मुन्दडाको घरमा प्रहरीले किन मार्‍यो छापा ? कारण यस्तो

Aug 03, 2026 12:41 PM Merolagani



विराटनगरका प्रतिष्ठित उद्योगी तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा सोमबार बिहानै प्रहरीले अप्रत्याशित रूपमा छापा मारेको छ।

ठूलो संख्यामा प्रहरी परिचालन गरी गरिएको यो कारबाहीको मुख्य कारण 'अवैध नगद लुकाएको' भन्ने विशेष सूचना रहेको खुलेको छ। मोरङ प्रहरीका अनुसार मुन्दडाको विराटनगर–७ स्थित निवास र कार्यालयमा करोडौँ रुपैयाँ बराबरको अवैध नगद (Source नखुलेको रकम) लुकाएर राखिएको भन्ने विशेष गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रहरीले "सर्च अपरेसन" चलाएको हो। अवैध आर्थिक कारोबार वा लुकाइएको नगद फेला पार्ने उद्देश्यले प्रहरीले सोमबार बिहानै ४ बजेदेखि मुन्दडाको निजी निवास र व्यवसायिक कार्यालयमा एकसाथ खानतलासी सुरु गरेको थियो।

कारबाहीको संवेदनशीलतालाई ध्यानमा राख्दै मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैँ मैदानमा उत्रिएका थिए। उनको नेतृत्वमा डीएसपीहरू मकेन्द्रकुमार मिश्र, सन्तोष श्रेष्ठ, लोकेन्द्रसिंह गुरु र इन्स्पेक्टर प्रवीण घिमिरेसहितको टोली परिचालन गरिएको थियो। झन्डै एक दर्जन प्रहरीका सवारीसाधन र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी मुन्दडाको घर वरपरको क्षेत्रलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो। खानतलासीका क्रममा जिल्ला प्रशासन कार्यालय र गोल्छा मोडतर्फ जाने सडकसमेत केही समयका लागि बन्द गरिएको थियो। बिहानैदेखि निवास र कार्यालयका कुनाकुना खोजी गरे पनि प्रहरीले कुनै पनि 'आपत्तिजनक सामग्री' फेला पार्न सकेन। प्रहरीले आशंका गरेको अवैध नगद, शंकास्पद कागजात वा अन्य कुनै पनि प्रमाण फेला नपरेपछि रित्तो हात फर्कनु परेको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले विशेष सूचना आएपछि त्यसको प्रमाणीकरणका लागि छापा मारिएको स्वीकार गरे। उनले भने, "हामीलाई अवैध नगद हुन सक्ने विशेष सूचना प्राप्त भएको थियो। सोही आधारमा विस्तृत खानतलासी गरियो, तर सूचना पुष्टि हुन सकेन। केही पनि फेला परेन।"

प्रहरीले सूचनाको स्रोत र अनुसन्धानको विस्तृत विषय गोप्य राखे पनि यस घटनाले विराटनगरको उद्योगी तथा व्यापारिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। विना ठोस प्रमाण प्रतिष्ठित उद्योगीको घरमा बिहानै छापा मारिएको भन्दै उद्योगीहरूले यसलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गरिरहेका छन्। 




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।