
माउण्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीको प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी र ऋण लगानी गर्ने बैंकहरूबीच वित्तीय व्यवस्थापनसम्बन्धी औपचारिक सम्झौता भएसँगै आयोजना निर्माणको बाटो पूर्ण रूपमा खुलेको हो।
यस आयोजनामा एनएमबी बैंकले नेतृत्वदायी बैंकको रूपमा ६ अर्ब ८१ करोड रुपैयाँ लगानी गर्ने भएको छ। त्यस्तै, सानिमा बैंकले सहायक बैंकका रूपमा ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ। दुई बैंकको कुल ऋण लगानी मात्रै १० अर्ब १ करोड रुपैयाँ पुगेको छ।
आकर्षक लागत र लगानी संरचना
दूधखोला आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रुपैयाँ अनुमान गरिएको छ। कुल लागतमध्ये बैंकहरूबाट प्राप्त हुने १० अर्ब १ करोड रुपैयाँबाहेकको बाँकी रकम प्रवर्द्धक कम्पनीले इक्विटी (स्वपुँजी) मार्फत लगानी गर्नेछ। यस आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैयाँभन्दा कम हुने देखिएको छ, जसलाई जलविद्युत् क्षेत्रमा निकै आकर्षक र किफायती मानिन्छ।
वित्तीय स्रोतको सुनिश्चितता भएसँगै कम्पनीले आयोजनाको निर्माण कार्य तत्कालै अघि बढाउने तयारी गरेको छ। माउण्टेन इनर्जी लिमिटेडका अध्यक्ष प्रदिपजंग पाण्डेका अनुसार निर्माण सुरु भएको तीन वर्षभित्रै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।