मोटरसाइकल भन्दा बढ्दैछ स्कुटरको क्रेज, पेट्रोलको भाउ बढ्दा विद्युतीय मोडलमा थपियो आकर्षण

Aug 21, 2026 05:32 AM Merolagani



नेपाली दुईपांग्रे बजारमा स्कुटरको लोकप्रियता निरन्तर बढ्दै गएको छ । केही वर्षअघिसम्म मोटरसाइकलको तुलनामा दोस्रो रोजाइको सवारी मानिने स्कुटर अहिले नेपाली उपभोक्ताको पहिलो रोजाई हुन थालेको छ ।

सहज सञ्चालन, पारिवारिक प्रयोगका लागि उपयुक्त डिजाइन, सामान राख्ने सुविधा र शहरको व्यस्त ट्राफिकमा चलाउन सजिलो हुने भएकाले स्कुटरको माग बढेको हो । महिलामा मात्र सीमित रहेको स्कुटरको प्रयोग अहिले युवा, पुरुष, अभिभावक तथा ज्येष्ठ उमेर समूहसम्म विस्तार भएको छ ।

उद्योगसम्बन्धी तथ्यांकअनुसार करिब १५ वर्षअघि नेपालको कुल दुईपांग्रे बजारमा स्कुटरको हिस्सा ५ देखि १० प्रतिशतको हाराहारीमा थियो । पछिल्ला वर्षहरूमा भने यसको हिस्सा बढेर करिब ५० प्रतिशतसम्म पुगेको बताइएको छ ।

 

मोटरसाइकलको तुलनामा स्कुटर चलाउन सहज हुनु यसको लोकप्रियताको प्रमुख कारणमध्ये एक हो । विशेषगरी छोटो दूरीको आवतजावत, कार्यालय तथा विद्यालय–कलेज जाने, बजारमा दैनिक कामका लागि निस्कने र पारिवारिक प्रयोजनमा स्कुटर बढी उपयोगी देखिएको छ ।

सहज फाइनान्सिङले पनि बढायो माग

स्कुटरको बिक्री बढाउन वित्तीय संस्थाबाट उपलब्ध हुने सहज किस्ताबन्दी सुविधाले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । बैंक तथा वित्तीय संस्थाको फाइनान्सिङमार्फत ठूलो रकम एकैपटक खर्च नगरी सवारी खरिद गर्न सकिने भएपछि मध्यम आय भएका उपभोक्तासमेत स्कुटर खरिदतर्फ आकर्षित भएका छन् ।

विशेषगरी युवा पुस्ता र पहिलोपटक दुईपांग्रे सवारी खरिद गर्ने उपभोक्ताका लागि यस्तो सुविधा प्रभावकारी बनेको व्यवसायीहरूको अनुभव छ ।

स्कुटरको मागमा मौसमी प्रभावसमेत देखिन्छ। चाडपर्व तथा यात्रा गर्ने समय नजिकिँदा बिक्री बढ्ने गरेको छ । यही कारण कम्पनीहरूले पनि यस्ता समयमा छुट, फाइनान्सिङ तथा अन्य बिक्री प्रवर्द्धन योजना ल्याउने गरेका छन् ।

पेट्रोल स्कुटरको दबदबा कायमै

नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढे पनि स्कुटर बजारमा पेट्रोल मोडलको वर्चस्व अझै कायम छ। । बजारमा विभिन्न ब्रान्डका पेट्रोल स्कुटरले बलियो उपस्थिति बनाएका छन् । होन्डा, यमाहालगायतका स्थापित ब्रान्डसँगै अन्य कम्पनीहरूले विभिन्न मूल्य र सुविधाका मोडल उपलब्ध गराउँदै आएका छन्। डिजाइन, माइलेज, इन्जिन क्षमता, सुविधा तथा मूल्यका आधारमा उपभोक्ताले आफ्नो आवश्यकता र बजेटअनुसार स्कुटर छनोट गर्ने अवस्था बनेको छ ।

