‘ज्येष्ठ नागरिक सम्मान दिवस’ को पूर्वसन्ध्यामा सार्वजनिक यो तथ्यांकले जापानको गहिरिँदो जनसांख्यिक संकटलाई पुनः उजागर गरेको छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत वर्षको तुलनामा ज्येष्ठ नागरिकको संख्यामा करिव २० हजारले वृद्धि भएको छ । लिङ्गका आधारमा हेर्दा पुरुषको तुलनामा महिला ज्येष्ठ नागरिकको संख्या बढी छ । जसमा महिला २ करोड ५४ लाख र पुरुष १ करोड ५७ लाख रहेका छन् । उमेर समूहका आधारमा ७० वर्षमाथिका २ करोड ९१ लाख, ७५ वर्षमाथिका २ करोड १६ लाख र ८० वर्षमाथिका १ करोड २८ लाख नागरिक रहेका छन् ।
जनसंख्याको वृद्धिसँगै जापानको श्रम बजारमा ज्येष्ठ नागरिकको सहभागिता पनि बढ्दो छ । तथ्यांकअनुसार सन् २०२४ मा ६५ वर्ष वा सोभन्दा बढी उमेरका करिब ९४ लाख ३० हजार मानिस रोजगारमा संलग्न छन् । यो संख्या लगातार २२ औँ वर्षसम्म बढेको हो । कुल जापानी रोजगारीमा ज्येष्ठ नागरिकको हिस्सा १३.८ प्रतिशत पुगेको छ, जुन आफैँमा एउटा नयाँ कीर्तिमान हो । विशेषगरी थोक तथा खुद्रा व्यापार क्षेत्रमा सबैभन्दा धेरै करिव १३ लाख १० हजार ज्येष्ठ नागरिक सक्रिय रहेको पाइएको छ ।
जापानको जनसंख्याको बनोटमा आइरहेको यो बदलावले भविष्यका लागि गम्भीर चुनौती खडा गरेको छ । नेशनल इन्स्टिच्युट अफ पपुलेसन एण्ड सोसल सेक्युरिटी रिसर्चकाअनुसार सन् २०४० सम्ममा ६५ वर्षमाथिका नागरिकको हिस्सा बढेर ३४.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । सन् १९७१ देखि १९७४ सम्म जन्मिएको पुस्ता (सेकेण्ड बेबी बुमर्स) ६५ वर्ष उमेर पार गरेपछि यो अनुपात अझ तिब्र गतिमा बढ्ने निश्चितप्रायः छ । घट्दो जन्मदर र बढ्दो आयुका कारण उत्पन्न यो जनसांख्यिक संरचनाले जापानको सामाजिक सुरक्षा र अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने विज्ञहरूको चेतावनी छ ।