बुधवार सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै यस्तो बताएका हुन्। मन्त्रीहरुको कार्यक्षमतालाई लिएर केही प्रश्न उठेका भएपनि अहिले नै मन्त्री फेरबदल गर्ने पक्षमा आफूहरु नरहेको उनले बताए । उनले सरकारलाई प्रश्न गर्ने अधिकार सबैसँग रहेको र रास्वपाका सांसदहरुले पनि प्रश्न सोध्ने गरेको उल्लेख गरे । त्यसलाई मन्त्री परिवर्तनसँग जोडेर हेर्न नहुने उनको भनाई छ । रास्वपाभित्र प्रश्न गर्ने र त्यसको जवाफ खोज्ने परिपाटी रहेको उनको दाबी छ । सभापति लामिछानेले आफू र प्रधानमन्त्री बालेन्द्र साहबीच कुनै मतभेद वा विवाद नरहेको पनि बताए । उनले दुई नेताबीच विवाद रहेको समाचारले आफूहरूलाई झन् नजिक ल्याउने टिप्पणी गरे। उनले प्रधानमन्त्री साहले सामाजिक सञ्जालमा ‘एक्लै लडिरहेको छु’ भनेर लेखेका विषयलाई राजनीतिक अर्थमा व्याख्या गर्न नहुने पनि बताए । प्रधानमन्त्री कलाकार र कवि पनि भएकाले उनको अभिव्यक्तिका प्रत्येक शब्दमा राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको उनको भनाई छ । उनले सिङ्गो पार्टी प्रधानमन्त्रीसँगै उभिएको जिकिर गरे ।
उनले भने ‘प्रश्नहरू आउनु भनेको स्वाभाविक हो, त्यसलाई हामी अस्वाभाविक लिँदैनौँ । रास्वपाभित्र आफ्नै दल भएपनि हामी प्रश्नहरू सोध्ने गरेका छौँ, तपाईँले देख्दै आउनुभएको छ, हामी गर्छौँ प्रश्न गर्ने हाम्रो एउटा परिपाटी पनि छ । त्यसैलाई नै सम्बोधन गर्नको निमित्त हामीले यो छलफल राखेका हौँ । यसको अर्थ कुनै मन्त्री फेर्ने बिल्कुल छैन । कुनै त्यस्तो तयारी पनि छैन । त्यस्तो कुनै छलफल पनि छैन । हामी बीचको कुनै कहिलेकाहीँ तपाईँहरूलाई रमाइलोको लागि लेखिदिने पनि हुन्छ, दुईजना बीचको धार नै अलग छ कि क्या हो, झगडै परेछ कि क्या हो भन्नुहुन्छ । त्यो तपाईंहरूको समाचारले हामीलाई अझ बढी नजिक ल्याउन चाहिँ मद्दत गर्छ । त्यसकारणले यस्ता समाचार लेख्न नरोक्नुहोला । प्रधानमन्त्रीले लेख्नुभएको विषय अर्कै हो, उहाँ त एउटा पोएट पनि हो नि त । एउटा कलाकार पनि त हो नि त । एउटा कविको यत्रो भीडमा पनि मैले एक्लो महशुस गर्न सक्दिन र ? कति मान्छे हुनुहुन्छ तपाईँहरू । त्यसकारणले त्यस्तो त्यो हामीले सोचेजस्तो हो कि हरेक शब्दका अर्थहरू खोज्न गयौँ भने त्यसको राजनीतिक अर्थ भन्ने नै हुँदैन नि । यत्रो सिङ्गो पार्टी उहाँँसँग उभिएको छ । यहाँ पार्टी सिङ्गो उभिएको छ, कहाँ हुनुहुन्छ एक्लो ? त्यसमा चिन्ता हुनुपर्दैन ।’
