परिसंघले बिहीबार (साउन १४ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै सबै पक्षलाई सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न हार्दिक अपिल गरेको हो ।
परिसंघले नेपाल सदियौंदेखि धार्मिक सहिष्णुता र आपसी एकता कायम रहेको मुलुक भएको स्मरण गराउँदै यो विशिष्ट पहिचानलाई कायम राख्नुपर्नेमा जोड दिएको छ । कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट नभई वार्ताको माध्यमबाट मात्र सम्भव हुने परिसंघको ठहर छ ।
'मुलुकको अर्थतन्त्र अहिले नै अप्ठ्यारो अवस्थामा छ । रोजगारी सिर्जना गर्दै अर्थतन्त्रलाई अगाडि बढाउनु पर्ने समयमा यस्ता घटनाले सबैलाई निराश बनाउँछ', विज्ञप्तिमा भनिएको छ, 'आन्दोलनका क्रममा हुने तोडफोड, बजार र पसल बन्द तथा लुटपाटका घटनाले उद्योग र व्यवसाय क्षेत्रलाई चिन्तित बनाएको छ ।'
परिसंघले आम नागरिक तथा उद्योगी व्यवसायीलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकार र सरोकारवाला निकायसँग माग गरेको छ । साथै, देशभर रहेका आफ्ना प्रदेश तथा जिल्ला संघहरू र निजी क्षेत्रका अन्य संस्थाहरूलाई पनि सामाजिक संघ–संस्थाहरूसँगको सहकार्यमा सद्भाव र्याली र शान्ति स्थापनाका गतिविधिहरू सञ्चालन गर्न परिसंघले आह्वान गरेको छ ।