नेपाली सेनासहित विज्ञ र प्राविधिहरुको टोलीले महर्जनको शुक्रवार विहान सकुशल उद्धार गरी काठमाडौं ल्याइएको छ । उनको अहिले सैनिक अस्पताल छाउनीको आईसीयू कक्षमा उपचारमा भइरहेको छ । श्रीमानलाई भेट्न सैनिक अस्पताल पुगेकी उनकी श्रीमति हीराशोभा महर्जनले महर्जन सकुशल फर्किंदा परिवारमा खुसीको सीमा नभएको बताइन् ।
उनले श्रीमानले शुरुमा आफूलाई चिन्न नसकेको भएपनि अहिले अवस्था ठिकै रहेको बताइन् । उनले खुट्टामा थोरै चोट र शरिर समेत पहेँलो भएको कारण चिकित्सकको निगरानीमा रहेको बताइन् ।
उनले भनिन्, ‘अहिले ठिकै छ, अलिअलि बोल्नुभएको छ । आउने बेलामा त त्यस्तो बोल्न सकिराख्नुभएको थिएन । मलाई नै चिन्नु भएन शुरुमा त । अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ । खुट्टामा थोरै चोट लागेको छ । उहाँको सबै शरिर नै पहेँलो भएको छ । उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन । उहाँ फर्किँदा हामी एकदमै खुसी छौँ । परिवारमा सबै खुसी हुनुभएको छ । नेपाल आर्मीले उहाँको जीवन बचाइदिनुभएकोमा धन्यावाद ।’ उनी मेकानिकल सुपरभाइजर हुन् ।