एक लाख ८० हजारले अवलोकन गर्दै सकियो नाइमा मोबिलिटी एक्स्पो

Aug 17, 2026 12:42 PM Merolagani



नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आइतबार समापन भएको छ ।

साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित आइतबार सम्पन्न भएको हो ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको मेलाको समापनका दिन आइतबार ३० हजारभन्दा बढीले अवलोकन गरेका छन् । त्यस्तै एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार तथा पाँचौँ दिन शनिबार ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए । नाइमाले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो ।

समापन कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनु, एक लाख ८० हजारभन्दा बढीले अवलोकन गर्नु तथा ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनु नै यस एक्स्पोको ठूलो उपलब्धि भएको बताइन् ।

’यो एक्स्पो कुनै एक व्यक्ति वा संस्थाको मात्र सफलता होइन, नेपालको सम्पूर्ण मोबिलिटी उद्योगको सामूहिक सफलता हो, म सबै सहभागीलाई हार्दिक धन्यवाद भन्न चाहन्छु,’ उनले भनिन्, ’एक्स्पोमा नयाँ सवारीसाधन र प्रविधि प्रदर्शनसँगै ज्ञान र सिकाइलाई पनि प्राथमिकता दिएका थियौँ, एक्स्पो सवारी साधन प्रदर्शन गर्नेमात्र नभएर ज्ञान सिर्जना गर्ने प्लेटफर्म पनि बन्नुपर्छ भन्ने हाम्रो विश्वास हो ।’

एक लाख ८० हजारभन्दा बढी मानिस एक्स्पोमा आउनु नाइमा जस्तो युवा संस्थाका लागि सबैभन्दा ठूलो उत्साह र प्रोत्साहन भएको उनले बताइन् । ’यो अन्त्य होइन, सुरुवात हो,’ उनले भनिन्, ’आगामी दिनमा अझ ठूलो, अझ राम्रो र अझ बलियो भएर अघि बढ्ने हाम्रो लक्ष्य छ ।’

नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले नाइमा एक्स्पोमा यति ठुलो संख्यामा मानिसको आगमन हुनु सुखद संकेत भएको बताए । ’नाइमा एक्स्पो सबै हिसाबले सफल भएको छ,’ उनले भने, ’अटो इन्डस्ट्रीकै लागि यो खुसीको विषय हो ।’

अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडा मेला सोचे र अनुमान गरेभन्दा बढी सफल भएको बताए । ’हामीले अपेक्षा गरेभन्दा धेरै नै बढी मानिसले मेला अवलोकन गर्नुभएको छ,’ उनले भने, ’सोचेभन्दा धेरै अवलोकनकर्ता, सोचेभन्दा राम्रो इन्क्वायरी र सोचेभन्दा राम्रो बुकिङ भएको छ, हामी धेरै नै उत्साहित भएका छौं ।’

त्यसैगरी नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले मेला सुपरहिट भएको बताए । ’नाइमा एक्स्पोलाई एक शब्दमा बयान गर्ने हो, त्यो शब्द हो सुपरहिट,’ उनले भने ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।