साउनको पहिलो १५ दिनमा ७ हजार ७७ वटा बिल उपहारका लागि दर्ता भएकोमा दोस्रो १५ दिनमा यो संख्या बढेर ३ लाख ५७ हजार १४४ वटा पुगेको छ।
अर्थमन्त्रीका प्रेस सल्लाहाकार नबिन ढुंगानाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै नगद कारोबारका ३ लाख ५७ हजार १४४ वटा बिल उपहार योजनाका लागि अपलोड भएका हुन्। पहिलो चरणमा ७ हजार ७७ वटा बिल दर्ता भएकाले दोस्रो चरणको सहभागिता पहिलो चरणको तुलनामा करिब ५० गुणा बढी छ।
यसले उपभोक्तालाई बिल लिन र त्यसलाई डिजिटल माध्यमबाट दर्ता गराउन प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको कार्यक्रमप्रति छोटो अवधिमै उल्लेख्य चासो बढेको देखाएको छ।
ढुंगानाका अनुसार उपहार कार्यक्रममा नगद कारोबारका बिल मात्र नभई क्यूआर तथा अनलाइन बैंकिङ कारोबारबाट स्वतः सहभागी हुने उपभोक्ताको कारोबार संख्या पनि बढेको छ। यसबाट उपहार कार्यक्रमले नगद कारोबारमा बिल लिने अभ्याससँगै डिजिटल भुक्तानीलाई समेत प्रोत्साहन गरेको देखिन्छ।
आन्तरिक राजस्व विभागले साउन १६ देखि ३१ गतेसम्मको दोस्रो चरणका विजेता सार्वजनिक गरिसकेको छ। त्यसमा एक जना बम्पर विजेता र १६ जना अन्य विजेता गरी १७ जना छनोट भएका छन्। यसअघि साउन १ देखि १५ गतेसम्मको पहिलो चरणमा एक जना बम्पर विजेता र १३ जना अन्य विजेता सार्वजनिक गरिएको थियो।
सरकारले कार्यक्रममार्फत उपभोक्तालाई बिल लिन र त्यसलाई डिजिटल प्रणालीमा दर्ता गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ। दोस्रो चरणमा बिल दर्ताको संख्या ७ हजारबाट बढेर ३ लाख ५७ हजारभन्दा माथि पुग्नुले कार्यक्रमप्रति उपभोक्ताको आकर्षण बढेको संकेत गर्छ। करदाता प्रोत्साहन कार्यक्रमले कम्तीमा बिल दर्ता र डिजिटल कारोबारमा उपभोक्ताको सहभागिता बढाउन थालेको देखाएको छ।