सुनसरीलगायतका जिल्लामा भएको अशान्तिप्रति नाडाको गम्भीर ध्यानाकर्षणः व्यावसायिक वातावरण सहज बनाउन सरकारसँग माग

Jul 31, 2026 02:26 PM Merolagani



नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पूर्वी नेपालको जिल्लाहरूमा पछिल्लो समय देखिएको अशान्ति र हिंसात्मक घटनाक्रमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एसोसिएसनका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ कि नेपाल एक बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको मुलुक हो र यहाँको सामाजिक एकता र सद्भाव नै सबैभन्दा ठूलो शक्ति हो। संविधानले शान्तिपूर्ण रूपमा आफ्ना मागहरू राख्ने अधिकार दिएको भए तापनि कुनै पनि प्रकारको हिंसात्मक गतिविधि, तोडफोड र सामाजिक सद्भावमा खलल पुर्‍याउने कार्य स्वीकार्य हुन नसक्ने नाडाले स्पष्ट पारेको छ।

अर्थतन्त्रमा प्रतिकूल प्रभावको चिन्ता

नाडाले यस्ता अशोभनीय घटनाले केवल शान्ति सुरक्षामा मात्र नभई आम नागरिकको दैनिक जनजीवन, उद्योग-व्यवसाय, वैदेशिक तथा आन्तरिक लगानी र समग्र राष्ट्रिय अर्थतन्त्रमा नै नकारात्मक असर पुर्‍याइरहेको बताएको छ। विशेष गरी व्यावसायिक क्षेत्रमा यसले ठूलो चिन्ता पैदा गरेको विज्ञप्तिमा उल्लेख छ।

सरकार र सरोकारवालासँग अपिल

विज्ञप्ति मार्फत नाडाले सम्पूर्ण सम्बन्धित पक्षहरूलाई संयमता अपनाउन र कानुनी तथा लोकतान्त्रिक प्रक्रियाबाट संवादका माध्यमले समस्याको समाधान खोज्न आग्रह गरेको छ। साथै, नेपाल सरकार र सम्बन्धित निकायहरूलाई शान्ति सुरक्षाको प्रत्याभूति गर्न, नागरिकको जिउधनको संरक्षण गर्न र बिग्रिएको व्यावसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न समेत अनुरोध गरेको छ।

अन्त्यमा, नाडाले सम्पूर्ण नेपाली नागरिकहरूलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता र आपसी सम्मान कायम राख्दै सकारात्मक भूमिका निर्वाह गर्न हार्दिक अपिल गरेको छ। एसोसिएसनका महासचिव मिलनबाबु मल्लले उक्त धारणालाई सञ्चारमाध्यम मार्फत व्यापक प्रचार-प्रसार गरिदिन समेत अनुरोध गरेका छन्।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।