ललितपुरको बागमती गाउँपालिकास्थित कान्तिलोकपथ साउन १२ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खस्दा अरनिको राजमार्गमा पनि यातायात सञ्चालन हुन सकेको छैन।
दोलखाको लामासाँघु–रामेछाप सडक तथा रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक खण्ड बाढीका कारण पूर्ण रूपमा बन्द भएका छन्। दोलखामा भने वैकल्पिक मार्ग प्रयोग गरी यातायात सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
कोशी प्रदेशको इलाममा निरन्तर वर्षाका कारण मेची राजमार्ग अवरुद्ध भएको छ। भोजपुरमा मध्यपहाडी लोकमार्ग बाढीको प्रभावका कारण एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रेको बीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी, मकवानपुरको कान्तिलोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालन बन्द रहनेछ।
गण्डकी प्रदेशको बाग्लुङमा कालीगण्डकी करिडोर पहिरोका कारण एकतर्फी सञ्चालनमा छ। कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी करिडोर तथा जाजरकोट–डोल्पा सडक खण्ड पनि वर्षा र बाढीका कारण अवरुद्ध भएका छन्।
वर्षा जारी रहेकाले सडकको अवस्था कुनै पनि समयमा परिवर्तन हुन सक्ने भन्दै प्रहरीले यात्रामा निस्कनुअघि स्थानीय प्रहरी, यातायात व्यवसायी वा सम्बन्धित निकायसँग सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।