ट्रायम्फको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले भोलिदेखि सुरु हुने ‘नाइमा मोबिलिटी एक्स्पो’ मार्फत यो नयाँ मोटरसाइकल सार्वजनिक गर्न लागेको हो ।

४०० सीसी सेग्मेन्टमा आधारित यो मोटरसाइकल ट्रायम्फको इन्ट्री लेभल मोडल हो । यो मोडल भारतमा लन्च भएको केही समयपछि नेपाली बजारमा भित्रिएको हो । यसअघि बजारमा उपलब्ध रहेको चर्चित ‘स्पीड ४००’ कै प्लेटफर्ममा आधारित रहेर टी ४ लाई अझ किफायती र पहुँचयोग्य बनाइएको छ ।
मुख्य विशेषताहरू
यसमा ३९८ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४-भल्भ इन्जिन रहेको छ । यसले ३१ पीएस पावर र ३६ एनएम टर्क उत्पन्न गर्छ । यसमा ६-स्पीडको गियरबक्स जडान गरिएको छ ।
मोडर्न क्लासिक र रेट्रो रोडस्टार लुक्समा रहेको यो मोटरसाइकलमा गोलाकार एलईडी हेडलाइट, १३ लिटरको आकर्षक ट्याङ्की र नयाँ ग्राफिक्स दिइएको छ ।
डुअल च्यानल एबीएस, टर्क असिस्ट स्लिपर क्लच, युएसबी चार्जिङ पोर्ट, र नयाँ डुअल फर्म्याट एलसीडी क्लस्टर जस्ता आधुनिक फिचरहरू यसमा उपलब्ध छन् ।
मूल्य कम राख्नका लागि यसमा ४३ एमएमको टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक सस्पेन्सन सेटअप दिइएको छ ।
कति पर्ला मूल्य ?
नेपाली बजारमा हाल उपलब्ध ट्रायम्फ स्पीड ४०० को मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । स्पीड ४०० को तुलनामा यसमा केही फिचरहरू परिमार्जन गरी इन्जिन पावर समेत केही कम राखिएको छ, जसका कारण यसको मूल्य ३० देखि ५० हजार रुपैयाँसम्म सस्तो हुने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार यो ट्रायम्फ ब्रान्डकै सबैभन्दा बढी प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने मोडल बन्नेछ ।