निगमले सोमबार (१८ साउन) देखि लागू हुने गरी प्रतिलिटर हवाई इन्धनमा २० रुपैयाँ मूल्य बढाएपछि वायुसेवा सञ्चालकहरूले इन्धन शुल्क (फ्युल सरचार्ज) बापतको भाडा बढाएका हुन्।
वायुसेवा कम्पनीहरूले इन्धनको मूल्य बढ्दा बढाउने र घट्दा घटाउने गरी स्वचालित प्रणाली अनुसार इन्धन शुल्क समायोजन गर्ने गर्दछन्। यसअघि असार १६ गते इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घट्दा हवाई भाडा पनि उल्लेख्य रूपमा घटेको थियो। तर, साउन १८ देखि नयाँ मूल्य लागू भएपछि यात्रुले अब बढेको दरमा टिकट काट्नुपर्ने भएको छ।
कुन गन्तव्यमा कति बढ्यो?
नयाँ दर अनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढी सेक्टरको भाडा बढेको छ। काठमाडौँबाट सबैभन्दा टाढाको आन्तरिक गन्तव्य रहेको धनगढीका लागि इन्धन शुल्क ८७९.५५ रुपैयाँ (करिब ८८०) ले बढेको छ। यस्तै, सबैभन्दा कम दूरीको काठमाडौँ–सिमरा उडानमा १८३ रुपैयाँ मात्रै थपिएको छ।
काठमाडौँबाट हुने अन्य प्रमुख उडानहरूमा पनि इन्धन शुल्क बढेको छ। जसअनुसार माउन्टेन फ्लाइटमा ६८८ रुपैयाँ, सुर्खेतमा ६९० रुपैयाँ, नेपालगन्जमा ६५४ रुपैयाँ र भद्रपुरमा ६०० रुपैयाँले भाडा बढेको छ। यस्तै विराटनगरका लागि ४७८, पोखराका लागि ३१४ र भैरहवाका लागि ४१० रुपैयाँ अतिरिक्त इन्धन शुल्क लाग्नेछ।
कुल भाडा दर कस्तो छ?
हवाई टिकटको कुल मूल्यमा इन्धन शुल्कबाहेक न्यूनतम वा अधिकतम आधारभूत भाडा, विमानस्थल सेवा शुल्क र भ्याट समावेश हुन्छ। वायुसेवा कम्पनीहरूका अनुसार गन्तव्य र माग अनुसार भाडादर फरक-फरक तोकिएको छ। हाल काठमाडौँबाट धनगढीको भाडा ६ हजारदेखि १० हजार रुपैयाँसम्म पुगेको छ। त्यस्तै भद्रपुरका लागि १७ सयदेखि ६९ सय, विराटनगरका लागि १३ सयदेखि ५५ सय र नेपालगन्जका लागि १८ सयदेखि ७४ सय रुपैयाँसम्मको रेन्जमा टिकट उपलब्ध छ।
सबैभन्दा कम भाडा सिमरा र जनकपुर सेक्टरमा रहेको छ। जनकपुरको भाडा ७ सयदेखि २९ सय र सिमराको ५ सयदेखि २ हजार रुपैयाँसम्म रहेको छ। सुगम क्षेत्रका सहरी विमानस्थल बाहेक अन्य सबै दुर्गम गन्तव्यमा पनि इन्धन शुल्क बढाइएको छ।
विभिन्न सेक्टरमा बढेको इन्धन शुल्कको विवरण:

पोखराबाट हुने उडानहरूमा पनि नेपालगन्जका लागि ४७४ रुपैयाँ, भैरहवाका लागि २५९ रुपैयाँ र भरतपुरका लागि २१८ रुपैयाँले इन्धन शुल्क बढेको वायुसेवा कम्पनीहरूले जनाएका छन्। यो नयाँ भाडादर सोमबारबाटै देशभर लागू भइसकेको छ।