बैठकमा सभामुख अर्यालले संसद् बैठकको समयमा मोबाइल तथा ल्यापटपमार्फत शेयर कारोबारलगायत बैठकको गरिमाविपरीत हुने गतिविधि नगर्न सांसदहरूलाई सचेत गराए। उनले संसद्को मर्यादा कायम राख्न सबै सांसदले निर्धारित पोशाक लगाउने, आधिकारिक लोगो अनिवार्य रूपमा प्रयोग गर्ने र चिकित्सकको सिफारिसबिना कुनै पनि प्रकारको कालो चस्मा प्रयोग नगर्न निर्देशन दिए।
पछिल्लो समय केही सांसदहरूको पोशाक र चस्माको प्रयोग संसद्भित्रै बहसको विषय बनेपछि संसद्को गरिमा र संसदीय मर्यादा कायम राख्न यस्तो व्यवस्था गरिएको हो।
सभामुखको सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरूको अनुशासन, संसद्को गरिमा र बैठक सञ्चालनलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भयो। सभामुख अर्यालले सम्बन्धित राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई आफ्ना सांसदबाट ड्रेसकोड र अनुशासनको पूर्ण पालना गराउन आग्रह गरे।