प्रलयलाई देखाएर लगानी गर्नु हुँदैन भन्ने धारणा ठिक होइन : कुलमान घिसिङ

Sep 12, 2026 02:45 PM Merolagani



उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न नहुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको कार्यक्रममा उनले प्राकृतिक विपद्का कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने बताएका हुन् ।

“यो प्रलयका कारण नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैन,” उनले भने, “यस्तो असाधारण प्राकृतिक विपत्तिलाई आधार बनाएर नेपालमा लगानीको वातावरण नै जोखिमपूर्ण छ भन्ने धारणा बनाउनु उचित हुँदैन ।”

उनले हजारौँ वा पाँच हजार वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष ननिकाल्न जोड दिए । यस्ता घटनालाई आधार मानेर जलविद्युत् आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गए आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उनको भनाइ थियो ।

“हजारौँ वर्षमा एकपटक आउने असाधारण घटनालाई आधार बनाएर आयोजनाको डिजाइन मापदण्ड निर्धारण गरियो भने हाम्रा परियोजनाहरू आर्थिक रूपमा अव्यावहारिक हुन सक्छन्,” उनले भने ।

यद्यपि, जलविद्युत् आयोजना निर्माण गर्दा सुरक्षा पक्षलाई बेवास्ता गर्न नहुनेमा उनले जोड दिए । प्राकृतिक विपद्बाट आयोजना सुरक्षित रहने गरी आवश्यक मापदण्ड र पर्याप्त ‘सेफ्टी मार्जिन’ राखेर निर्माण गरिनुपर्ने उनले बताए ।“जोखिमलाई ध्यानमा राख्दै पर्याप्त सुरक्षा मापदण्ड र उचित सुरक्षा मार्जिन भने अनिवार्य रूपमा राख्नुपर्छ,” उनले भने ।

असाधारण प्राकृतिक घटनालाई लिएर लगानी निरुत्साहित गर्नेभन्दा सम्भावित जोखिमको वैज्ञानिक मूल्यांकन गर्दै सुरक्षित र व्यावहारिक ढंगले जलविद्युत् आयोजना विकास गरिनुपर्ने उनले बताए ।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।