भन्सार विभागको कमोडिटीगत तथ्यांकअनुसार ती गाडी आयातमा रु. २ अर्ब १९ करोड ३४ लाखभन्दा बढी रकम बाहिरिएको छ। आयात भएका चारपांग्रे गाडीमध्ये ६८९ वटा पूर्ण विद्युतीय (EV) छन्। बाँकी २९८ वटा इन्धन वा हाइब्रिड प्रविधिका छन्। यसरी साउनमा आयात भएका चारपांग्रे गाडीमध्ये करिब ६९.८ प्रतिशत विद्युतीय रहेका छन्। अर्थात् साउनमा आयात भएका चारपांग्रे गाडीमध्ये झन्डै १० मध्ये सातवटा EV छन्।
६८९ वटा EV आयात
भन्सार विभागको तथ्यांकअनुसार साउनमा ६८९ वटा अन्य विद्युतीय गाडी आयात भएका छन्। यी गाडीको कुल आयात मूल्य रु. १ अर्ब ६१ करोड ५५ लाख छ। EV आयातबाट सरकारले रु. १० करोड ६२ लाखभन्दा बढी राजस्व संकलन गरेको छ। यस हिसाबले एक EV को औसत आयात मूल्य करिब रु. २३ लाख ४४ हजार पर्न आउँछ।
पेट्रोल–डिजेलका २७५ गाडी
साउनमा पेट्रोल र डिजेल इन्जिन भएका चारपांग्रे गाडी भने २७५ वटा आयात भएका छन्। यसमा पेट्रोल इन्जिनका २१९ वटा र डिजेल इन्जिनका ५६ वटा गाडी छन्। यी पेट्रोल–डिजेल गाडी आयातमा रु. ४४ करोड ८६ लाखभन्दा बढी रकम बाहिरिएको छ। यसबाट सरकारले करिब रु. १० करोड ९७ लाख राजस्व संकलन गरेको छ। पेट्रोल–डिजेल गाडीको औसत आयात मूल्य भने करिब रु. १६ लाख ३१ हजार देखिन्छ।
२३ वटा प्लग–इन हाइब्रिड पनि
साउनमा पूर्ण EV र पेट्रोल–डिजेलबाहेक २३ वटा प्लग–इन हाइब्रिड गाडी पनि आयात भएका छन्। यीमध्ये १७ वटा २,००० सीसीभन्दा माथिका र ६ वटा २,००० सीसीसम्मका छन्। हाइब्रिड गाडीमा मात्रै रु. १२ करोड ९३ लाखभन्दा बढी रकम बाहिरिएको छ। यसबाट सरकारले रु. २ करोड ९१ लाखभन्दा बढी राजस्व उठाएको छ। हाइब्रिडलाई पूर्ण विद्युतीय गाडीमा नराखी इन्धन प्रयोग गर्ने गाडीको छुट्टै श्रेणीमा राखिएको छ।
साउनको चारपांग्रे गाडी आयात
तर एउटा महत्वपूर्ण कुरा
साउनमा संख्याका आधारमा EV स्पष्ट रूपमा अगाडि देखिए पनि राजस्वमा तस्वीर फरक छ। पूर्ण EV ६८९ वटा आयात हुँदा त्यसबाट करिब १०.६२ करोड राजस्व आएको छ। पेट्रोल–डिजेल गाडी भने २७५ वटा मात्रै आयात भए पनि त्यसबाट १०.९७ करोड रुपैयाँ राजस्व उठेको छ। अर्थात् EV को संख्या पेट्रोल–डिजेलभन्दा दुई गुणाभन्दा बढी भए पनि दुवैबाट उठेको राजस्व लगभग बराबर छ। यसले नेपालको गाडी बजारमा विद्युतीय सवारीको हिस्सा तीव्र रूपमा बढिरहेको देखाउनुका साथै इन्धन गाडीमा लाग्ने कर संरचना र EV मा लाग्ने करबीचको ठूलो अन्तर पनि देखाउँछ।
नोट: यहाँ “गाडी” भन्नाले भन्सार विभागको HS 8703 अन्तर्गतका चारपांग्रे यात्रुवाहक सवारीलाई आधार बनाइएको छ। तीनपांग्रे विद्युतीय सवारी, बस, ट्रक, पिकअप, ट्र्याक्टर र मोटरसाइकललाई यस कुलमा समावेश गरिएको छैन। हाइब्रिडलाई पनि पूर्ण EV मा नराखी छुट्टै देखाइएको छ।