अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका प्रमुख उद्योगपतिहरुसँग बजेट कार्यान्वयन तथा औद्योगिक क्षेत्रका समसामयिक विषयमा छलफल गर्ने भएका छन्।
अर्थमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे अर्थ मन्त्रालयमा बस्नेछ। छलफलमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइरहेका करिब तीन दर्जन उद्योगपतिहरु सहभागी हुनेछन्।
बैठकमा बजेटको प्रभावकारी कार्यान्वयन, औद्योगिक वातावरण सुधार, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रका सुझावबारे विशेष छलफल हुने जनाइएको छ।
छलफलमा अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दवाडी तथा अर्थ मन्त्रालयका विभिन्न महाशाखा र विभागका उच्च अधिकारीहरूको पनि सहभागिता रहनेछ।