विद्युत्‌मा भ्याट छुट फिर्ता गर्ने कुनै सहमति भएको छैन : अर्थमन्त्रीको सचिवालय

Sep 22, 2026 11:13 AM Merolagani



विद्युत् महसुलमा दिइएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट फिर्ता लिने विषयमा कुनै पनि सैद्धान्तिक सहमति नभएको अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले प्रस्ट पारेको छ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले भ्याट छुट फिर्ता गर्न अर्थमन्त्रीले सहमति दिएको भन्दै बाहिर आएका समाचार तथा प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। प्रचार गरिएजस्तो उक्त विषयमा छलफल गर्न अर्थमन्त्रीले आइतबार साँझ वा गएको साता कुनै पनि भेटघाट र छलफल नगरेको विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ।

विद्युत्‌को भ्याटसम्बन्धी विषयमा अर्थमन्त्रीले यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभामा राखेको धारणाअनुसार नै प्रक्रिया अघि बढिरहेको सचिवालयले उल्लेख गरेको छ। यस विषयको थप सहजीकरण गर्न तथा उपभोक्तालाई राहत दिने सन्दर्भमा मन्त्रालय मातहतका निकायहरूबाट आवश्यक अध्ययन र छलफल भइरहेको पनि विज्ञप्तिमा जनाइएको छ।