आयोजनाले चरणबद्ध रूपमा ‘ट्रायल अपरेशन’ सुरु गर्दै ९ सिट क्षमतासम्मका कार, जीप र भ्यानलाई सुरुङ प्रयोग गर्न अनुमति दिएको हो।
सोमबार बिहान ९ बजेदेखि नै एम्बुलेन्स, आकस्मिक सेवाका सवारी र सरकारी प्लेटका सवारीका साथै सर्वसाधारणका साना निजी सवारी साधनहरू सुरुङमार्ग भएर काठमाडौँ–धादिङ आउजाउ गर्न थालेका छन्।
परीक्षण सञ्चालनको पहिलो चरणमा हाललाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म मात्र सुरुङ खुला गरिनेछ। आयोजनाका अनुसार हाल ट्राफिकको अवस्था हेरेर एकतर्फी रूपमा गाडीहरू पठाइनेछ। तर, ठूला सवारी साधन, ट्रक र मोटरसाइकललाई भने तत्काल सुरुङ प्रयोग गर्न अनुमति दिइएको छैन।
सुरुङमार्गको अवस्था र ट्राफिक व्यवस्थापन हेरेर आगामी एक–दुई दिनमै दुईतर्फी यातायात खुला गर्ने आयोजनाको तयारी छ। साथै, सञ्चालन अवधि पनि क्रमशः बढाउँदै लैजाने योजना बनाइएको छ। दोस्रो चरणमा बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म र त्यसपछि तेस्रो चरणमा बिहान ६ बजेदेखि राति १० बजेसम्म सुरुङ सञ्चालन गर्ने तयारी भइरहेको छ।
यो सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगाको घुमाउरो सडक र जामबाट जोगिँदै यात्रुहरूले १० मिनेटभित्रै काठमाडौँ छिर्न वा निस्कन सक्नेछन्। यसले इन्धनको बचत हुनुका साथै यात्रालाई छिटो र सहज बनाउने अपेक्षा गरिएको छ।