विद्युतीय स्कुटरको बजार पनि विस्तार हुँदै

पेट्रोल स्कुटरको तुलनामा विद्युतीय स्कुटरको बजार हिस्सा सानो भए पनि यसको वृद्धि भने देखिन थालेको छ । सन् २०२५ मा नेपालमा ६ हजार ८५२ युनिट विद्युतीय दुईपांग्रे आयात भएका थिए । सन् २०२४ मा यस्तो आयात ५ हजार १७२ युनिट थियो। एक वर्षमा आयात करिब ३२ प्रतिशतले बढेको तथ्यांकले विद्युतीय दुईपांग्रेप्रतिको चासो विस्तारै बढिरहेको देखाउँछ ।

तर विद्युतीय स्कुटर अझै कुल स्कुटर बजारको सानो हिस्सामै सीमित छ । चार्जिङ पूर्वाधार, ब्याट्रीको क्षमता, मूल्य, बिक्रीपछिको सेवा र उपभोक्ताको विश्वासजस्ता विषयले यसको बजार विस्तारमा प्रभाव पारिरहेका छन् ।

विगतमा ९५ प्रतिशत पेट्रोलबाट र ५ प्रतिशत मात्र इलेक्ट्रिक स्कुटर बिक्री हुने गरेको नेबुला इनर्जीका जनरल म्यानेजर चिरन्जिबी शाहले बताए ।

मोटरसाइकलको तुलनामा पछिल्लो वर्षहरुमा स्कुटरको प्रयोग बढ्नुका पछाडिको कारण बहुउपयोग र परिवारका सवै सदस्यले सजिलै चलाउन सक्नु रहेको उनको भनाइ छ । ‘मोटरसाइकल भन्दा पछिल्ला वर्षहरुमा स्कुटरको माग बढ्दै गएको छ । यसको मल्टीप्रपोज र परिवारका सबै सदस्यका लागि उपयोगी हुने हुँदा पनि यसको माग बढेको देखिन्छ,’ उनले भने ।

पछिल्लो ६ महिनाको अवधिमा पेट्रोलभन्दा इलेक्ट्रिक स्कुटरको बिक्री बढेको उनले बताए । ‘पछिल्लो ६ महिनायता इलेक्ट्रिक स्कुटरको बिक्री १० प्रतिशत पुगेको छ,’ उनले भने, ‘पेट्रोलको मूल्य बढ्ने, विभिन्न कम्पनीले नयाँ इभी स्कुटर ल्याउने र बहुउपयोगकै कारणले यसप्रति बढी आकर्षण छ ।’

आगामी दिनमा थप प्रतिस्पर्धा

नेपालमा दुईपांग्रे बजार वार्षिक करिब १ लाख २० हजारदेखि १ लाख २५ हजार युनिटको हाराहारीमा रहेको व्यवसायीको अनुमान छ। यसमा स्कुटरको हिस्सा उल्लेख्य बन्दै गएको छ । बजारमा नयाँ प्रविधि, आकर्षक डिजाइन, राम्रो माइलेज, प्रतिस्पर्धी मूल्य र सहज फाइनान्सिङसहितका मोडल थपिँदै जाँदा स्कुटर बजारमा प्रतिस्पर्धा अझ बढ्ने देखिन्छ ।

विशेषगरी विद्युतीय स्कुटरको प्रविधि र पूर्वाधारमा सुधार हुँदै गएमा आगामी वर्षहरूमा यसको बजार हिस्सा पनि विस्तार हुनसक्ने देखिन्छ । यससँगै पेट्रोल र विद्युतीय दुवै खालका स्कुटरबीचको प्रतिस्पर्धाले उपभोक्तालाई थप विकल्प उपलब्ध गराउनेछ ।

समग्रमा, सहजता, सुविधा र बदलिँदो उपभोक्ता प्राथमिकताका कारण नेपाली दुईपांग्रे बजारमा स्कुटर अब वैकल्पिक होइन, मुख्यधारको सवारीका रूपमा स्थापित हुँदै गएको छ ।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।