उनले केन्द्रिय समितिलाई पूर्णता दिने प्रक्रिया पनि तत्काल सम्पन्न गर्नुपर्ने विषय नभएको बताए । उनले पाँच वर्षभित्र क्रमशः अघि बढाउने कार्ययोजना रहेको जानकारी दिए। महाधिवेशनपछि पार्टीभित्रको समायोजन प्रक्रिया सकिसकेकोले विधानले सभापतिलाई दिएको अधिकारअनुसार योग्य व्यक्तिहरूलाई क्रमशः जिम्मेवारीमा ल्याउने उनको भनाई छ । उनले रास्वपाभित्र दुई धार वा गुट रहेको भन्ने दाबीलाई पनि अस्वीकार गरे। उनले पार्टीभित्र कुनै गुट नरहेको दाबी गरे । उनले आफ्नो र प्रधानमन्त्री साहबीचको सम्बन्ध व्यक्तिगत बाचा नभई देश र इतिहासप्रतिको साझा प्रतिवद्धता भएको बताए । उनले देशको भविष्य र इतिहासप्रति जिम्मेवार भएर सरकारले काम गरिरहेको दाबी गरे । सामान्य घटनालाई लिएर राजनीतिक सम्बन्ध बिग्रिएको निष्कर्ष निकाल्नु उचित नहुने उनको भनाई छ ।
उनले भने, ‘केन्द्रिय समितिलाई परिपूर्ण गर्ने कुरा भनेको यो ५ वर्षभित्र गर्ने कार्य हो । हामीले ५ वर्षभित्र गर्ने कार्य भएको हुनाले हामी यताको उताको नाम आउने कतैको पनि छैन । रास्वपा एक हो, हामीले महाधिवेशन पछाडि समायोजनलाई समाप्त गरिसकेको हुनाले यो एउटा सभापतिलाई विधानले दिएको अधिकार अनुसार योग्य साथीहरूलाई क्रमशः ल्याउँदै जाने सिलसिलामा हामी छौँ । भोलि ४ जना गरौँला, पर्सि ५ जना गरौँला, अर्को दिन १० जना गरौँला । कसैले नाम दिने नै होइन, पार्टीले छलफल गर्ने हो, मलाई प्रस्तावहरू विभिन्न साथीहरूले गर्नुहुन्छ । कुनै अर्को ठाउँले हामी दुईवटा धार छौँ अथवा यता पक्षले दिने भन्ने त्यो बिल्कुल बिल्कुल होईन, त्यसलाई कम्प्लिटली खारेज गर्नुहोला । हामीकहाँ पुराना राजनीतिक अभ्यासमा सानो केही घटना भयो भने पनि त्यसको राजनीतिक अर्थ खोज्ने बानी भएको छ, हामीमा त्यो छैन । हामी नापेर जोखेर कुराकानी गर्दैनौँ । हामीमा कुनै किसिमको कन्फ्युजन पनि छैन। हामीलाई जनताले दिएको म्यान्डेटमा हामी स्पष्ट छौँ । यो रविले बालेनलाई, बालेनले रविलाई गरेको बाचा होइन । इतिहासलाई र देशलाई हामीले सँगै बसेर गरेको वाचा हो । यहाँ यस्ता सामान्य कुराहरूले यत्रो राजनीतिक कमिटमेन्ट, यत्रो पोलिटिकल कमिटमेन्ट, यत्रो हिस्टोरिक कमिटमेन्ट, ए यसो बिग्रियो सम्बन्ध, यो घरमा, साथीभाइसँग सानो एउटा कुरामा कुरा नमिलेर परिवारसँग जिस्किएको, चलेको विषय हो र ? यो चल्ने विषय पनि होइन, चलाउने विषय पनि होइन । यो सेन्सेटिभ विषय हो । हामी यसको सेन्सेटिभिटी बुझ्दछौँ । यसको संवेदनशीलता बुझ्दछौँ । त्यही संवेदनशीलता बुझेर इतिहासले हामीलाई दिएको जिम्मेवारी हो । ४ महिना भर्खर भएको छ, ५ औँ महिनामा प्रवेश गर्दैछ । रमाइलोको लागि जसले जे भनेपनि मेरो त्यसमा आपत्ति छैन । तर वास्तविकतामा हामी एकदमै होसियारीपूर्वक, ध्यानपूर्वक, राजनीतिक सुझबुझका साथ देशको भविष्य, इतिहासलाई योगदान दिने हिसाबले काम गरिरहेका छौँ । अरु कुनै चिजको पनि कुनै काहीँ अर्थ र गुञ्जायस बिल्कुल छैन ।’
उनले सरकारले राम्रोसँग काम गरिरहेपनि व्यवस्थापनमा केही कमजोरी देखिएको बताए । ग्यासमा हाल देखिएको अभावलाई सरकारको असफलतासँग जोडेर हेर्न नहुने उनको भनाई छ । राम्रो काम गर्दागर्दै पनि कहिलेकाही समस्या देखिने गरेको उनले बताए ।