भन्दै उनले निर्धारित समयमै कार्ययोजना अनुसार अघि बढ्न निर्देशन दिएका हुन् ।
अनुगमन कार्यक्रममा अर्थमन्त्री र अर्थसचिव घनश्याम उपाध्यायले विभागका साथै देशभर रहेका मातहतका कार्यालयका कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट समेत सम्बोधन गर्दै निर्देशन दिएका थिए । उनीहरूले कर प्रशासनलाई थप चुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिए ।
सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना, कर प्रणालीको अवस्था र राजस्व संकलनको लक्ष्य हासिल गर्न तय गरिएका रणनीतिक योजनाबारे प्रस्तुतीकरण गरेका थिए । महानिर्देशक भुसालले विभागले करदाता सेवालाई प्रभावकारी बनाउन र राजस्व चुहावट नियन्त्रण गर्न गरिरहेका प्रयासबारे समेत मन्त्रीलाई अवगत गराएका थिए ।पछिल्लो समय सरकारले राजस्वको दायरा बढाउने र लक्ष्यअनुसारको संकलन गर्ने दबाब झेलिरहेका बेला अर्थमन्त्री आफैँ विभाग पुगेर सक्रियता देखाउन थालेका हुन् ।