प्राधिकरणले असोज ४ गतेदेखि असोज १४ गतेसम्म विभिन्न फिडरमार्फत वितरण हुने विद्युत सेवा निर्धारित तालिकाअनुसार अवरुद्ध वा प्रभावित हुन सक्ने जानकारी दिएको हो।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसनको ११ केभी प्यानलमा प्राविधिक काम गर्न लागेको हो।
आयोजनाअन्तर्गत ११ केभी प्यानलमा रहेका पुराना रिले हटाएर नयाँ रिले जडान गरिनेछ। त्यसका साथै रिले रेट्रोफिट तथा एसएएस (सबस्टेसन अटोमेसन सिस्टम) जडान र परीक्षणको कामसमेत गरिने प्राधिकरणले जनाएको छ।
उक्त कामका क्रममा १३२ केभी टेकु सबस्टेसनबाट विद्युत आपूर्ति हुने विभिन्न वितरण केन्द्रअन्तर्गतका फिडर प्रभावित हुनेछन्। त्यसका कारण ती फिडरबाट विद्युत आपूर्ति हुने काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध वा प्रभावित हुन सक्ने प्राधिकरणको भनाइ छ।
प्राधिकरणका अनुसार सबस्टेसनमा गरिने कामको प्रकृति र प्रभावित हुने फिडरअनुसार विद्युत आपूर्ति बन्द हुने समय फरक–फरक हुनेछ। त्यसैले सबै क्षेत्रमा एकै समयमा विद्युत अवरुद्ध हुने अवस्था भने रहने छैन।
असोज ४ गतेदेखि सुरु हुने प्राविधिक काम असोज १४ गतेसम्म सञ्चालन हुने प्राधिकरणले जनाएको छ। यस अवधिमा सम्बन्धित फिडरमा आवश्यकताअनुसार विद्युत आपूर्ति बन्द गरी नयाँ रिले जडान तथा परीक्षण गरिनेछ।
प्राधिकरणले प्राविधिक कामका कारण उपभोक्तालाई पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै निर्धारित समयअनुसार काम सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ।
नयाँ रिले जडान, रेट्रोफिट तथा एसएएससम्बन्धी परीक्षणको काम सम्पन्न भएपछि प्रभावित क्षेत्रमा विद्युत आपूर्ति नियमित रूपमा सञ्चालन हुने प्राधिकरणले जनाएको छ।
विद्युत प्रणालीलाई थप सुरक्षित, भरपर्दो र आधुनिक बनाउन सबस्टेसनमा पुराना उपकरण तथा रिले विस्थापन गरी नयाँ प्रणाली जडान गर्न लागिएको प्राधिकरणको भनाइ छ।
