मार्जिन ट्रेडिङ सेवा सुरु गर्न कोहिनूर इन्भेष्टमेन्टले पनि गरायो रेटिङ, केयर रेटिङ नेपालबाट पायो ‘A3’ रेटिङ

Jul 28, 2026 11:07 AM Merolagani



नेपालको पूँजी बजारमा मार्जिन ट्रेडिङ (मार्जिन कारोबार) सेवा विस्तार गर्ने उद्देश्यका साथ कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्राइभेट लिमिटेडले आफ्नो कर्जा क्षमताको रेटिङ गराएको छ। 

केयर रेटिङ्स नेपालले कम्पनीको अल्पकालीन बैंक कर्जा सुविधाका लागि ‘CARE-NP A3’ रेटिङ प्रदान गरेको हो। कम्पनीले कुल २ अर्ब रुपैयाँ बराबरको बैंक कर्जाका लागि यो रेटिङ प्राप्त गरेको हो। नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ कार्यान्वयनमा ल्याएपछि ब्रोकर कम्पनीहरूलाई आफ्नै स्रोत वा बैंकबाट ऋण लिएर लगानीकर्ताहरूलाई शेयर खरिदका लागि कर्जा उपलब्ध गराउने बाटो खुलेको छ। सोही व्यवस्था बमोजिम आवश्यक वित्तीय स्रोत जुटाउन कोहिनूरले यो रेटिङ गराएको हो।

रेटिङका सबल पक्ष र वित्तीय अवस्था

रेटिङ एजेन्सी केयर नेपालका अनुसार कोहिनूरको २० वर्ष लामो सञ्चालन अनुभव, अनुभवी प्रवर्द्धक र ठूलो ग्राहक आधारले यसको रेटिङलाई सकारात्मक प्रभाव पारेको छ। हाल कम्पनीको १ लाख २१ हजारभन्दा बढी सक्रिय ग्राहक रहेका छन्। ब्रोकर नं. ३५ को रुपमा परिचित यस कम्पनीको बजार हिस्सा करिब १.९८ प्रतिशत छ र यो ९२ वटा ब्रोकरहरूमध्ये १२औँ स्थानमा पर्न सफल भएको छ।

 

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी २१३ मिलियन रुपैयाँ र खुद नाफा १०२ मिलियन रुपैयाँ रहेको थियो। हाल कम्पनीको आम्दानी मुख्यतया ब्रोकर कमिसनमा मात्र निर्भर रहे पनि मार्जिन ट्रेडिङ सुरु भएपछि ब्याज आम्दानीमार्फत आयस्रोत विविधीकरण हुने अपेक्षा गरिएको छ।

मार्जिन ट्रेडिङमा अन्य ब्रोकरहरूको होड

मार्जिन कारोबार सेवा सुरु गर्नका लागि कोहिनूर मात्र होइन, अन्य थुप्रै ठूला ब्रोकर कम्पनीहरू पनि रेटिङ गराई बैंकबाट ऋण लिने तयारीमा जुटेका छन्। यसअघि नै नेपालको पहिलो मार्जिन कारोबार सेवा प्रदायकको रुपमा नासा सेक्युरिटिजले यो सेवा सुरु गरिसकेको छ। नासाले आफ्नै पूँजी र बैंक कर्जामार्फत लगानीकर्तालाई मार्जिन सुविधा दिँदै आएको छ।

त्यसैगरी, भिजन सेक्युरिटिजले पनि १ अर्ब ५० करोड रुपैयाँको कर्जाका लागि केयर नेपालबाट ‘CARE-NP A2’ रेटिङ प्राप्त गरिसकेको छ। भर्खरै मात्र डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (Dynamic Money Managers) ले पनि १ अर्ब ५० करोड रुपैयाँकै कर्जाका लागि कोहिनूर सरह नै ‘CARE-NP A3’ रेटिङ पाएको छ।

यस बाहेक इम्पेरियल सेक्युरिटिज (Imperial Securities) र त्रिशक्ति सेक्युरिटिज (Trishakti Securities) ले पनि मार्जिन कारोबारका लागि कर्जा रेटिङ प्रक्रिया पूरा गरिसकेका छन्। नेप्सेले हालसम्म ३१ वटा ब्रोकरलाई मार्जिन कारोबारको अनुमति दिइसकेको छ भने २ दर्जनभन्दा बढी कम्पनीहरू आशय पत्र  पाएर प्रक्रियामा रहेका छन्।

लगानीकर्तालाई के फाइदा हुन्छ ?

ब्रोकरहरूले मार्जिन ट्रेडिङ सुरु गरेपछि लगानीकर्ताहरूले शेयर किन्नका लागि बैंक नै धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ। लगानीकर्ताले आफूसँग भएको शेयर धितो राखेर ब्रोकरबाटै थप शेयर किन्न कर्जा पाउनेछन्। यसले बजारमा तरलता बढाउनुका साथै कारोबार रकममा समेत वृद्धि ल्याउने विश्वास गरिएको छ।

सरकारले ल्याएको सर्ट सेलिङ, इन्ट्राडे कारोबार र गैरआवासीय नेपालीलाई बजारमा प्रवेश दिने जस्ता नीतिहरूले भविष्यमा ब्रोकरहरूको व्यवसाय अझै विस्तार हुने देखिन्छ।