यद्यपि, खराब कर्जा र असुलीको सुस्तताका कारण एनआईसी एसिया र मातृभूमिसहित दर्जनको हाराहारीमा रहेका संस्थाका सेयरधनीहरू भने गम्भीर घाटा र लाभांशविहीन बन्न बाध्य भएका छन्।
समीक्षा अवधिमा छिमेक लघुवित्तले १२९ करोड ८९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्दै २१६ करोड ३ लाख रुपैयाँ वितरणयोग्य मुनाफा जोहो गरेको छ। जीवन विकास लघुवित्तले खुद मुनाफा ४६.१७ प्रतिशतले बढाएर १०८ करोड २२ लाख रुपैयाँ पुर्याएको छ भने यसको वितरणयोग्य मुनाफा १४० करोड १६ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ८० रुपैयाँ ४ पैसा पुगेको छ। साना किसान
विकास लघुवित्तले १६४ करोड ८४ लाख रुपैयाँ र डिप्रोक्स लघुवित्तले १०८ करोड ५७ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष १ करोड १ लाख रुपैयाँ घाटामा रहेको नेस्डो समृद्ध लघुवित्तले शानदार पुनरागमन गर्दै १३ करोड ७० लाख रुपैयाँ खुद मुनाफा कमाउँदै ६९ रुपैयाँ १७ पैसाको उच्च वितरणयोग्य प्रतिशेयर आम्दानी कायम गरेको छ। सीवाइसी नेपाल लघुवित्तको वितरणयोग्य मुनाफा २२ करोड ८४ लाख रुपैयाँ पुग्दा नेटवर्थ ३५७ रुपैयाँ ७५ पैसा र आत्मनिर्भर लघुवित्तको नेटवर्थ ३६२ रुपैयाँ ३८ पैसा पुगेर सबल संस्थाहरूको बलियो वित्तीय आधार उजागर भएको छ।
सकारात्मक पाटोका बाबजुद ५० वटा सूचीकृत लघुवित्तमध्ये ११ वटा संस्थाको वितरणयोग्य मुनाफा भने ऋणात्मक बनेको छ। वितरणयोग्य मुनाफामा सबैभन्दा ठूलो घाटा एनआईसी एसिया लघुवित्तमा देखिएको छ। यस संस्थाको वितरणयोग्य मुनाफा १३४.७५ प्रतिशतले घटेर ९५ करोड ५८ लाख रुपैयाँ ऋणात्मक पुगेको छ भने यसको वितरणयोग्य प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ९५ पैसा ऋणात्मक रहेको छ। त्यसैगरी मातृभूमि लघुवित्तको वितरणयोग्य मुनाफा २५९.०४ प्रतिशतले घटेर ३९ करोड ७३ लाख रुपैयाँ ऋणात्मक बनेको छ र प्रतिशेयर आम्दानी ६३ रुपैयाँ २४ पैसा ऋणात्मक छ।
यसबाहेक नेरुडे मिर्मिरे लघुवित्तको वितरणयोग्य मुनाफा १२ करोड १९ लाख रुपैयाँ, सामुदायिक लघुवित्तको ६ करोड ८९ लाख, मानुसी लघुवित्तको ४ करोड ९७ लाख, धौलागिरि लघुवित्तको ३ करोड ३९ लाख र विन नेपाल लघुवित्तको २ करोड ५४ लाख रुपैयाँ ऋणात्मक पुगेको छ। साथै फर्वार्ड माइक्रोफाइनान्स, गणपति, ग्रामीण विकास र जनउत्थान सामुदायिक लघुवित्तको वितरणयोग्य मुनाफा पनि ऋणात्मक देखिएको छ। निष्कृय कर्जा बढ्नु र असुलीमा सुस्तता आउनुले साना तथा मध्यम लघुवित्तहरूको वित्तीय स्वास्थ्य कमजोर बन्दै गएको तथा विगतको सञ्चित घाटा र खराब कर्जा व्यवस्थापनका कारण लाभांश क्षमतामा गम्भीर असर परेको विश्लेषकहरूको निष्कर्ष छ।