सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङका विद्यार्थी दीक्षित, नयाँ एआई कार्यक्रमको घोषणा

Jul 24, 2026 05:27 PM Merolagani



सामसङ नेपालले आफ्नो ‘सामसङ इनोभेसन क्याम्पस’अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको छ। 

नेपालको डिजिटल प्रतिभा विकास गर्ने प्रतिबद्धता स्वरूप कम्पनीले यसका साथै नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) कोर्सका लागि आवेदन समेत खुला गरेको छ।

सन् २०२५ डिसेम्बर २२ देखि २०२६ जुन ३० सम्म सञ्चालित कोडिङ र प्रोग्रामिङ कोर्समा विद्यार्थीहरूले व्यावहारिक प्राविधिक सीप, प्रोजेक्ट अनुभव र उद्योग क्षेत्रको अनुभव हासिल गरेका थिए। एक विशेष समारोहका बीच कोर्स पूरा गर्ने स्नातकहरूलाई सम्मान गरिएको थियो।

दीक्षान्त समारोहमा बोल्दै सामसङ नेपालका प्रबन्ध निर्देशक चङ् उक जङले भने, ‘गत डिसेम्बरमा नेपाल आउँदा मैले यहाँका युवाहरूमा ठूलो क्षमता देखेको थिएँ। आज त्यो क्षमता वास्तविक उपलब्धिमा परिणत भएको देख्दा मलाई गर्व लागेको छ। आर्टिफिसियल इन्टेलिजेन्सले हरेक उद्योगलाई पुनः परिभाषित गरिरहेको बेला डिजिटल प्रतिभाको विकास झनै महत्त्वपूर्ण भएको छ। सामसङ इनोभेसन क्याम्पसमार्फत हामी युवाहरूलाई आवश्यक सीप, आत्मविश्वास र नवीन सोच प्रदान गर्दै नेपालको डिजिटल भविष्यको नेतृत्व गर्न तयार गरिरहेका छौँ।’

सामसङको विश्वव्यापी सीएसआर भिजन ‘भोलिका लागि सँगै मानिसहरूलाई सक्षम बनाउँदै’ अन्तर्गत सन् २०२३ देखि नेपालमा यो कार्यक्रम सुरु गरिएको हो।

यसले युवाहरूलाई उदीयमान प्रविधिमा दक्ष बनाउनुका साथै सञ्चार, सहकार्य र आलोचनात्मक सोच जस्ता कार्यस्थलका लागि आवश्यक क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउँदै आएको छ।

नयाँ एआई कार्यक्रम र भविष्यको योजना

विश्वभर एआईले ल्याएको परिवर्तन र यस क्षेत्रमा बढ्दो दक्ष जनशक्तिको मागलाई सम्बोधन गर्न सामसङले नयाँ एआई कोर्स सुरु गरेको हो। यो कोर्स व्यावहारिक सिकाइमा आधारित हुनेछ, जसले सहभागीहरूलाई नेपालको विकासका आवश्यकताहरू समाधान गर्न नवीन प्रविधिको प्रयोग गर्न सिकाउनेछ।

कक्षाकोठाको सिकाइ बाहेक, सामसङ नेपालले आफ्ना कर्मचारी र उद्योग विज्ञहरू मार्फत विद्यार्थीहरूलाई मेन्टरसिप, करियर मार्गदर्शन र प्रोजेक्टहरूमा सहयोग जारी राख्नेछ। साथै, कम्पनीले ‘सामसङ इनोभेसन क्याम्पस एलुम्नाई नेटवर्क’ स्थापना गर्ने योजना बनाएको छ, जसले पूर्व विद्यार्थीहरूलाई एकअर्कासँग जोडिन र निरन्तर सिक्न सघाउनेछ।

नेपालमा एआई इकोसिस्टमको निर्माण गर्न र डिजिटल रूपान्तरणलाई गति दिन शैक्षिक क्षेत्र, उद्योग र सरकारबीचको बलियो सहकार्य आवश्यक रहेको सामसङको विश्वास छ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।