कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘प्रयोगमा रहेका सवारी साधनबाट उत्सर्जन हुने प्रदूषणको सीमा सम्बन्धी मापदण्ड, २०८३’ को मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव मागेको छ।
नयाँ मापदण्ड अनुसार सवारी साधनलाई दर्ता वर्षका आधारमा चार वर्गमा विभाजन गरिएको छ । जसमा २०५६ अघि दर्ता भएका, २०५६ देखि २०६९ सम्म दर्ता भएका, २०६९ देखि २०८२ सम्म दर्ता भएका र २०८२ पछि दर्ता हुने सवारी साधन गरी चार वर्गमा विभाजन गरिएको छ ।
हाल सबै सवारीलाई एउटै मापदण्ड लागू भइरहेकोमा अब पुराना सवारीलाई केही खुकुलो र नयाँ सवारीलाई निकै कडा मापदण्ड तोकिएको छ। विशेषगरी २०८२ पछि दर्ता हुने सवारीको हकमा प्रदूषण उत्सर्जनको सीमा निकै न्यून राखिएको छ।
त्यस्तै पेट्रोल गाडीको हकमा कार्बनमोनोअक्साइड र हाइड्रोकार्बनका साथै आधुनिक गाडीमा ‘लाम्डा’ (हावा र इन्धनको अनुपात) परीक्षण गरिनेछ। डिजेल गाडीको हकमा धुँवाको घनत्व (स्मोक ओपासिटी) मापन गरिनेछ भने सीएनजीरएलपीजी गाडीमा हाइड्रोकार्बनको नयाँ विधिबाट परीक्षण हुनेछ।
यो मापदण्ड राजपत्रमा प्रकाशित भएको ९१ औँ दिनबाट लागू हुनेछ। डिजेल बाहेकका सवारीलाई देशभर र डिजेल सवारीको हकमा काठमाडौँ उपत्यकासहित महानगर र उपमहानगरपालिकाहरूमा यो नियम कडाइका साथ लागू गरिनेछ।
ट्रयाक्टर, पावर टिलर, डोजर, एस्काभेटर जस्ता निर्माण उपकरण र सैनिक प्रयोजनका विशेष सवारीलाई भने यो मापदण्डमा राखिएको छैन।
मन्त्रालयका अनुसार प्राप्त सुझावहरू समेटेर मस्यौदालाई अन्तिम रूप दिई छिट्टै कार्यान्वयनमा ल्याइनेछ। यसले पुराना र धेरै धुँवा फाल्ने सवारी साधनलाई विस्थापन गर्न वा मर्मत गरी वातावरणमैत्री बनाउन दबाब दिने अपेक्षा गरिएको छ।