केही समययता प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित हुनुहुन्छ । निजी क्षेत्रसँगको छलफलमा अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका डा. वाग्लेलाई प्रधानमन्त्रीले बेवास्ता गरेका समाचारहरु प्रकाशित भएपछि उनले मंगलवार अर्थ मन्त्रालयमा उद्यमीसँगको छलफलमा यस्तो प्रष्टिकरण दिएका हुन् । उनले आर्थिक मुद्दामा प्रधानमन्त्रीको तहबाट लामो समययताकै सबैभन्दा गहिरो चासो र समन्वय भइरहेको पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा रहेको तथा उद्यमी–व्यवसायीले उठाएका विषयमा तत्काल आफू तथा सम्बन्धित मन्त्रीहरूसँग समन्वय र फलोअप गर्ने गरेको बताए । उनले सरकार निजी क्षेत्रको लगानी सुरक्षित गर्न तथा प्रतिफलको सुनिश्चितता दिने कुरामा प्रतिवद्ध रहेको दोहोर्याए ।
उनले भने, ‘अब हाम्रो साझा एजेन्डा भनेको इन्भेस्टमेन्ट नै हो । सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा हुनुहुन्छ । मुख्य विषयहरूमा उहाँले सोझै र तत्काल म लगायतका मन्त्रीहरुसँग फलोअप गरिरहनुभएको छ । बजारमा एउटा मसला भाछ अर्थमन्त्री देखिएन भन्ने छ । यो सोझै सम्माननीयज्यूसँग यहाँहरूको प्रत्यक्ष ’नो फिल्टर’, ‘नो इन्टरमिडियसन’ सोझै होस् भन्ने व्यवसायी र प्रधानमन्त्रीज्यूको चाहना पनि छ । प्रधानमन्त्रीज्यू आफै पनि त्यति सार्वजनिक कार्यक्रमहरूमा नदेखिने भएको हुनाले हामीले यो काम सल्लाहमा नै गरेका हौँ । व्यवसायी तथा उद्यमीले उठाएका प्रधान मुद्दाहरू जहिले पनि उहाँले सिधै हामीलाई फोन गरेर ‘यो यस्तो रहेछ नि, फलानो वस्तुको दर यस्तो रहेछ नि’ भनेर डिटेलमा बुझ्नुहुन्छ । हाम्रो कुरामा निरन्तर संवाद पनि भइरहेको हुन्छ । प्रत्येक क्याबिनेट पछि प्रधानमन्त्रीज्यूसँग म बस्छु । तर बजारमा चाहिँ अनेक अफवाहहरू, झुठहरू फैलाइन्छ । यो सब कुराहरु पत्याउन छोडिसके जस्तो लाग्छ । यति क्लोज कोर्डिनेसनमा आर्थिक मुद्दाहरूमा सायद प्रधानमन्त्रीकै तहमा यति गहिरो चासो राखिएको यो धेरै लामो समय पछि हो । अर्थमन्त्री–प्रधानमन्त्रीको क्लोज कोर्डिनेसन डिस्कसनमा यो कुराहरू भइराखेका छन् । बजारका हल्लाहरूको पछाडि नलागिदिनुहोला ।’
उनले मुलुकका आर्थिक मुद्दाहरुमा प्रधानमन्त्री साहसँग निरन्तर गहिरो छलफल भइरहेको भन्दै बजारका हल्लाहरुको पछाडि नलाग्न आग्रह गरे ।