कोरिया जान राहदानी बनाउनेको भिडः इपिएस आवेदनको म्याद थपियो, राहदानी विभाग दुई सिफ्टमा खुल्ने

Jul 31, 2026 02:19 PM Merolagani



दक्षिण कोरियाको रोजगारीका लागि इपिएस परीक्षाको आवेदन खुलेपछि राहदानी बनाउने र नवीकरण गर्नेको अत्यधिक भिड बढेको छ।

सेवाग्राहीको चाप र राहदानी पाउन भइरहेको ढिलाइलाई मध्यनजर गर्दै सरकारले केही महत्वपूर्ण निर्णयहरू गरेको छ ।

जसअनुसार, इपिएस कोरिया शाखाले आवेदन दिने म्याद साउन २० गतेसम्म बढाएको छ। अब म्याद सकिएका राहदानीवाहकले पनि पुरानै राहदानीको विवरण भरेर अनलाइन आवेदन दिन सक्नेछन्। भाषा र सिप परीक्षा उत्तीर्ण भएपछि ‘जब एप्लिकेसन फाराम’ भर्ने बेला मात्र नयाँ राहदानी बुझाए हुने व्यवस्था मिलाइएको छ।

राहदानी विभागमा दुई सिफ्ट र बिदामा पनि सेवा

त्रिपुरेश्वरस्थित राहदानी विभागमा थामिनसक्नु भिड भएपछि सेवालाई दुई सिफ्टमा विभाजन गरिएको छ। पहिलो सिफ्ट बिहान ७ देखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ देखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। यो व्यवस्था साउन २२ सम्म रहनेछ। साथै, सार्वजनिक बिदाका दिन (शनिबार र आइतबार) समेत बिहान १० देखि बेलुकी ४ बजेसम्म सेवा प्रवाह गरिने विभागले जनाएको छ।

नेपाल र कोरियाबीचको समझदारी अनुसार यसपटक ७ हजार २ सय कोटाका लागि आवेदन माग गरिएको छ। राहदानी विभागको प्रणालीमा आएको सुधार र आवेदन दिने इच्छुक कोही पनि नछुटून् भन्ने उद्देश्यले यी सहजीकरणका उपायहरू अपनाइएको हो।