जनकपुरधाममा कर्फ्युका कारण रेल सेवा बन्द

Jul 31, 2026 11:21 AM Merolagani



स्थानीय प्रशासनले जनकपुरधाममा कर्फ्यु आदेश जारी गरेपछि जयनगर-जनकपुर-भंगहा रेल सेवा बन्द भएको छ ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल रेल्वे कम्पनीले रेल सेवा स्थगित गर्ने निर्णय गरेको हो ।

प्रशासनद्वारा जारी कर्फ्युका कारण यात्रुहरूको सुरक्षामा पर्न सक्ने जोखिमलाई ध्यानमा राखी अर्को आदेश नभएसम्मका लागि सेवा रोक्का गरिएको कम्पनीले जनाएको छ ।

नेपाल रेल्वे कम्पनीका निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहले एक सूचना जारी गर्दै कर्फ्यु अवधिभर रेल सेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिएका छन् । उनका अनुसार जयनगरदेखि धनुषाको जनकपुरधाम हुँदै महोत्तरीको भंगहासम्म चल्ने रेल सेवा अब कर्फ्यु हटेपछि मात्र पुनः सुचारु हुनेछ ।

अचानक रेल सेवा बन्द हुँदा यस भेगका यात्रुहरू भने मर्कामा परेका छन् । स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न भन्दै जनकपुरधामका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।